सगरमाथा यातायातका बसमा सप्तकोशी बैंकको क्यूआर सुविधा

0
72

झापा।

सगरमाथा यातायातका यात्रुले अब फोन पेको क्यूआर मार्फत रकम भुक्तानी गर्न पाउने भएका छन् ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुको भाडा भुक्तानीलाई सहज र सरल बनाई सुविधा प्रदान गर्ने उद्देश्यले सगरमाथा यातायात प्रालिका सार्वजनिक यातायातमा डिजिटल माध्यमद्वारा भाडा भुक्तानी गर्न सक्ने सुविधाका लागि फोन पेको क्यूआर सेवा प्रदान गरेको हो । सगरमाथाका ३४ वटै सार्वजनिक यातायातमा सप्तकोशी डेभलपमेन्ट बैंकको फोन पेको क्यूआर सेवा पाउने भएका हुन् ।

एक कार्यक्रमका बीच सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ दिनेश पोख्रेल र सगरमाथा यातायात प्रालिका अध्यक्ष नवीन कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका थिए । सीईओ पोख्रेलले अध्यक्ष कोइरालालाई क्यूआर प्रदान गरेका थिए ।

क्यूआर मार्फत भुक्तानी हुने भएपछि रकम चोरी हुने तथा खुद्रा रकमको समस्याको समाधान भएको बैंकका सीईओ पोख्रेलको भनाई छ । उनले कोशी प्रदेशमा भ्रमण बर्ष शुरु भएकाले भारती पर्यटकलाई यो सेवाले विशेष फाइदा पुग्नुका साथै प्रभावकारी देखिएको जानकारी दिए ।

काठमाडौंबाहिर नेपालभरमै सार्वजनिक यातायातमा आधिकारिक रुपमा सुरुवात गरिएको यस प्रकारको सेवा सम्भवतः यो नै पहिलो पटक हो । यात्रुहरुको माग र समय अनुकूल सेवा विस्तार गर्दै जाने कम्पनीको उद्देश्यअनुरुप यो सेवाको सुरुवात गरिएको हो । यस सेवाबाट यात्रुहरुले आफ्नो मोवाइलबाट नै भाडा भुक्तानी गर्न सक्ने हुँदा नगद बोकिरहने र खुद्रा पैसाको झन्झटबाट मुक्ति पाउने छन् ।

नेपाल– भारतबिचको सीमानाका काँकरभिट्टा र जोगवनी दुबै स्थानहरुबाट बस सेवा सञ्चालनमा रहेको हुँदा भारतबाट नेपाल भ्रमणमा आई बस सेवा उपयोग गर्ने भारतीय नागरिकहरुले समेत आफ्नै भारतीय बैंक खाताको प्रयोग गरी डिजिटल माध्यमबाट भाडाको भुक्तानी गर्नसक्ने व्यवस्था समेत रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here