धनीपूर्जा नेपालको, जमिन भारतमाः खनजोत गर्ने किसान भारतीयको निशानामा

0
72

पार्थ मण्डल
झापा ।

भद्रपुर नगरपालिका–३ बैंशाबारीका २७ वर्षीय प्रदीप गणेश नेपाल–भारत सीमा नाका भएर बग्ने मेची नदी किनारको बगरमा खेतीपाती गर्दै आइरहेका छन् ।

नेपालको धनीपुर्जा भएको १५ कठ्ठा जमिन लिजमा लिएर प्रदीप वर्षौँदेखि खेतीपाती गर्दै आइरहेका हुन् । तर, विडम्बना प्रदीपले खनजोत गर्दै आइरहेको जमिन अहिले भारतीय भूमिमा परेको छ । भारतमा परेको जमिनको नेपाली धनीपुर्जा छ ।

स्थानीय विशाल थेबेको नाममा नेपाली धनीपुर्जा रहेको कृषक प्रदीपको भनाइ छ । नेपाली धनीपुर्जा भएको जमिनमा खेतीपाती गर्दै आइरहेका प्रदीपलाई भारतीय पक्षले बारम्बार अवरोध गरिरहेका छन् । ‘एक महिनाअघि मात्र भारततर्फका केही स्थानीयहरू ट्याक्टर लिएर खनजोत गर्न यहाँ आइपुगेका थिए’– प्रदीपले भने– ‘भारतीयहरु भन्छन् यो जमिन भारतीय भूमि हो, यो जमिनको धनीपुर्जा हामीसँग छ ।’ नेपाली धनीपुर्जा भएर के गर्नु ? सीमा पिलरले यो जमिन भारत भइसक्यो । ‘ढिलो चाँडो यो जमिन भारतीय पक्षले अवश्य लान्छ’– उनले भने ।

सीमा पिलर १०९/८ देखि १०९/१०सम्म पर्ने बगरको सयौँ बिगाहा जमिन पहिला नेपाली भूमि थियो । ‘१५–२० वर्ष भयो होला रातारात भारत भयो’– स्थानीय महेन्द्रलाल गणेशले भने– ‘यो धनीपुर्जा भएको जमिनमा यहाँका स्थानीयले वर्षौँदेखि खनजोत गर्दै आइरहेका छन्, अहिले नक्साले भारत देखायो, जसले समस्या उत्पन्न भयो ।’ जङ्गे पिलर नदी पारी भारत तिरै छ । ‘पहिला त यो भूभाग नेपालको थियो, अहिले कसरी भारतको भयो थाहा नै पाएनौँ’– स्थानीय शम्भुलाल गणेशले भने । शम्भुलाल १५ कठ्ठा जमिन लिजमा लिएर खेतीपाती गर्दै आइरहेका छन् । उनको परिवार पाल्ने मुख्य पेशा नै खेतीपाती हो । खेतीपाती गर्ने जमिन भारतले दावी गर्ने चिन्तामा उनी देखिएका छन् । उनी भन्छन्– ‘भारतीय नागरिकहरू जमिन दावी गर्न आइरहन्छन्, अस्ती पनि ट्याक्टर लिएर जमिन खन्न नै आइपुगेका थिए ।’

उनीहरू ट्याक्टर लिएर आएपछि सीमामै विवाद भएको थियो । गाउँलेले तत्कालै सशस्त्र प्रहरीलाई खबर गरेका थिए । ‘सशस्त्र प्रहरीले भारतीय एसएसबीसँग समन्वय गरेर विवाद मिलाएर उनीहरूलाई फिर्ता पठाएका थिए’– उनले थपे । अहिलेलाई त विवाद मिल्यो, तर भारतीयहरू जमिन हत्याउने पक्षमै छन् । १०९÷९ नम्बर पिलर नजिकै स्थानीय सुरज लिम्बूको १२ कठ्ठा जमिन लिजमा लिएर विगत पाँच वर्षदेखि खेतीपाती गर्दै आइरहेका मनोहर गणेशका अनुसार भारतीय एसएसबीहरुले गाउँलेलाई दुःख दिएको छैन । एसएसबीहरु सीमा हेर्न आउँछन्, अनि फर्किन्छन् । त्यहाँका जनता आएर जबरजस्ती दुःख दिन खोज्छन् ।

‘भारतीयहरू आएपछि सबै गाउँलेहरू एकजुट भएर खेदाउनु पर्छ– मनोहरले भने– भारतीयहरूसँग जमिनको प्रमाण छैन, हामीसँग जमिनको धनीपुर्जा छ, अनि कहाँ त्यतिकै जमिन लिन दिन्छौ त उनीहरूलाई ।’ यस्तो चलिरहेको छ यहाँ, अप्रिय घटना घट्छ कि भन्ने गाउँलेमा चिन्ता देखिएको बताउँदै स्थानीय रञ्जित गणेशले भने– ‘दशगजा क्षेत्र छाडेर नै खेती लगाइन्छ, एसएसबीले केही भन्दैन, जनता आएर बुरुकबुरुक उफ्रिन्छ ।’

यता बगर खेतीको स्थलगत अनुगमनमा पुगेका भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले नेपाल–भारतको संयुक्त सीमाकंन टोलीले सर्वे गरेर सीमा नाका छुट्याए पनि हाल जसको जमिन जता परे पनि त्यही व्यक्तिले भोग चलन गर्न पाउनुपर्छ भनी आन्तरिक र मौखिक सहमति भएको बुझ्नमा आएको बताए । बैंशाबारीसहित भद्रपुरको केही स्थानमा सीमावर्ती जमिनको बारेमा यस्तै समस्या आएको बताउँदै नगर प्रमुख पोखरेलले भने– ‘नेपाली धनीपुर्जा भएको र भोग चलन गर्दै आइरहेको जमिनको बारेमा दीर्घकालीन समाधान खोजिनु पर्छ, यसका लागि नेपाल सरकारले भारतीय सरकारसँग सहकार्य गरेर एउटा निकास निकाल्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here