चुलाचुली नगर अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य सेवामा सहजता

0
17

उमानाथ भण्डारी
कमल ।

इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली नगर अस्पताल सञ्चालनमा आएपछि इलामका नागरिकलाई स्वास्थ्य सेवा पाउन सहज भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाका नागरिकलाई गाउँमै सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएपछि अन्यत्र गएर उपचार गराउनु पर्ने बाध्यताको अन्त्य भएको हो ।
गाउँबासी सबैका लागि पहुँचयुक्त स्वास्थ्य सेवामा उपलब्ध गराउन गाउँपालिकामा निर्वाचित जनप्रतिनिधी लागेपछि सबैका लागि पहुँचयुक्त स्वास्थ्य सेवा उपलब्ध भएको हो ।

साविकका चुलाचुली र साकफारा दुई वटा गाउँ विकास समिति मिलाएर बनाइएको यस गाउँपालिकाका जनप्रतिनिधि आउनुभन्दा अगाडि सहज रुपमा स्वास्थ्य पाउनु भनेको आकाशको फल आँखातरी मर भने जस्तै थियो ।

स्वास्थ्य कुरा गर्ने हो भने चुलाचुली गाउँपालिकामा नगर अस्पताल एक आधारभूत स्वास्थ्य केन्द्र नौ वटाबाट सेवा प्रवाह भइरहेको छ । पालिकाको जम्मा जन संख्यको ७० प्रतिशतभन्दा बढी जनता स्वास्थ्य बीमामा आबद्ध भएका छन् भने समुदायमा क्षयरोगी पहिचान गरी जिल्लामै पहिचान र उपचारमा चुलाचुली पालिका अगाडि रहेको छ ।

गर्भवती महिलाहरूलाई सम्पूर्ण वडाहरूमा निःशुल्क भिडियो एक्स–रे कार्यक्रम बिस्तार गरिएको छ भने पोषिलो आहार वितरण कार्यक्रम नियमितरुपमा सञ्चालमा रहेको छ । नागरिकलाई छिटोछरितो र भरपर्दो उपचारमा सहयोग पु¥याउने उद्देश्यले पालिकाबाट दुई वटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै मानसिक स्वास्थ्य कार्यक्रमलाई अझै बढी प्रभावकारी बनाइँदै लगिएको छ । पालिकाका नागरिकमा पोषणका कारण कुनै पनि प्रकारको समस्या नआओस् भनेर पोषण तथा परिवार नियोजन कार्यक्रमलाई प्राथमिकतामा राखी आवश्यक सेवा प्रदान गरिएको छ । पालिकाले नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध होस् भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । जसका कारण हिजोभन्दा आज चुलाचुली गाउँपालिकाको स्वास्थ्यको क्षेत्रमा धेरै परिवर्तन भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्गले दाबी गरे ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकासका लागि पालिकाको आन्तरिक स्रोतबाट एक करोड ६० लाख र सशर्त तर्फको स्वास्थ्य शाखामा ६० लाख र नगर अस्पतालमा ५० लाख गरी जम्मा दुई करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । यो पालिकाको कुल बजेटको ३० प्रतिशत रकम हो । आमनागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि पालिकाको आन्तरिक स्रोतबाट २२ जना स्वास्थ्यकर्मी नियुक्ति गरेर पालिकाको स्वास्थ्य सेवालाई नियमित सञ्चालन गरेको छ ।

चुलाचुली गाउँपालिकामा पछिल्लो समय स्वास्थ्यको क्षेत्रमा निकै परिवर्तन आएको छ । आमनागरिकले आफ्नै पालिकामा सहज, सुलभ र भरपर्दो सेवा पाउन थालेपछि समान्य उपचारका लागि अन्यन्त्र जानुपर्ने अवस्थाको अन्त्य भएको चुलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दुष्यान्त दाहालले बताए ।

गाउँपालिकाको वडा नम्बर १ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र र वडा नम्वर ३ स्थित सामुदायिक स्वास्थ्य ईकाई लगायत पालिकाका छ वटै वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रबाट नियमितरुपमा सेवा ग्राहिलाई सेवा प्रदान गर्नुका साथै नेपाल सरकारबाट सञ्चालन गरिएका नियमित कार्यक्रम अन्तर्गत नसर्ने रोग, टिभीको औषधि वितरणका साथै नियमित खोप कार्यक्रम, गर्भवती महिलाको स्वास्थ्य परीक्षण, प्रत्येक हप्ताको मंगलबार आँखा, सोमबार विषेशज्ञ सेवा, महिनाको तेस्रंो मंगलबार नसा तथा मानसिक रोग सम्बन्धी परीक्षण गर्नुका साथै विषेशज्ञ सेवा प्रदान गर्दै आएको छ ।

गाउँमै अस्पताल आएपछि धेरै सुविधा भएको स्थानीय लक्ष्मी बाँस्कोटा बताउँछिन् । अस्पतालमा दिउँसो मात्र सेवा पाइन्छ यो सेवालाई २४ घण्टा बनाएदेखि अझ सहज हुने अर्की स्थानीय कृष्णमाया चुहान बताउँछिन् ।

अस्पतालबाट नियमित सेवाका साथै सेवाग्राहको माग बमोजिम सेवालाई विस्तार गर्दै लगिँदैछ । अहिले प्रसुति सेवा एक्स–रे, ल्याव लगायतमा सेवा थप गरिएको र आवश्यक जनशक्ति अभावका कारण पूर्णरुपमा सेवा प्रदान गर्न समस्या भएको अस्पतालका मेडिकल अधिकृत डा. पारुहाङ्ग छाले बताए ।

स्वास्थ्यचौकीको भरमा उपचार गराउँदै आएका चुलाचुलीबासीलाई अहिले उपचारका लागि सहज भएको छ । विगतमा केर्खा, दमकसम्म गएर घन्टौ लाईनमा बस्ने समस्या हटेको छ । तर, अस्पताललाई आवश्यकपर्ने उपकारण अभावका कारण केही समस्या हुने गरेको स्थानिय लोकनाथ दाहाल बताउँछन् ।

चुलाचुली गाउँपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि गाउँबासीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ । उपचारकै लागि झापाका विभिन्न अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै गाउँमा नै सुविधासम्पन्न अस्पताल सञ्चालन भएपछि बिरामीलाई राहत मिलेको स्थानीयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here