भगीरथ भण्डारी,
इलाम ।
कृषि क्रान्ति गर्ने, रोजगार सिर्जना गर्ने, उत्पादन वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने जस्ता विषय हरेक वर्ष सरकारले बजेट ल्याउने समयमा चर्चाका विषय बन्छन् र चर्चामै सिमित हुन्छन् ।
बजेट वक्तव्यमा रासायनिक विषादीको उपयोगलाई निरुत्साहित गर्ने र जैविक विषादीलाई प्रवद्र्धन गर्ने उल्लेख गरिन्छ । त्यसका लागि बजेट र कार्यक्रम भने कतै पाइँदैन, तर इलामको रोङ गाउँपालिकाले स्थानीय उत्पादनलाई बढाउनुपर्छ भन्दै किसान लक्षित कार्यक्रम अघि सारेर काम गरिरहेको छ ।
स्थानीय उत्पादन स्थानीय स्तरमै उद्योग सञ्चालन गर्ने उद्देश्यका साथ गत वर्षबाटै काम थालेको रोङले यस वर्ष माटो परीक्षण गरेर प्रयोग शालाको रिपोटका आधारमा कृषि उत्पादन बढाउने र कृषिलाई सम्मानजनक पेसाको रूपमा अघि बढाउने लक्षका साथ माटो परीक्षणका लागि नमूना सङ्कलन ग¥यो । तर, रोङ गाउँपालिकाका गुरु किसानबाट सङ्कलन गरिएको माटोको नमूना माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काले बुझ्नै मानेन । माटो परीक्षणका लागि यस वर्षको टार्गेट पाँच सय वटा मात्रै रहेको भन्दै इलामबाट लगिएको चार सय १४ वटा माटोको नमूना बुझ्न नमाने पछि फिर्ता ल्याउनुको विकल्प रहेन ।
रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास)का अनुसार पालिकाबाट नमूना सङ्कलन गरी परीक्षणका लागि सुनसरीको झुम्का प्रयोगशालामा पु¥याएको माटो यस वर्षको टार्गेट पूरा भएको भन्दै बुझ्न नमानेको बताए । ‘प्रयोगशालाका प्रमुखसँग कुरा गर्दा यो वर्षको लक्ष्य पाँच सय रिपोर्ट हो’ –कोटा सकियो भन्ने जवाफ आयो उनले भने– ‘हामीले भन्यांै कि माटो बुझिदिनुहोस्, स्रोत, जनशक्ति र समयको विषयमा मन्त्रालयसँग कुरा गरौला, समाधान खोजौला भन्दा पनि मानेनन् ।’ माटो परीक्षणका लागि लगिएको पत्र दर्ता समेत भएन पालिकाबाट सम्पर्क गर्दा समेत प्रयोगशालाले माटो बुझ्न अस्वीकार ग¥यो अध्यक्ष स्याङ्वोले भने– ‘बिहान हामी माटो लिएर आउँदैछांै भनेर फोन सम्पर्क गरेरै माटो लगिएको र माटो पु¥याएपछि लिन नमानेको हो ।’
रोङ गाउँपालिकाले कृषि उत्पादनका लागि गुरु किसान मार्फत माटो सङ्कलन गरी माटो अनुसारको बाली लगाउने उद्देश्यका साथ परीक्षण गर्न लगेको हो । प्रयोगशालामा पुगेको माटो लिन नमाने पछि दुःख व्यक्त गर्दै पालिका अध्यक्ष स्याङ्वोले हामी कृषि प्रधान देश भन्छौ, आर्थिक मेरुदण्ड कृषि हो भन्दै भाषण गर्छाँै तर ५० औ वर्ष कृषिको नाममा खरबौँ बजेट सक्यौ, खरबौँ बजेट अनुदानमा बाड्यौ तर पनि अझै कृषि क्षेत्र उठ्न सकेको छैन उनले भने– ‘खेतीको मुख्य आधार माटो हो त्यही माटो सुधार नगरे कृषिको लगानी बेकार छ । तर, आज किसानको जाबो माटो परीक्षण गर्न नसक्ने प्रयोगशाला छन् अनि हामी कृषिमा ठूला–ठूला गफ गर्नु ?’
यता माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काका कार्यालय प्रमुख दिगम्बर यादवले एक वर्षको लक्ष्य भनेको पाँच सय रहेको भन्दै अहिले उक्त माटो परीक्षण गर्न नसकिने बताए । लक्ष्य पूरा भइसकेको र अहिले पनि दुई चार जना किसानको माटो परीक्षणका लागि आइरहेको भन्दै रोङ गाउँपालिकाबाट आएको माटो यस वर्ष परीक्षण गर्न नसकिने बताए ।
‘चार सय ५० वटा माटो परीक्षण गर्न अहिले सकिँदैन, बजेट छैन, कर्मचारी छैनन्, कार्यालयमा म सहित पाँच जना प्राविधिक छन्, एकदिनमा बढीमा १० वटा माटो मात्रै परीक्षण गर्न सकिन्छ’ –यादवले भने– ‘यति बेला फिल्डको काम पनि गर्नु छ त्यसैले अहिले माटो परीक्षणका लागि दर्ता गरेर मात्रै हुँदैन, काम पनि गर्नु पर्छ त्यस कारण अहिले रोङको माटो परीक्षण अस्वीकार गरेका हौँ ।’ ‘पालिकाले आफै बजेट विनियोजन ग¥यो भने पालिकामा नै गएर माटो परीक्षण गरिदिन सकिन्छ तर यस आर्थिक वर्षमा चाहिँ काम गर्न सकिँदैन’ –कार्यालय प्रमुख यादवले भने– ‘असोजसम्म रिपोट नमाग्ने हो भने अहिले आएको माटो राख्नसम्म सकिन्छ ।’
रोङ गाउँपालिकाले माटो प्रयोगशालामा लगेको पालिकाका गुरु किसानको नमुना माटो कार्यालयले दर्ता गर्न नमाने पछि फर्काएर ल्याएको छ । पटक–पटक अनुरोध गर्दा पनि दर्ता गर्न नमानेपछि माटो बोकेर गएको गार्डी फर्किएको पालिका अध्यक्ष स्याङ्वोले बताए ।
रोङले कृषि उत्पादन वृद्धि गर्दै पालिकामा नै प्रशोधन गरी स्थानीय उत्पादन बजार पु¥याएपछि किसानलाई मालिक बनाउनुपर्छ भन्दै गुरु किसान घोषणा गरेर काम शुरु गरेको छ । पालिकाले ‘गुरु किसान व्यवस्थापन कार्यविधि–२०८०’ निर्माण गरी त्यसै अन्तर्गत पालिकाका नमूना किसानलाई ‘गुरु किसान’का रूपमा घोषणा गरेरै काम थालेको हो । गुरु किसान घोषणा पछि नमूना माटो सङ्कलन गरी माटो परीक्षणको काम शुरु गरे पनि प्रयोग शालाले माटो लिन नमानेपछि सङ्कलन गरेको माटो परीक्षणमा अन्योल बनेको छ ।