सम्भावना भएको बाँस

0
17

बहुउपयोगी वनस्पति बाँसको प्रवद्र्धन गर्ने उद्देश्यले खोटाङ जिल्लाको दिक्तेल बजारमा बाँस सम्मेलन भएको छ । देशमै पहिलोपटक आयोजित सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा बाँसबाट निर्मित वस्तुहरुको प्रदर्शनीसहित विज्ञहरुले कार्यपत्र समेत प्रस्तुत गरेका थिए । प्रथम राष्ट्रिय बाँस सम्मेलन नाम दिइएको उक्त सम्मेलन ‘जहाँ बाँस, त्यहाँ जीवन’ भन्ने नाराका साथ सञ्चालन भएको थियो । आयोजक जिल्ला खोटाङलाई बाँसको राजधानीको पहिचान दिलाउन पहल गर्ने, दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना, हरेक फागुन १५ गते बाँस जागरण दिवस, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना तथा पहल गर्ने लगायतका निर्णय गर्दै घोषणा पत्र जारी गरेको छ ।
बाँस जन्मदेखि मृत्युपर्यन्त नभइ नहुने वनस्पति हो । जीवनयापनका विभिन्न चरणमा प्रयोग हुने बाँस खानदेखि घर बनाउन, हस्तकलाका सामग्री बनाउन, पशुको आहार, भू–संरक्षण तथा पूजाआजामा समेत अनिवार्य मानिन्छ । बाढीपहिरोबाट हुने क्षति तथा नदी कटानबाट जोगाउन समेत प्रयोग गरिने बाँस ग्रामीण क्षेत्रका कृषकको आम्दानीको मुख्य स्रोतका रुपमा रहेको छ । परम्परादेखि नै बाँसबाट बनाइएका डोको, डालो, नाङ्लो, थुन्सेदेखि घरेलु प्रयोगमा आउने फर्निचरसम्म बनाइने बाँस अहिले तराईबाट भने विस्थापित हुने क्रममा रहेको छ । यद्यपि हिजोआज खुलेका होटल, रेस्टुरेन्ट, होमस्टेहरु बाँसबाटै निर्माण गर्न थालिएको छ । तराईदेखि पहाडी क्षेत्रमा जताततै बाँसले नेपालको जंगलको साठी हजार हेक्टर क्षेत्रफल ढाकेको छ । तराईमा बढ्दो जनसंख्याका कारण बहुउपयोगी बाँस हराउँदै गएको छ । चराचुरुङ्गीको बासस्थल समेत रहेको बाँसको संरक्षण्मा सरकार भने गम्भीर हुन सकेको छैन । विदेशी मुद्रा आर्जन गर्न सक्ने यस्तो स्रोतको संरक्षण तथा प्रवद्र्धन गर्न सकिए देशलाई पनि लाभ हुन्छ ।
प्रकृति प्रदत्त यस्तो स्रोतको व्यवसायीकरण गर्नसके बाँसबाट यथेष्ट लाभ लिन सकिन्छ । झापाको बिर्तामोडमै बाँसका ठूला–ठूला झ्याङ थिए । राजमार्गको उत्तर–दक्षिणतर्फका बस्तीका बासिन्दाले सवारीका साधनका रुपमा प्रयोग गर्ने गोरुगाडा बनाउन अनिवार्य बाँसधारी अहिले हराइसकेका छन् । यहाँका सिमलका रुख मासिँदा कतिपय चराचुरुङ्गी लोप हुनुका साथै वातावरणीय सन्तुलनमा समेत क्षति पुगेको छ । रुखबिरुवा मासिँदा पानीको स्रोत पनि सुक्दै गएको छ भने बढ्दो प्रदूषणले जलवायु परिवर्तनमा योग पु¥याएको छ । यस्तो अवस्थामा खोटाङमा सम्पन्न बाँस सम्मेलनले सरकारको ध्यानाकृष्ट गर्न सक्यो भने बाढीपहिरो, भूक्षय लगायतका विपद्हरुबाट जोगाउन, जलवायुको अवस्था सन्तुलित राख्न, किसानलाई आम्दानीको विकल्प बनाउन, रोजगारी सृजना गर्न र पारिस्थितिक प्रणालीको रक्षाका लागि समेत यसले महŒवपूर्ण योगदान दिन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here