सिटी सफारीले थपिदियो विद्यार्थी र अभिभावकमा उत्साह

0
117

बिनोद सापकोटा

शिवसताक्षी, सामुदायिक विद्यालयतिर विद्यार्थीको आकर्षण कम हुँदै गएको सन्दर्भमा शिवसताक्षी नगरपालिका–८ ले चालेको एउटा कदमले स्थानीय शिक्षा क्षेत्रमा नयाँ आयाम थपिएको छ । वडाको भगवती आधारभूत विद्यालयले हालै प्राप्त गरेको ’सिटी सफारी’ ९अटोरिक्सा० केवल विद्यार्थीका लागि आवतजावतको सहज माध्यम बनेको छ । उक्त अटो रिक्साले अभिभावकको मन जित्न सफल ’उपहार’ पनि साबित भएको छ ।
यस वर्षको सुरुवातमै शिक्षा क्षेत्रमा उठेका आन्दोलन, विवाद र असमझदारीबीच विद्यालय भर्ना अभियान प्रभावित भएको आम अविभावकको बुझाइ छ । यस्तो अवस्थामा वडाले दिएको सिटी सफारीले सामुदायिक विद्यालयप्रति विश्वास र भरोसा भने फर्काएको विद्यालयका शिक्षक र कर्मचारी बताउछन् ।

‘अटो रिक्सा’ फर्कायो विद्यार्थीको गन्तव्य

भगवती आधारभूत विद्यालयले सिटी सफारी पाएको यो पहिलो पटक हो । यसअघि सोही वडाको अरुणोदय आधारभूत विद्यालयले पनि यस्तै सुविधा पाइसकेको थियो । प्रधानाध्यापक टेकबहादुर मगर भन्छन्, ‘शैक्षिक सत्र २०८२ मा भर्ना अभियान नै औपचारिक रूपमा सञ्चालन गर्न नपाउँदा असर पर्यो । अब भने सिटी सफारी आएपछि विद्यार्थी स्वतः फर्किनेछ ।’
अरुणोदय विद्यालयमा यस अघि सिटी सफारी सञ्चालन भएपछि विद्यार्थी संख्या १२३ पुगेको छ । प्रधानाध्यापक तारा लावतीका अनुसार, सिटी सफारीकै कारण गाउँ टाढा भएका घरका बालबालिकाले पनि सहज रूपमा विद्यालय आउन पाएका छन् ।

अटोरिक्साले दियो रोजगारी र भरोसा

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर शेर्मा भन्छन्, “सिटी सफारीका कारण ३५ जना विद्यार्थीले सुविधा पाउँछन् । एकजना अभिभावकको स्थायी आम्दानीको बाटो पनि खुलेको छ ।’ विद्यालयले बिहान र बेलुका दुई–दुई घण्टा सफारी चलाउने जिम्मा एक अभिभावकलाई दिएको छ । त्योबापत ती अभिभावक विद्यालयलाई दैनिक ५० रुपैयाँ मात्रै तिर्छन् ।
वडाध्यक्षको फरक सोच

वडाध्यक्ष सन्तकुमार फेउदिन शिक्षालाई जीवनको मेरुदण्ड मान्छन् । “यो कुनै प्रचारका लागि होइन । परिवर्तनका लागि हो,” उनी भन्छन्, “अर्को वर्ष अझ फरक कार्यक्रम ल्याउनेछु । जसले वडाका अभिभावक, विद्यार्थी र शिक्षकको सोचमै परिवर्तन ल्याउनेछ ।’
उनले स्पष्ट पारे कि वडाका हरेक कदम वडाबासीको हितमा हुनेछन् । अहिले घोषणा नगरे पनि कार्यक्रमको अध्ययनपछि सार्वजनिक रूपमा घोषणा गर्ने प्रतिवद्धता उनले जनाएका छन् ।

सडकमा गुड्ने सिटी सफारी, शिक्षा र भरोसाको सवारी

वडाका सामुदायिक विद्यालयहरूमा फेरि चहलपहल फर्किएको छ । बाटोको धुलो उडाउँदै गुड्ने सिटी सफारी अब बालबालिकाको उज्यालो भविष्य बोकेर स्कुल पुग्ने सवारी साधन बनेको छ । वडा अध्यक्ष फेउदिन भन्छन् ’विद्यालय सेवा’ मात्र हैन । योे एउटा सन्देश पनि हो । सामुदायिक शिक्षामा अझै सम्भावना बाँकी छ ।’
वडा अध्यक्षले फन्को मारे
सिटी सफारी हस्तान्तरणमा विद्यालयमा पुगेका वडा अध्यक्ष फेउदिनले विद्यार्थीलाई सिटी सफारीमा राखेर एक फन्को मारे । विद्यार्थीले भने, ‘वडा अध्यक्षले सिटी सफारी चलाउन पनि जान्नु हुने रहेछ । क्या मज्जा आयो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here