रत्नबहादुर बस्नेत,
बिर्तामोड ।
बिर्तामोडमा एक दिवसीय साहित्य लेखन तालिम सम्पन्न भएको छ।
बीरता रिडर्स र मिडिया रिसर्च सेन्टरको संयुक्त आयोजनामा बिर्तामोडस्थित सरगम संगीतालयको सभाहलमा एक दिवसीय साहित्य लेखन तालिम सम्पन्न भएको हो।
बिर्तामोड नगरपालिका, लिंकन मण्टेश्वरी र ईशा बुक्स स्टेशनरीको सहयोग रहेको कार्यक्रमको संयोजन साहित्य पत्रकार मञ्च, झापाली साहित्य समाज र गोपीकृष्ण स्मृति प्रतिष्ठानको रहेको थियो।
बीरता रिडर्सका संयोजक साहित्यकार तीर्थ सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रमेश सायनले सहजीकरण गरेका थिए। उनले साहित्यका कविता, कथा, निबन्धलगायत विधाका लेखन विधि,सीप,शैली तथा कलाकौशलका बारेमा जानकारी गराएका थिए।
सहभागीले कविता, गजल सिर्जना प्रस्तुत गरेका थिए भने सिर्जनामा प्रयोग भएका बिम्व, कलाको प्रयोग र उत्कृष्टताबारे अन्तरक्रिया समेत गरिएको थियो।
बीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले सामाज रुपान्तरणमा महत्वपूर्ण स्थान रहेको साहित्य सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए।
मोहनमाया मावि, देवी मावि, इन्द्रचन्द्र क्याम्पस र महेन्द्र माविका विद्यार्थी, लेखक, पत्रकार, साहित्य प्रेमीहरुको सहभागिता रहेको तालिममा सहभागीका तर्फबाट भोला धितालले प्रतिक्रिया राख्दै साहित्य लेखनतर्फ प्रेरित गर्न तालिम उपलब्धिमूलक भएको बताएका थिए।
कार्यक्रममा गोपीकृष्ण स्मृति प्रतिष्ठानका सहसचिव भानुभक्त खनाल, साहित्य पत्रकार मञ्चका सचिव भरत प्रसाईं, कोषाध्यक्ष रत्नबहादुर बस्नेत, ईशा बुक स्टेशनरीका सञ्चालक केशव मैनाली, सन्तोष आचार्य, तुलसी भट्टराई, दुर्गा सिग्देल, शान्ता बराललगायतको आतिथ्य रहेको थियो।
साहित्य पत्रकार मञ्चका संयोजक हरि बरालले सहभागीलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए।