पथरी शनिश्चरे।
मोरङ्गको पथरी शनिश्चरे वडा नं. ८ ले निरन्तरता दिईरहेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ ।
निर्वाचनको समयमा मात्रै होइन, वडा नं. ८ का जनप्रतिनिधिहरू निर्वाचित भएपछि अहिले पनि वडा भित्रका जनताका गुनासा र सुझाव संकलन गर्दै निरन्तर घरदैलोमा पुगिरहनुभएको छ ।
यो वडाले वि.सं. २०७९ असोज महिनाको अन्तिम शनिबारदेखि थालेको यो कार्यक्रम पछिल्लो समय वडा हुँदै पथरिशनिश्चरे नगरवासीको लागि नयाँ प्रयोग भैरहेको छ।
सो वडाले हरेक महिनाको अन्तिम शनिबार “जनताको घरदैलो मा जाने, जनताका पीरमर्का , समस्या र गुनासो सुन्ने, भेटघाट गर्ने, सल्लाह र सुझाव लिने उद्देश्यका साथ सञ्चालन भइरहेको यो कार्यक्रम अहिले राम्रो र लोकप्रिय रहेको वडावासीहरुले बताउँछन् ।
आफूलाई अत्याधिक भोट दिएर जिताएका नागरिकहरूको आर्थिक तथा सामाजिक अवस्था कमजोर रहेको र अभावमा जीवन गुजार्नु पर्ने बाध्यतालाई थोरै भएपनि मलमपट्टी लगाउन आफू जनताको घरदैलो जाने गरेको वडाध्यक्ष नवीन कार्कीले बताए ।
“घरमा सुत्ने खाट नभएर चिसोमा भुइँ र बाँसको खाटमा सुत्नुपर्ने बाध्यता रहेको भेटेको छु, यस्तो अभावले भुइँमा सुत्नु नपरोस् भनेर वडा कार्यालयबाट १२ परिवारलाई सुत्ने खाट वितरण गरिएको छ’ , वडाध्यक्ष नवीन कार्कीले जानकारी दिए । यसैगरी, उहाँले वडा कार्यालयले शौचालय नभएका अति विपन्न परिवारलाई ५३ वटा शौचालय निर्माण गरी प्रदान गरिएको वडाध्यक्ष कार्कीले बताए ।