प्रमुख अतिथिले आफैँ खरिद गरेर गरे पुस्तकको लोकार्पण 

0
40
बिराटनगर,
पठन संस्कृतिको विकास तथा लेखक, स्रष्टाप्रति सम्मान गर्ने उद्देश्यले कार्यक्रमका प्रमुख अतिथिबाटै लेखकको कृति खरिद गरेर सोही कृतिको लोकार्पण गर्ने कामको सुरुआत भएको छ । मोरङको बेलबारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथिहरूबाट कृति खरिद गरेर त्यसैको लोकार्पण गरेका हुन् ।
नेपाली साहित्यमा कथा, उपन्यास, गजल, बालकथा, अनुसन्धान तथा समालोचनाका क्षेत्रमा कलम चलाउने, पछिल्लो समय भने अनुसन्धानका पुस्तक लेख्तै आएका विरहीले आफ्नै पुस्तक बेचेर बेलबारीमा अनुसन्धान अक्षयकोष निर्माणको अभियान सुरु गरेका छन् ।
 सामाजिक तथा सांस्कृतिक अभियन्ता, अग्रज स्रष्टा हर्कमान तामाङका बारेका तयार पारेको पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ को बिक्रीबाट प्राप्त भएको कम्तीमा ५० प्रतिशत रकमले बेलबारी बहुमुखी क्याम्पसमा एउटा अनुसन्धान अक्षयकोष निर्माण गर्ने र यसबाट प्राप्त ब्याजबापतको रकमबाट अनुसन्धान गर्ने कम्तीमा एक जना विद्यार्थीलाई पुरस्कृत गरिने विरहीको योजना रहेको छ ।
बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एन्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह आयोजनामा सम्पन्न कार्यक्रममा कोसी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए भने लोकार्पित कृतिमाथि डा. दीपकप्रसाद न्यौपानेको समीक्षा रहेको थियो ।
उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, भाषाविद् अमृतप्रसाद आचार्य, कवि तथा अन्वेषक अनिल पौडेल, मिश्र बैजयन्ती, डा. उद्धव पोखरेल, राजनीतिक तथा शैक्षिक व्यक्तित्व विनोद भण्डारी, ईरान राईलगायतका व्यक्तिहरूले कृतिकार विरही तथा उनले सुरु गरेको अनुसन्धान अक्षयकोष अभियानलाई शुभकामना दिएका थिए ।
पठन संस्कृति हराउँदै गइरहेको त्यसमा नेपाली साहित्यका कृतिहरू सित्तैमा उपहार स्वरूप बाँडेर सक्नुपर्ने बाध्यता भइरहेको बेलामा बेलबारीबाट चलाएको यस अभियानले नेपाली साहित्यका पाठकमा एउटा आशाको सञ्चार गरेको धेरैको बुझाइ रहेको छ । धेरैले यस अभियानको खुलेर प्रशंसा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here