झापा ।
कुकुरले टोकेर झापाको कन्काई नगरपालिकामा एक जना बालकको मृत्यु भएको छ ।
सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भई हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको हो ।
विगत डेढ महिनाअघि कुकुरले टोकेको बालकको अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकामा शुक्रबार भने एक्कासी बालकको स्वास्थ्यमा समस्या आएको थियो ।
बालकलाई भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगी सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बालकको स्वास्थ्यको अवस्था गम्भीर भएपछि हेटौँडास्थित सीएमसी चुरी हिल अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।