सन्दर्भ : सुखानी शहीद सप्ताह: सुखानीका शहीदको बलिदानको मर्म

0
25

तीर्थराज खरेल
झापा सङ्घर्षको नामले नेपाली इतिहासमा परिचित २०२८ सालको झापा आन्दोलन सामन्ती राज्यबिरुद्धको विद्रोह थियो । झापा विद्रोहको क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुँइकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठले झापा–इलामाको सीमा सुखानी जेमद्वारमा झापा कारागारबाट इलाम कारागार सार्ने बहाना बनाई राज्यसत्ताले गोली हानी हत्या गरेको थियो । प्रजातान्त्रिक र वाम आन्दोलन निराशा र अकर्मण्यताको दलदलमा साह«ै नराम्ररी गाँजिएको त्यो समयमा सुखानीको बलिदान अँध्यारो रातको पिलपिले बत्ती जस्तो थियो । २०२९ साल फागुन २१ गते सुखानीमा बगेको रगत मातृभूमिको सुखद् रूपान्तरणका लागि थियो । त्यो आन्दोलनका कारण राज्यको दमनले सयौं बेघर बनाएको थियो भने हजारौं प्रवासिनु परेको थियो । दर्जनौं भूमिगत जान बाध्य भएका थिए भने पचास बढीले जेलको चिसो छिँडीमा बन्दी जीवन बिताउनु परेको थियो । पाँच शहीद लगायत अन्य दर्जनभन्दा बढीले झापा आन्दोलनमा प्राण उत्सर्ग गरेका थिए । तर, आज सहिदले देखाएको बाटोबाट विचलित भएर व्यक्तिगत स्वार्थ र दलगत आग्रहको दलदलमा फँस्दै गएको दृश्य देखिँदैछ ।
नक्कली र ढोङ्गी नेताहरूको भाषण सुन्दा जनता आफैं भ्रममा पर्न सक्छन्, त्यतिबेला शहीदको बलिदान मुर्झाएको लाग्छ । तसर्थ, शहीदका सपनाको जिम्मेवारी लिने र उनीहरूले देखाएको मार्गमा मुलुकलाई डो¥याउने नेतृत्वको मूल कार्यभार हो । ओजस्वी विचारका धनी शहीदहरूले दिशानिर्देश गरेको बाटोमा मुलुकको मूल नेतृत्व हिँड्न जरुरी छ । आज हामीले घोत्लिनुपर्ने बेला आएको छ शहीदको कुर्वानी खरे त गएन ? सही बाटो हिँड्दै छौ कि शहीदले देखाएको बाटो भुल्यौँ कि भनेर प्रश्न गर्नुपर्ने भएको छ । वास्तवमा शहीद भनेका मुलुकको रूपान्तरणका लागि, नवीन र नूतन संसारको निर्माणका लागि आफ्नो प्रिय जीवन बलिदान गर्ने नेपाल आमाका सन्तान हुन् । आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान दिएर लोकहितमा लाग्ने अमर व्यक्ति शहीद हुन् भनी परिभाषित गरिएको छ । समाज र राष्ट्रको हितको लागि बलिदान दिने सहिदको मान भएको छ कि अपमान ?
सामाजिक, राजनीतिक, आर्थिक बेथिति र विसङ्गतिका बिरूद्धमा सचेत रूपमा राँको बोकेर यथास्थितिलाई धुस्नो बनाउने महासङ्कल्पका साथ क्रियाशील हुने क्रममा जीवन कुर्बानी गर्ने शहीदहरू सदैव स्तुत्य छन् र रहने छन् । नेपाल आमाका वीर सपूत र क्रान्तिकारीहरूको असीम त्याग र समर्पणका कारणले नै आज हामी अहिलेको अवस्थामा छौं । त्यसैले त ‘शहीदको सम्झनामा’ कवितामा कवि भूपि शेरचन भन्छन्– ‘हामीले खाने प्रत्येक गाँसमा रगत छ सहिदको, हामीले फेर्ने प्रत्येक सासमा धड्कन छ शहीदको ।’
आज बग्रेल्ती प्रश्न जन्मिएका छन्– घनान्धकारमा चाँदनी झैं प्रकाश छर्ने शहीदहरूको बलिदानले मुलुकमा रूपान्तरण कति आयो ? संसारको सबभन्दा शक्तिशाली भनेको समय हो । नेपालमा यतिबेला नेपालमा निराशा व्याप्त छ । निराशाका खेती गर्ने क्रम बढेर गएको पनि छ । नेपाली काङ्ग्रेस–नेकपा एमालेसहितको गठबन्धनको दुई तिहाइको अत्यन्तै बलियो सरकार छ । स्वतन्त्रताप्रतिको अगाध आस्थासहित दृढ़ सङ्कल्प बोकेर देशमा व्याप्त अत्याचारका बिरुद्धमा बिगुल फुक्ने शहीदको पुकार कतै हराइरहेको छ ।
वैचारिकरुपमा लोकतन्त्र र गणतन्त्रका लागि हाँसी–हाँसी तातो गोली थापेका नेपाल आमाका सर्वोत्तम सन्तानहरूको रगतको मूल्यको मूल्याङ्कन भइरहेको छैन । मुठी उचालेर क्रान्तिकारी बाटो चुन्नु भन्न जति सजिलो छ, व्यवहारमा त्यति नै अप्ठेरो छ । मानिसका लागि आफ्नो जीवनभन्दा प्यारो केही हुन्न, तर शहीदका लागि त मुलुक र मुलुकबासी आफ्नो प्राणभन्दा प्यारा भए । हाँसी–हाँसी गोली थाप्नु कहाँ सजिलो छ र ! सुखानीका ती महान् पाँच सहिदले माफी मागेनन् । उनीहरूले मृत्यु रोजे, गद्दारीको बाटो रोजेनन् । समाजलाई निरङ्कुशताका जञ्जिरले बाँधेका बेलामा यथास्थितिका बिरुद्धमा सतीसाल झैं उभिनु र सबैभन्दा प्रिय आफ्नो जीवन नै बलिदान गर्नु भन्न जति सजिलो छ, व्यवहारलाई सम्झँदा मात्र पनि बाँचेकाको लागि मन भय र त्रासले भरिन्छ । भोकानाङ्गा जनताका लागि सहानुभूति देखाउनु र उनीहरूका लागि जीवनको न्यौछावर गर्नु चानचुने कुरा होइन ।
अब वर्तमान समयको मुलुकको कुरा गरौँ । लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार र अन्त्यहीन विवादको श्रृङ्खलाका बीचबाट गुज्रँदै आएको देशको आर्थिक, सामाजिक, शैक्षिक रूपान्तरण सुस्त गतिमा छ । जनताको प्यारो भएर जनताको बीचमा आफूलाई श्रेष्ठ प्रमाणित गर्नुपर्नेमा आफंै मपाईं बनेर जनताभन्दा माथि आफूलाई सम्झन थालेका छन् सबै । आठ दशकदेखिको नेपाली जनताको सपना हावामा धुलो झैं उड्दैछ । शहीदको बलिदानलाई ग्रहण गरी मुलुक र मुलुकबासीको हितमा कार्यक्रम र कार्ययोजना बनाई नेपाललाई केन्द्रविन्दुमा राखी नेपालका सबै दलहरू सोही अनुरूप अघि बढ्दा नेपाल विकास छिट्टै हुनेमा विश्वास गर्न सकिन्छ ।
विरोधाभाषपूर्ण कुरा के छ भने, हातमा बन्दूक हुने बित्तिकै सत्ताको उन्मादले आफ्नै देशबासीलाई छातीमा गोली दाग्नेहरू शहीदका हिमायती बनेर लच्छेदार भाषण दिन सक्छन्, असीमित शहीद गाथा गाउन सक्छन् र आफ्नो नियन्त्रण र प्रभावमा रहेका टेलिभिजनका पर्दामा तप्लकतप्लक गोहीका आँशु झार्न सक्छन् । स्मरणशक्ति कमजोर हुनेका लागि उनीहरूको अभिनय वास्तविक लाग्न सक्छ र उनीहरू वास्तविक लोकतन्त्रका हिमायती लाग्न सक्छन् । तर, समय भनेको भूत, भविष्य र वर्तमान सबैको समष्टि हो भन्ने बुझ्न जरुरी छ । यतिबेला नेपालमा उच्छृङ्खल तत्त्वले साम्प्रदायिक सद्भाव बिथोल्न र देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव चलखेल गरिरहेको आजको अवस्थामा देशमा अराजकताको सङ्केत देखा परेको छ । यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने देखिन्छ । जातीय आधारमा आपसमा भेदभाव गर्ने कुनै पनि देश उँभो लाग्दैन ।
आस्थाका आधारमा द्वेष र पृथकीकरणको वातावरण सृजना गर्ने हो भने त्यो देश कहिल्यै बलियो, समृद्ध र बृहत्तर राष्ट्र बन्न सक्दैन । सबै सम्प्रदाय र विचारधाराहरूमा समानता र साझा मान्यताहरू खोजी गरी नेपाली जनताबीच आपसी एकता, सामुहिक कल्याण र भातृत्वका लागि सामाजिक उत्तरदायित्वमा जोड दिँदै संविधान प्रदत्त मौलिक कर्तव्यका बारेमा सचेतना वृद्धि गर्न जरुरी छ । जनताका आशा र अपेक्षाहरू आकासिएका छन्, तर शहीदको कसम खाएका दलहरू आफैंले जनसमक्ष आर्थिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउने प्रतिबद्धता भुलिरहेका छन् र सत्ताको लुछाचुँडीमा कुकुर–बिरालाको खेलमा व्यस्त छन् । जनताको मूल चाहना आधुनिक, सम्पन्न र समृद्ध नेपालको निर्माण हो ।
मुलुकमा लोकतन्त्रको स्थापना गरी सोही अनुरूपको अभ्यासको माध्यमबाट अघि बढ्दा मात्र जनादेश र मतादेशको सम्मान हुने निश्चित छ । जनताका सामु श्रेष्ठता कायम गरेर मात्र शासन गर्नुपर्छ भन्ने मान्यता अनुरूप अघि बढ्दा निरङ्कुश शासकको कोपभाजनमा परेर वामपन्थी सोच र दर्शनका अनुयायीहरू बढी सङ्ख्यामा शहीद भएका छन् हाम्रो देशमा । साँच्चै भन्ने हो भने नेपाल कम्युनिस्ट पार्टीहरू त शहीदको विरासत नै हो भने हुन्छ । नेपालका हरेक गाउँबस्ती शहीदका गाउँ भएका छन् ।
सम्भवतः त्यस्तो कुनै गाउँपालिका वा नगरपालिका छैन, जहाँबाट कोही शहीद नबनेको नहोस् । शहीद भन्ने जति सजिलो छ, तर यो विषय कति कष्टदायक र सन्त्रासयुक्त हो भन्ने कुरा शहीद परिवारलाई मात्र थाहा हुन्छ । गोली लागेर कोही मर्नु नै शहीद हुनुको मापन हुन सक्दैन । शहीद परिवाका सामु शहीदको प्रशंसामा लच्छेदार भाषण गरेर माहौललाई शोकामग्न बनाउनु मात्र नेतृत्वको दायित्व हुन सक्दैन । यो सच्चाइलाई ग्रहण गरेर सोही अनुरूपको व्यवहार लोकतन्त्रका लागि सङ्घर्ष गर्ने नेपाली काङ्ग्रेस तथा कम्युनिस्टरूले गर्न सकिरहेका छैनन् । विपना र यथार्थमा परिणत गर्नुभन्दा पहिला सपना देखिन्छ । पहिला सपना देखिन्छ र विपनाका लागि अघि बढिन्छ । सहिदहरूले स्वतन्त्रता, समानता र लोकतन्त्र स्थापनाका लागि सपना देखे र आम जनसमुदायको हितका लागि आफूलाई बलिदान दिन तयार भए ।
दुःखको कुरा के हो भने विभिन्न कालखण्डमा लोकतन्त्र र स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झना पनि धुमिल हुन थालेको छ । नेपालमा निरङ्कुश तथा जहानियाँ राणा शासनलाई जरैदेखि उखेलेर, फ्याँकेर त्यस ठाउँमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको शासन व्यवस्था स्थापना गर्ने कार्यमा कोशेढुङ्गाको काम गरेको थियो । शहीदको बलिदान कै कारण आज हामी खुलारूपमा आफ्ना विचारहरू राखिरहेका छौं । आज मुलुक प्रतिकूलताका वीचबाट गुज्रिरहेको छ । साम्प्रदायिक विद्वेष फैलाउने तत्वको पहिचान गरी त्यस्ता अवाञ्छित गतिविधिलाई सबै मिलेर निस्तेज पार्न र राज्य यसमा संवेदनशील हुन आवश्यक छ । साम्प्रदायिक सद्भाव र भातृत्वको वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता हो ।
लोकतन्त्रविरोधी राणा शासन र पञ्चायतका हिमायती मात्र होइन, बहुदलीय व्यवस्थाभित्रका सरकारहरूले पनि बौलाएर सकारात्मक सोचका धनी नेपाल आमाका हजारौंहजार सन्तति माथि गोली बर्साए । वर्षौंवर्षसम्म जेलभित्रका सेलहरूमा बन्दी बनाइयो र कुनै अमूक निर्जन वनमा कुनै कालो रातमा प्राणपखेरु उडाइयो । लोकतन्त्र विरोधी राणाशासन र पञ्चायतका हिमायती मात्र होइन, बहुदलीय व्यवस्था भित्रका सरकारहरूले पनि बौलाएर सकारात्मक सोचका धनी नेपाल आमाका हजारौंहजार सन्तति माथि गोली बर्साए । वर्षौंवर्षसम्म जेलभित्रका सेलहरूमा बन्दी बनाइयो र कुनै अमूक निर्जन वनमा कुनै कालो रातमा प्राणपखेरु उडाइयो । गौरव र स्वाभिमानका साथ शिर ठाडो पारेर स्वतन्त्रता र लोकतन्त्रका गीतहरू गाइरहेका छौं । आजको अवस्था सृजना गर्न सयौं हजारौं महान देशभक्तहरूको त्याग, शौर्य र शहादतले प्रमुख भूमिका खेलेको छ । यो अवस्था शहीद को बलिदानले सम्भव भएको हो ।
आफ्नो पूरा आयु नबाँची देश र देशवासीका लागि आफ्नो जीवनको बलिदान गरेर अतुलनीय योगदान गरे शहीदहरूले । उनीहरूको नाम स्वर्ण अक्षरले इतिहासमा अङ्कित छ । रूढीवादी, असमानता, शोषण र विभेदको पक्षपाती समाजलाई भत्काएर नवीन–नूतन समाजको परिकल्पना गर्दै सोही अनुरूप सङ्गठित रूपमा अघि बढ्दै जाँदा बलिबेदीमा होमिएका हुन् सहिदहरू । निरङ्कुश शासकका अभेद्य जालो च्यातेर अकरिला उकालो हिँड्दा शहीदहरू कहिले पनि शिर निहुराएर लत्रेनन् । लोकतन्त्रका लागि बरु मृत्य रोजे, तर कहिल्यै झुकेनन् । तर, वास्तविकता भनेको लोकतन्त्र र स्वतन्त्रताका लागि बलिबेदीमा चढेका नौजवान नेपाल आमाका महान सन्तान हुन् र हामी सदैव शहीदहरूको ऋणी रहनेछौं । सुखानीका शहीदको बलिदानको मर्म मुलुकमा सकारात्मक रूपान्तरण भएपछि मात्र महशुस गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here