सूचना प्रविधिको नयाँ–नयाँ विकासले विश्व नविनतम् युगमा दौडिरहेको छ । पछिल्लो प्रविधि विकासको कुरा गर्ने हो भने आर्टिफिसियल इन्टेलिजेन्स् (एआई)को चर्चा उत्कर्षमा रहेको छ । यस दौडमा अमेरिका अगाडि देखिएको छ । तर, प्रतिस्पर्धामा चीन पनि भिजिबलरुपमा अगाडि आइसकेको छ । अमेरिकाको च्याटजिपिटीले बजार लिइरहेको अवस्थामा चीनमा विकास भएको एआई टुल्स ‘डिपसिक’को सफलताले विश्व बजारको ध्यान खिचेको छ । जसले गर्दा अमेरिका स्तब्ध भएको छ । किनकि यस्ता प्रविधिको एकाधिकार जमाउने योजना बुनेको अमेरिकाको धडकनको ढुकढुक चीनका इनोभेटरले बढाइदिएका छन् । चीनमा अहिले चार जना युवा नव उद्यमीहरूले विश्वव्यापी टेक्नोलोजी परिदृश्यलाई नयाँ आकार दिइरहेका छन् ।
चारमध्ये डिपसिकका इनोभेटर लियाङ वेनफेङ अहिले सर्वाधिक चर्चामा रहेका छन् । किनकि उनले यसअघिका एआई टुल्सलाई चुनौति दिने डिपसिक नामक टुल्स विकास गरेर अमेरिकालाई पछारेका छन् । कुन चाहिँ सटिक र भरपर्दो हुने भन्ने कडा चुनौति छ, तर धेरैको अनुभवमा डिपसिक भरपर्दो देखिएको छ । यसले गर्दा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प समेत चिन्तामा परेका छन् । लियाङ वेनफेङ हाङझोउस्थित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप डिपसिकका संस्थापक हुन् । त्यस्तै अन्य तीन इनोभेटरहरुमा, युनिट्री रोबोटिक्सका वाङ जिङसिङ, बाइटडान्सका झाङ यिमिङ र डीजेआईका संस्थापक वाङ्ग ताओले चीनलाई एक शक्तिशाली टेक पावर हाउसका रुपमा रूपान्तरण गरेका छन् । उनीहरुका इनोभेसनलाई मध्यनजर गर्दै चीनका राष्ट्रपति सी जिनपिङ्गले समेत देशको नवप्रवर्तनका लागि युवा पुस्ताको योगदान आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । इनोभेटरहरुले राष्ट्रकै प्रेरणा पाएका छन् ।
चीनमा यसअघि पनि धेरै जना टेक इनोभेटरका रुपमा स्थापित हुन सफल भएका छन् । जसले चीनलाई विश्व मञ्चमा गर्विलो प्रतिस्पर्धीका रुपमा उभ्याउन सफल भएका छन् । माथि उल्लेख गरिएका उदीयमान चार उद्यमीहरु (जसलाई फ्यान्टास्टिक फोर पनि भनिन्छ) एकाएक रातारात उदाएका भने होइनन् । यहाँसम्म आइपुग्न भिजन, मेहनत, पढाई, सीप र सरकारको सपोर्ट महŒवपूर्ण रहेका छन् । उबर टेक्नोलोजीजका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी अधिकृत ट्राभिस कालानिकका अनुसार, चिनियाँ टेक कम्पनीहरूले निकै स्पीडमा काम गरिरहेका छन् र अन्ततः अमेरिकी फर्महरूलाई समेत उछिन्ने क्षमताको नेतृत्व हासिल गरेको छ । चीनको फ्यान्टास्टिक फोरले आजको समयमा नवीनता प्रदर्शन गरेका छन् । तर, चिनिया टेक कम्पनीहरूले अमेरिकी सरकारबाट कडा चेकजाँचको सामना गर्नुपरेको छ । उदाहरण, टिकटक अमेरिकी चेकजाँचको आँधीबेहरीमा परेको छ ।
डिपसिकका मोडेलहरूले अमेरिकी प्रविधि प्रतिबन्धहरूको बावजुद चिनियाँ कम्पनीहरूले अझै पनि नवीन उत्पादनहरू कसरी विकास गर्न सक्दछन् ? भनेर देखाएपछि डिपसिकका आविष्कारक लियाङलाई राष्ट्रिय नायकको रूपमा प्रशंसा गरियो । त्यसैगरी, स्प्रिङ फेस्टिभलको समयमा युनिट्री रोबोटहरूद्वारा प्रदर्शन गरिएको लोक नृत्यकलाले चीनका इनोभेटरहरुले अमेरिकाका इनोभेटरहरु समेतलाई निकै चकित बनाउन सक्छन् भनेर अर्बभन्दा बढी चिनियाँहरुलाई विश्वास दिलाए । यिनिहरुले कहाँबाट सीप प्राप्त गरे ? चीनका यी चार टेक प्रतिभाहरुले कसैले पनि विदेशमा पढेका थिएनन् । उनीहरुले स्वदेशमै पढेका थिए, तर स्वअध्ययनबाट विदेशका प्रबिधिहरुबाट पनि धेरै कुरा सिक्न सफल भए । बाइटडान्सका झाङ सन् २०१४ मा सिलिकन भ्यालीको भ्रमणबाट प्रेरित भएका थिए, जहाँ उनले फेसबुक, गुगल र एयरबीएनबी जस्ता अमेरिकी टेक जायन्टहरूको भ्रमण गरेका थिए । चीन फर्केपछि ३१ वर्षीय झाङले एक ब्लग पोस्टमा लेखे, चीनको टेक्नोलोजी कम्पनीहरूको सुनौलो युग आउँदैछ ।
फ्यान्टास्टिक फोरको विशेषता पनि अचम्मैको छ । उनीहरु आफूलाई स्पटलाइटबाट टाढा राख्न र सार्वजनिक टिप्पणी वा उपस्थितिबाट जोगिन रुचाउँछन् । बाइटडान्सका झाङ र डीजेआईका वाङले आफ्नो व्यापारिक साम्राज्यको बढ्दो प्रभावको बावजुद वर्षौंदेखि कुनै पनि अन्तर्वार्ता स्वीकार गरेका छैनन् र सार्वजनिक कार्यक्रमहरूमा देखा परेका छैनन् । टेक्नोलोजीहरुले देश र विदेशमा हेडलाइनहरू समातिरहँदा यी चार भने शान्त रहँदै काममा ध्यान दिन चाहन्छन् । उनीहरु यस्ता सेलेब्रिटीहरु हुन् जसलाई कुनै तामझामको आवश्यकता महशुस छैन । कम्पनीहरूलाई डिजिटल रणनीतिबारे सल्लाह दिने टेकमोट कन्सल्टिङका संस्थापक जेफरी टसनले चिनियाँ उद्यमीहरूले अमेरिका र युरोप जस्ता विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए । यदि अमेरिकी व्यापार फुटबल जस्तै हो भने चिनियाँ व्यापार रग्बी हो । तिनीहरू कठोर खेल खेल्न अभ्यस्त छन् –टसनले भने ।
फ्यान्टास्टिक फोर भनेर चिनिने स्टार्ट–अप संस्थापकहरू अर्थात् चिनियाँ उद्यमीहरूको नयाँ पुस्ताले विश्वव्यापी टेक्नोलोजी परिदृश्यलाई नयाँ आकार दिइरहेको छ । यसका लागि चीनको अनुकूल राजनीतिक वातावरण पनि एक हो । यहाँ चर्चा गरिएका चार उद्यमीहरु जनवादी गणतन्त्र चीनको स्थापनापछि सबैभन्दा उदार र खुला वातावरण मानिएको समयमा हुर्केका थिए । जुन अवधिमा परम्परागत सामाजिक अवरोधहरू हटाइएको थियो र विज्ञान, इञ्जिनियरिङ्ग तथा गणित शिक्षा देशको सार्वजनिक विद्यालय प्रणालीमा समावेश गरिएको थियो । अलिबाबा ग्रुप होल्डिङका ज्याक मा, बाइडुका रोबिन ली यान्होङ र टेनसेन्ट होल्डिङ्सका पोनी मा हुआतेङ जस्ता निरपेक्ष गरिबीको सम्झना लिएर हुर्केका चिनियाँ प्रविधि उद्यमीहरूको पूर्व पुस्ताको विपरीत चीनको नयाँ पुस्ताको टेक जायन्टको जन्म देङ सियाओपिङको नेतृत्वमा चीनले आफ्नो सुधार र खुलापन चरण शुरु गरेपछि भएको थियो । तात्पर्य, प्रतिभाहरुको प्रष्फुटनका लागि देशमा उदार र खुल्ला वातावरण हुनु पर्दछ ।
चीनमा अर्को पनि एआई मोडल विकास भएको छ, त्यो हो ‘मानुस’ एआई । भर्खरै मानुस एआई जसलाई एक क्रान्तिकारी एआई मोडेल भनिएको छ, जसले टेक्नोलोजी संसारमा तरङ्ग पैदा गरेको छ । पिक जी यिचाओको नेतृत्वमा मोनिका एआईले विकास गरेको मानुसलाई विश्वकै पहिलो टु्र जनरल एआई एजेन्ट भनिएको छ । परम्परागत एआई मोडेलहरूको विपरीत जुन निरन्तर मानव इनपुटको आवश्यकता पर्दछ, मानुसले स्वायत्त रूपमा सोच्न, विश्लेषण गर्न र टास्कहरु पूरा गर्न सक्दछ । चाहे वेबसाइटहरू निर्माण गर्न, डेटा विश्लेषण गर्न, वा जटिल परियोजनाहरू कार्यान्वयन गर्न, यो एआई निर्बाधरूपमा कार्य गर्न डिजाइन गरिएको छ । त्यसैले पनि एआई टेक्नोलोजीमा चीनको द्रू
तगति प्रगतिले अमेरिकासँग प्रत्यक्ष प्रतिस्पर्धामा खरो उत्रेको छ । मानुस एआई रेस अझ तीव्र हुँदै गइरहेको छ । विशेषज्ञहरूले भविष्यवाणी गरेका छन् कि यो विश्वव्यापी उद्योगहरूको लागि गेम चेन्जर हुन सक्छ ।
चाइना युरोप इन्टरनेशनल बिजनेस स्कूलका रणनीति र उद्यमशीलताका सहायक प्राध्यापक गुओ बाईले फ्यान्टास्टिक फोरले प्रतिनिधित्व गर्ने चिनियाँ उद्यमीहरूको नयाँ पुस्ताले आफ्नो घरेलु रुची र प्रोत्साहनका कारण विश्वव्यापीरूपमा सफल हुन सम्भव भएको बताए । भन्नुको तात्पर्य, यी उद्यमीहरुले आफ्नो देशका लागि राम्रो काम गरे र देशको सरकारी अङ्गहरुले पनि उनीहरुलाई सकारात्मक रुपमा लिइ दिए । चीनमा टेक इनोभेटर विकास हुनमा चीनमा उदार वातावरण अर्थात सुधार र खुलापन एक कारण मानिएको छ । चीन एक कम्यूनिष्ट शासन भएको देश भइकन पनि उदार, खुलापन र सुधार सुन्दर पक्ष रहेको छ ।
खासमा एआई के हो ? सारमा, एआई प्रयोग सबै कुरा स्वचालित गर्न होइन, तर सटिक उत्तर पाउन पक्कै हो, तर कसैले विकास गरेको एआई टुल्स कत्तिको प्रभावकारी रुपले विकास गरिएको छ त्यसमा भरपर्दछ । सबै अवस्थामा सही उत्तर नपाउन सकिन्छ । खासमा एआई भनेको प्रविधि र मानिसबीच सन्तुलन गर्नु हो । चीनमा विद्यालयस्तरमै एआई पढाइने भएको छ । चीनको यस्तो अवधारणा र द्रूत विकासबाट नेपालले पनि केही सिक्न सक्छ । एक लोकतान्त्रिक गणतन्त्रात्मक देश भइकन पनि नेपालमा टेक जायन्ट या प्रतिभाहरु जन्मन र विकास हुन के ले रोकेको छ ? यसको उत्तर चाँडै खोजेर र अबरोध हटाएर युवा पुस्तालाई टेक स्टार्टअपका लागि प्रोत्साहित गर्नु पर्दछ । (एजेन्सीहरुको सहयोगमा)