विद्यालय होस् त यस्तो :  न्यूटन्सकी शिक्षक शिवाकोटीले अवकाशका बेला पाइन् २० लाखभन्दा बढी रकम

0
510

झापा, अरु संस्थागत विद्यालयका शिक्षकहरु अन्तिम अवकाशका बेला खाली हात विदा हुन्छन् । तर, न्यूटन्स एजुकेशन एकेडेमीकी मिनु शिवाकोटीले अवकाशका बेला २० लाखभन्दा बढी रकम पाइन् ।


२१ वर्ष सेवा गरेर स्वेच्छिक अवकाश लिएकी शिवाकोटीले अवकाश कोषबाट साढे ८ महिनाको तलब ३ लाख ४७ हजार ६५० , नागरिक लगानी कोषबाट ८ लाख ३५ हजार १८४ , कर्मचारी संचय कोषबाट ७ लाख ५२ हजार र शिक्षक कल्याण कोषबाट ५१ हजार १०८ रुपैयाँ गरी जम्मा २०लाख ८ हजार २२१ रुपैयाँ पाएकी हुन् । उनले मात्र होइन, न्यूटन्सकै अर्का शिक्षक आइन्द्र सुब्बाले पनि दुई वर्षअघि अवकाश लिँदा साढे १० लाख रुपैयाँ पाएका थिए । शिक्षासेवी हरिकुमार प्रसाई संस्थापक रहेको बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकेडेमीले आफ्नो ऊर्जाशील समय बिताएर अवकाश हुने शिक्षकहरुले खाली हात जान नपरोस् भनेर विभिन्न कोषहरुको व्यवस्था गरेको हो । कर्मचारी संचय कोष , नागरिक कल्याण कोष , शिक्षक कल्याण कोष र अवकाश कोषबाट प्राप्त हुने रकमले सामुदायिक विद्यालयका सरह न्यूटन्सका शिक्षकहरु आकर्षक रकम लिएर विदा हुने गरेका छन् ।

२०६० सालमा १५० जना विद्यार्थीबाट न्यूटन्स एजुकेशन एकेडेमी स्थापना भएको थियो । शुरुवाती समयमा केही अप्ठ्यारो भएपनि २०६५ सालदेखि संस्थापक हरिकुमार प्रसाईले विद्यालयका तर्फबाट संचय कोषको व्यवस्था गरेका थिए । त्यस्तै विद्यालयले कमाएको मुनाफाको केही प्रतिशत रकमबाट प्रसाईले अवकाश कोषको स्थापना गरेका थिए । सोही कोषमा प्रसाईले आफ्नो दुई वर्षको तलब सहयोग गरेका थिए ।

अवकाशका बेला त्यति धेरै रकम पाउँदा शिक्षक मिनु शिवाकोटी सन्तुष्ट छिन् । संस्थागत विद्यालयका शिक्षकहरुले खाली हात जानु नपरोस् भनेर शिक्षकको मनस्थिति बुझेर न्यूटन्सले गरेको यस किसिमको व्यवस्था अरु विद्यालयका लागि प्रेरणादायी भएको प्रतिक्रिया दिइन् ।

संस्थागत विद्यालयका शिक्षकको तलब भत्ता सामुदायिक विद्यालयका शिक्षकसरह अनिवार्य व्यवस्था गर्नुपर्ने माग हुँदै आएको छ । संस्थागत विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीको रेकर्ड अद्यावधिक राख्नुपर्ने र सबै शिक्षक–कर्मचारीका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने माग हुँदै आएको हो । संस्थागत विद्यालय शिक्षक युनियन ९इस्टु० विभिन्न माग राखी आन्दोलित रहेको छ । शैक्षिक अगुवा रहेका हरिकुमार प्रसाईले तलदेखिका शिक्षकहरुको मर्मलाई बुझेर चार वटा कोषको व्यवस्था गरेको न्यूटन्सका प्रिन्सिपल देवेन्द्र हुमागाँईले बताए । उनले यस किसिमको व्यवस्थाले अन्तिम अवकाश लिने शिक्षकहरुलाई थारै भएपनि राहत मिलेको बताए ।

न्यूटन्सले यी कोषबाहेक शिक्षकहरुलाई पढाई खर्च , सुत्केरी खर्चलगायतका सुविधा पनि दिँदै आएको छ ।न्यूटन्समा १६२ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । त्यसमध्ये ५२ जना स्थायी हुन् । ४ वर्ष सेवा अवधि पूरा गरेपछि स्थायी नियुक्ति दिने गरिएको छ । राम्रो सेवा सुविधा भएकै कारण न्यूटन्सप्रति शिक्षक कर्मचारीहरु आकर्षित भएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here