योद्धा भण्डारी र भुर्तेल आदर्श नागरिक

0
15

वीर पुर्खाहरुले निर्माण गरेको संगठीत नेपाल अनेकौं ऋषिमुनीहरुको तपोभूमि र ज्ञानभूमि हो । यो देशको निर्माणमा हाम्रा थुप्रै पूर्वजहरुले शहादत प्राप्त गरेका छन् भने कतिले चेतना प्रवाह गर्न अनेक कष्टहरु व्यहोरेका छन् । आज हामी नेपाली हुनुमा गर्व गरिरहेका छौं र भनिरहेका पनि छौं कि हामी कहिल्यै पराधीन भएनौं, राष्ट्रिय स्वतन्त्रता अक्षुण्ण रहने देशका सम्मानित नागरिक हौं ।

वर्तमान नेपाल र नेपालीका परिकल्पनाकार र निर्माता राजा पृथ्वीनारायण शाह र तत्कालीन भारदारहरु अमरसिंह थापा, बलभद्र कुँवर, भीमसेन थापा र भक्ति थापा मात्र होइन साधारण भइकन पनि असाधारण ज्ञान दिने बिसे नगर्ची हुन् सबै हाम्रा आदर्श हुन् । जसका त्याग तस्या र मेहनतले आज पर्यन्त हामीले आफूलाई नेपाली भन्न पाएका छौं ।
पछिल्लो समय प्रविधिको विकासले हुनसक्छ अथवा बद्लिएको शिक्षा प्रणालीले नवपुस्ताहरु आफ्नो इतिहासप्रति अनिभिज्ञ छन् । यस्तो अनभिज्ञताले हाम्रो भोलिका सार्वभौम नागरिक अन्तर्मनबाट निष्प्राण हुनसक्छन् । यही अवस्था क्रमशः हुकिँदै जाँदा बौद्धिकता, तार्किकता र स्वयम्को मौलिकता पनि हराउँछ । परिणामतः पुर्खाले सृष्टि र विकास गरेको भूगोल र गौरव दन्त्यकथा हुन पुग्छ । आजभोलि कतिपय मानिसहरु अरुलाई चिन्दैनन् । आफैंलाई सर्वज्ञ, सर्वश्रेष्ठ र सर्वोच्च ठान्छन् । तर, सत्य यो हो कि पूर्वज थिए र हामी छौं । पूर्वजले चिनेको चौतारी थियो र हामीले बिसाउन, सुस्ताउन र थकाइ मेट्न पाएका छौं । त्यसैले इतिहास र इतिहास पुरुषको स्मरण, सम्मानले नयाँ पुस्तामा सत्प्रेरणा प्रवाह गर्नुपर्छ । यसले नयाँ पुस्तालाई असल हुन र सत्कर्म गर्न प्रेरणा प्रदान गर्छ । जय नेपाल प्रतिष्ठान त्यही लक्ष्य र गन्तव्यका साथ विगत तीन दशकदेखि पूर्वहरुका योगदानको स्मरण गराउँदै अग्रजहरुको परिवर्तनकारी कर्मको सम्मानसहित नवप्रतिभाहरुलाई उत्प्रेरणा प्रदान गर्न अग्रसर छ । त्यही क्रमको निरन्तरताको नव सृंखलाका साथ हामी उपस्थित छौं आज ।

बढ्दो आधुनिकता र भौतिक परिवर्तनले आजका मानिस व्यक्तिवादी भइरहेका छन् । पारिवारिक, सामाजिक वा समूहगत भावना र मानसिकता कमजोर भइरहेको छ । त्यसो त मानिसले दीर्घायु प्राप्त गर्ने भनेको अथवा अमरत्व प्राप्त गर्ने भनेको उसको कर्मशीलताले हो । आखिर मानिसको जीवन नश्वर छ र आफ्नो अन्त्यका बारेमा अनभिज्ञ पनि । मानिसको अमरत्व ऊ द्वारा सम्पादित कर्महरुले प्रदान गर्छ । जसले आफूलाई बिर्सिएर अरुको उपकार गर्छ र आफ्नो बुताले भ्याएसम्म लोकहितमा समर्पित रहन्छ ऊ यो लोकमा मात्र होइन वैदिक संस्कृतिले भनेको अदृश्य स्वर्गको लोकमा समेत स्मरणीय र सम्मानित हुन्छ । हाम्रो आस्था, विश्वास र मान्यता त्यही लोकमाथि छ जहाँ जोसुकै पुग्दैन र पुगेपछि जन्म–मरणको कष्ट पनि भोग्नु पर्र्दैन ।

इतिहास हाम्रो सभ्यता र प्रारम्भको ऐना हो । त्यही इतिहासको सत्यलाई पुनर्जागण गराउँदै नवपुस्तालाई समाज सापेक्ष हुन र पूर्वजहरु प्रति सम्मान गर्न प्रेरित गर्ने कर्ममा झापाका दुई व्यक्तित्वहरुलाई भौतिक रुपमै समाज समक्ष उपस्थित गराउँदैछौं । झापाको सदरमुकाम भद्रपुर निवासी दिव्यरत्व भुर्तेल र मेचीनगरको धुलाबारी निवासी यामप्रसाद भण्डारी ती स्मरणीय पात्रहरु हुन्, जसले समाज परिवर्तनका लागि व्यक्तिगत इच्छा, आकांक्षा त्यागेर कठोर यातनालाई सहज स्वीकार गरे ।

भद्रपुर निवासी भुर्तेल अहिले आठ दशकको जीवन यात्रा पछ्याइरहेका छन् । आमा हरिप्रिया र बुवा टीकाप्रसादका सुपुत्र भुर्तेलले आईएसम्मको औपचारिक अध्ययन गरेका छन् । आफ्ना ठूलो बुवा पूर्णप्रसादसँगै २०२१ देखि नेपाली कांग्रेसमा प्रवेश गरेका भुर्तेलको पारिवारिक पृष्ठभूमि पनि त्यही थियो, जसलाई आजपर्यन्त सुरक्षित छ । सीमान्त नदी मेचीमा पुल बनाउनुपर्छ भन्ने भद्रपुरबासीको चाहना बमोजिम सहयोग संकलन गरिएको थियो, दुई देशलाई जोड्ने पक्की पुलको निर्माणमा के प्राविधिक जटिलता आयो पुलको शिलान्यास भएर पनि निर्माण कार्यले अकार लिएन । त्यही समय तत्कालीन युवराज वीरेन्द्रलाई संकलित रकम हस्तान्तरण गरियो । त्यही विषयमा झापाली केही युवाहरु शिव भुर्तेल, याम भण्डारी, दिव्य भुर्तेल, मोहनलाल अग्रवाल, मनोहर वंशल प्रतिवादमा उत्रिए । तत्कालीन प्रशासनले उनीहरुलाई पक्राउ ग¥यो र कठोर यातनासहित कारागार पठायो ।

चार वर्षको कारागार जीवन भोगेर २०३१ सालमा मुक्त भएका भुर्तेलको साहित्यिक सृजनामा समेत रुचि थियो । कथा र कविताका सर्जक भुर्तेलले त्यसताका साँचो पत्रिकाको सम्पादन समेत गरेका थिए । हाल जीवन संगिनी सुभद्रा, छोरा पंकज र बुहारी योगितासँगै नातिहरुका साथ रहेर स्थानीय समाजसँग जोडिएका भुर्तेल एउटा जीवित इतिहास हुन् । जसले नवपुस्तालाई अधिकारप्रति सचेत हुन र कर्तव्य निर्वाह गर्दै इतिहासको उदाहरणीय योछाको अभिलेखन सुरक्षित गरेका छन् ।

मेची पुलको त्यही सन्दर्भमा उद्योगी, व्यापारी तथा स्थानीय दाताहरुको उदत्त सहयोग दुरुपयोग हुने आशंका र ठहरमा भुर्तेलकै लहरमा उभिएका अर्का युवा थिए– यामप्रसाद भण्डारी । अन्य जागरुक युवाहरु सशरीर यो लोकमा छैनन्, तर भुर्तेल र भण्डारी त्यस घटनाका इतिहास साक्षी हामी माझ छन् । आमा मनितादेवी र बुवा पद्मप्रसाद भण्डारीका सुपुत्र भण्डारीको जन्म वि.सं. २००२ भदौ १० गते तत्कालीन शान्तिनगर झापामा भएको थियो । हाल मेनपा–९ धुलाबारीमा बसोबास गरिरहेका भण्डारीकी पत्नी सन्ध्या, एक छोरा र एक छोरी छन् । स्नातकसममको अध्ययन गरेका भण्डारी प्रजातान्त्रिक समाजवादलाई आदर्श ठान्छन् र २०१६ सालमा छात्र संघ मार्फत राजनीतिमा प्रवेश गरेका भण्डारीले कांग्रेसको विभिन्न पदमा रहेर राजनीतिक मार्फत नेपाली समाजको सेवा गरेका छन् ।

गरीबसँग विश्वेश्वर कार्यक्रमका झापा अध्यक्ष, नेपाल शिक्षक संघ क्षेत्रीय सभापति, वीपी चिन्तन प्रतिष्ठान झापा सदस्य लगायत विभिन्न संस्थाहरुमा आबद्ध रहेका भण्डारी पछिल्लो समय आध्यात्मिक चिन्तनमा छन् । वैदिक सनातन हिन्दू धर्मका अनुयायी उनी हाल श्री सत्य साई केन्द्रमा सम्बद्ध छन् । राजनीतिसँगै साहित्य र पत्रकािरतामा समेत आबद्ध भण्डारीसँग भद्रपुरबाट प्रकाशित आलोक र सूर्योदय साप्ताहिकमा सम्पादनको समेत अनुभव छ । नेपाली कांग्रेसको मुखपत्र आह्वान र छात्र संघ वृद्धावनबाट प्रकाशित मासिक पत्रिकामा पार्टीको राजनीति आदर्शलाई आधार मानेर लेख, रचना प्रकाशन भएका थिए ।

राजनीतिक विचारमा दृढतापूर्वक उर्भिको र संघर्ष गरेका भण्डारी २०३५, ०४२, ०४८, ०६२÷०६३ को आन्दोलनहरुमा समेत अग्र मोर्चामा थिए । हरेक चरणबद्ध आन्दोलनहरुमा बफादार सिपाही भएर अग्रपंक्तिमा रहेका भण्डारीले मेची पुल काण्डपछि पटक–पटक जेलजीवन बिताएका छन् । एक वर्ष निर्वासित जीवन समेत बिताएका उनी फरक–फरक समयमा गरी सात वर्षभन्दा बढी समय जेल बसेका थिए । त्यसक्रममा संगीत प्रहारदेखिचरम शारीरिक यातना व्यहोरेका उनले शौचालय र मेची किनारमा गाडिनुपर्नेसम्मको अमानवीय र क्रुर यातना सहनु परेको थियो । झापा जिल्लालाई सम्पूर्ण ठानेर आफ्नो उमेर, वर्कत, निष्ठा र समर्पण गर्ने भुर्तेल र भण्डारीलाई आदर्श नागरिक सम्मान २०८१ प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here