अर्जुनधारा ।
झापाको अर्जुनधारा–११ स्थित भाषा कला संस्कृति समितिको आयोजना र अर्जुनधारा–११ नं. वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार एक दिने सांस्कृतिक महोत्सव सम्पन्न भएको छ ।
“भाषा, कला र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुख्य नारासहित स्थानीय लक्ष्मीधाप खेलमैदानको प्राङ्गणमा समितिका अध्यक्ष रुद्रप्रसाद दर्जीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तिलचन पाठक “चिन्तन”ले उद्घाटन गरेका थिए ।
स्थानीय संयुक्त नौमती बाजा समूह र सालबारी नौमती बाजा समूहबाट नौमती बाजा प्रस्तुत गरिएको कार्यक्रममा नेवा देय दबु अर्जुनधारा नगर समितिबाट लाखे नाच, स्थानीय नव जागरुक थारु समाजबाट थारु नृत्य, माङसेवा याक्थुम चुम्लुङ समाजबाट केलाङ नाच, तमू प्ये ल्हू संघ झापाबाट गुरुङ नाच, उराउ नाच, सन्थाल नाच आदि प्रस्तुत गरिएको थियो ।
सोही कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्र, प्रशंसा पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । जसअनुसार नृत्यतर्फ पदम तामाङ, संगीततर्फ हस्त परियार, साहित्यतर्फ हरिनारायण भट्टराई, कलातर्फ सुकदेव सिटौला र नेपाल आइडल पाँचौं संस्करणकी टप सेभेन हुन सफल इशा सुवेदी रहेका छन् ।
वडा सदस्य सीता कँडेलले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्ष खगेन्द्र इङनामलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिकी कोषाध्यक्ष देवी तामाङले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का वडा सदस्य पूर्णबहादुर राईले गरेका थिए ।