बिर्तामोडमा प्रथम महिला अन्तरपालिका फुटबल प्रतियोगिता हुने

0
18

बिर्तामोड ।

झापाको बिर्तामोडमा प्रथम महिला अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगर खेलकूद समितिको आयोजनामा आगामी माघ २६ देखि फागुन ५ गतेसम्म प्रतियोगिता आयोजना हुने आज (आइतवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

महिला खेलाडीहरुको उत्पादनमा सहयोग, प्रवद्र्धन एवंम् प्रोत्साहन गर्ने उदेश्यले प्रथम महिला अन्तरपालिका फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको बिर्तामोड नगर खेलकूद समितिका अध्यक्ष विकास गिरीले बताए ।

अध्यक्ष गिरीका अनुसार नगर खेलकूद समितिले तालिम तथा खेलकुद सम्बन्धी प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा जिल्ला १५ पालिका मध्ये बिर्तामोड, अर्जुनधारा, कनकाई, मेचीनगर, भद्रपुर, दमक, शिवसताक्षी नगर र झापा, कमल र बुद्धशान्ति गाउँपालिकाको सहभागीता रहने आयोजले जनाएको छ । प्रतियोगिता विर्तामोड–३ स्थित डोमालाल राजबंशी रंगशालामा हुनेछ ।

प्रतियोगिताका लागि ३४ लाख ६६ हजार अनुमानित खर्च हुने अध्यक्ष गिरीले बताए । प्रतियोगितामा प्रथम पुरस्कार तीन लाख र दोस्रो पुरस्कार एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ । साथै बिभिन्न बिधागत पुरस्कार पनि रहेको बताइएको छ । प्रतियोगिताबाट तीन हजार खेलाडी लाभान्वित हुने आयोजकले विश्वास गरेको छ ।

प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष गिरीको संयोजकत्वमा आर्थिक समिति, सन्तोष गुरुङको संयोजकत्वमा खेलमैदान ब्यवस्थापन, विशाल अग्रवालको संयोजकत्वमा प्रचारप्रसार, गणेश कटुवालको संयोजकत्वमा खेलाडी ब्यवस्थापन, रमेश उप्रेतीको संयोजकत्वमा मञ्च ब्यवस्थापन र आशा गुरुङको संयोजकत्वमा अतिथि सत्कार उप–समिति गठन गरिएको बताइएको छ ।

कार्यक्रमका स्वागत तथा औचित्यमाथि प्रकाश अध्यक्ष गिरीले पारेको कार्यक्रममा बिर्तामोड नगर प्रमुख पबित्रा महतरा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, एन्फा झापाका अध्यक्ष भगीरथ आलेमगर (मामा) ले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन सचिब विसन लिम्बुले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here