विपन्नलाई मात्रै असाध्य रोगमा उपचार खर्चका लागि दिने भनिएको आर्थिक सहायतामा मनपरी हुनु सरकारको बद्मासी हो । सहयोगका नाममा राज्यकोषबाट दिइने सहायतामा मनपरी गर्न नदिने उद्देश्यले ल्याइएको कार्यविधि निरर्थक भएको तथ्यांकले प्रमाणित नै गरेको छ । राज्यकोषबाट जथाभावी पैसा बाँड्ने प्रवृत्तिमा रोक लगाउन नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धित कार्यविधि–२०७२ लागू भएयता सरकारले करिब तीन अर्ब रुपैयाँ बाँडेको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर गृहमन्त्रालयबाट वितरण गरिएको यस्तो सहयोग पाउनेहरुमा अधिकांश राजनीतिक नेता, कार्यकर्ता र उच्च पदमा रहेका पूर्व एवम् वर्तमानका पदाधिकारीहरु छन् ।
विगतदेखि नै एमाले, कांग्रेस, माओवादीसँगै सत्तासीन दल र सरकारले नियम विपरीत पहुँचवालालाई मन्त्रिपरिषद्को निर्णयका नाममा राज्यकोष दोहन गरिरहेका छन् । राहत वितरण गर्ने कार्यविधि–२०७३ निश्चित अस्पतालमा भएको उपचारको बिल प्रमाणीकरण गरेर मात्र सरकारले खर्च दिन सक्ने व्यवस्था छ । त्यसमा पनि मुटु, मृगौला, क्यान्सर लगायतका तेह्र किसिमका रोगको उपचारमा अधिकतम् पन्ध्र लाख रुपैयाँसम्म सहयोग गर्न पाइन्छ । तर, सरकारले एउटै व्यक्तिलाई पचास लाख रुपैयाँ बाडेको प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयकै वेवसाइटमा छ । विपन्नलाई मात्रै सहायता दिनुपर्ने कार्यविधि विपरीत राष्ट्रपति, पूर्व राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमनत्री, मन्त्री, पूर्व सभामुख, पूर्व प्रधानान्यायाधीश र दलका नेता कार्यकर्तालाई समेत पैसा बाँडेर सरकारले आफैले कार्यविधि मिचेको मात्र होइन चरम आर्थिक हिनामिना गरेको छ ।
आर्थिक हैसियतको छानबिन नै नगरी मन्त्रिपरिषद्को निर्णयका नाममा आफ्ना कार्यकर्ता, आसेपासे र पहुँचवालालाई राज्यकोषबाट मनलाग्दी रकम बाँड्नु गतल मात्र होइन सरकारी ढिकुटीको दुरुपयोग हो । कार्यविधिले राष्ट्रिय योगदानका आधारमा पूर्व पदाधिकारीलाई सहयोगको अधिकतम् सीमा तोकेको छ । तर, सरकारले पूर्व विशिष्ट पदाधिकारी तथा वर्तमान प्रधानमन्त्रीलाई करोडभन्दा बढी रुपैयाँ वितरण गरिनु न न्यायोचित हो न त सुशासनको उदाहरण । औचित्य प्रमाणित नहुने, हैसियत भएका, भ्रष्टाचार मुद्दा चलेका र दलमा पहुँच भएकाहरुलाई वितरण गरिएको यस्तो सहायताका सम्बन्धमा स्वतन्त्र छानविन नभए अथवा सहायता दिनुपर्ने औचित्य पुष्टि नभए विद्यमान प्रणाली माथि नै प्रश्न खडा हुन्छ । तसर्थ सरकार र सरकार प्रमुख यसतर्फ गम्भीर होऊन् ।