शिवसताक्षीमा रेडक्रस संवाद : जब विद्यार्थी बने ‘कलाकार’

0
62

विनोद सापकोटा
शिवगञ्ज ,
शिवगञ्जको एउटा हल, जहाँ सामान्यतया औपचारिक कार्यक्रम मात्र चल्ने गर्छ । शुक्रबारको दिन भने उक्त हल निकै असाधारण बन्यो। जेष्ठ नागरिक भवनको त्यो हल यसपटक विद्यालयका विद्यार्थीहरूले भरियो । तर उनीहरू पाठ्यपुस्तकको बोझ बोकेर होइन, प्रस्तुतिको जोश र आत्मविश्वास बोकेर हल भित्र आएका थिए।


नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले आयोजना गरेको ‘रेडक्रस संवाद’ कार्यक्रममा विद्यार्थीहरू यसरी प्रस्तुत भयो कि एकछिन त उनीहरू विद्यार्थी हुन् कि पेशेवर कलाकार, छुट्याउनै गाह्रो भयो। कोही रेडक्रसको ऐतिहासिक पृष्ठभूमिको भूमिका निर्वाह गर्दै थिए । कोही विपद्मा परेको जनतालाई प्राथमिक उपचार दिइरहेका अभिनयमा देखिन्थे। संवाद, अभिनय, भेषभूषा र प्रस्तुतिको संयोजन यस्तो थियो जुन कुनै नाटकघरमा सजिलै प्रशंसा बटुल्न सक्थ्यो।

विद्यालयको पाठ्यक्रम भित्रको ज्ञान मात्र होइन, पाठ्यपुस्तकबाहिरको अनुभूति, बुझाइ र सामाजिक उत्तरदायित्वप्रतिको समर्पण झल्काउने गरेको प्रस्तुति देखेर आयोजकदेखि अतिथिसम्म सबै चकित बने। ’यही हो त समग्र शिक्षाको सार—ज्ञान, समझदारी र प्रस्तुतिको तालमेल,’ कार्यक्रम मा सहभागी सबैले यसै भन्थे।

कार्यक्रममा सहभागी विद्यालयहरूमध्ये राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, दूधेले प्रथम स्थान हासिल ग¥यो। उसले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो। नवकिरण अङ्ग्रेजी माध्यमिक विद्यालय, शिवगञ्ज दोस्रो स्थानमा रहँदा भगवती माध्यमिक विद्यालय, बैंङ्डाडाले तेस्रो स्थान हात पा¥यो। सगरमाथा अङ्ग्रेजी माध्यमिक विद्यालय सान्त्वना पुरस्कार विजेता बन्यो। पहिलो पुरस्कारको प्रायोजन नेपाली काङ्ग्रेस महासमिति सदस्य समेत रहेका सामाजिक व्यक्तित्व मचिन्द्र शेर्माले गरेका थिए भने दोस्रो पुरस्कारको प्रायोजन शिवशताक्षी नगर कार्यपालिका सदस्य राम नरेश शर्माले गरेका थिए। यस्तै तेस्रो पुरस्कारको प्रायोजन सतासीधाम जेसिस‌ २०२५ ले गरेको थियो। प्रायोजक शेर्मा, शर्मा र जेसिसका २०२५ का अध्यक्ष पदमजंग कुँवरले विजेता तिनै जनालाई पुरस्कार वितरण गरेका थिए।

पात्रहरू विद्यार्थी थिए, तर प्रस्तुति हरेक नागरिकको जीवनसँग मिल्दोजुल्दो थियो। विद्यालय तहका किशोरकिशोरीहरू सामाजिक विषयप्रति कति संवेदनशील र जिम्मेवार छन् भन्ने कुराको पुष्ट्याई यो कार्यक्रमले गरिदिएको प्रथम पुरस्कारका प्रायोजक शेर्माले बताए ।

नगर प्रमुख मेगाङ थोप्रा रोशनले सही नै भने, “नेतृत्व, योजना र कार्यक्रम छनोटमा अब्बल भए कुनै पनि संस्था सुस्त हुँदैन।“ शिवसताक्षी रेडक्रस उपशाखाको सक्रियता र विद्यार्थीहरूको यस्तो अभिव्यक्ति भविष्यप्रतिको आशा र सम्भावनाको उज्यालो संकेत हो।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य भक्ति सिटौला, नेपाल शिक्षक महासङ्घ शिवसताक्षी नगर अध्यक्ष बेनु कार्की, विद्यार्थी नेता डम्बर अधिकारी, लगायतले कार्यक्रमको प्रभावकारिता र कार्यक्रमले दिएको सन्देश समाज रूपान्तरणको अभियानका रूपमा स्थापित भएको बताएका थिए।

रेडक्रस शिवसताक्षी नगरका सभापति गोविन्द काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति निर्मला गिरी को स्वागत र सुमन काफ्लेको सहजीकरणमा सम्पन्न भएको थियो। कार्यक्रम हेर्न, सुन्न र रेडक्रसको गतिविधि बुझ्न ३००को सङ्ख्यामा शिक्षक अभिभावक विद्यार्थी को सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here