मोरङ,
उर्लाबारी नगरपालिका–४ की २७ वर्षीया एक बुहारीले आफ्नै घरमा ससुराबाट निरन्तर मानसिक, शारीरिक र यौनिक हिंसाको शिकार हुँदै आएको गम्भीर आरोप लगाएकी छन्। दुई वर्षदेखि सहन नसक्ने पीडा व्यहोर्दै आएकी उनलेे अहिले न्यायको खोजीमा इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेकी छन्।
उनका अनुसार उनका श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला ससुराले पटक–पटक जबरजस्ती यौन सम्बन्ध राख्न खोजेको र असहमतिको बाबजुद मानसिक तथा शारीरिक यातना दिएको आरोप छ। “श्रीमान फर्किएपछि केही सहयोग र न्याय पाइन्छ भन्ने आशा गरेकी थिएँ, तर उहाँले त दोषीलाई जोगाउने प्रयास गर्नुभयो,” उनको गुनासो छ।
पीडितले ससुरा र पतिबाट सार्वजनिक रूपमा समेत अपमानजनक व्यवहार सहनुपरेको बताइन्। पतिको अनुपस्थितिमा पटकपटक गालीगलौज र धम्की खेप्नुपरेको पीडितको भनाइ छ।
घटना यति गम्भीर बन्यो कि ससुरासँग कुरा गर्न खोज्दा उल्टै ससुराले विष ल्याएर आफू खाने बहानामा बिष टेवलमा राखी आफूलाई खाएर आत्महत्या गर्न बाध्य पारेको आरोप समेत बुहारीले लगाएकी छन्। उनले भनिन् “सुसुराले टेबलमा विष राखेर धम्क्याउन थालेपछि मैले मानसिक तनावका कारण त्यो विष खाइदिएँ,”। तत्काल उपचारका लागि उनी स्थानीय अस्पताल लगिएकी थिइन्।
हाल उनले जबरजस्ती तथा हाड नाता करणी उद्योग सम्बन्धी मुद्दा दर्ता गराउँदै दोषीहरूलाई कडा कारबाहीको माग गरेकी छन्। साथै उनले आफ्ना लागि र सानो छोराको सुरक्षाको ग्यारेन्टी गरिदिन प्रहरी प्रशासन र स्थानीय सरकारसँग आग्रह गरेकी छन्।
यस घटनाले उर्लाबारी क्षेत्रमा अझै पनि घरेलु हिंसाले महिलालाई कसरी च्यापिरहेको छ भन्ने कुराको कटु यथार्थ उजागर गरेको छ। स्थानीय अधिकारकर्मीहरूले पीडित सरितालाई आवश्यक कानुनी, सामाजिक तथा मानसिक परामर्श सेवा उपलब्ध गराउन जोड दिएका छन्।
प्रहरी कार्यालय उर्लाबारीका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ र पीडितका उजुरी तथा बयानका आधारमा थप प्रमाण संकलन भइरहेको छ। प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।
स्थानीय बासिन्दाहरू र सामाजिक अभियन्ताहरूले पीडितलाई पूर्ण न्याय दिलाउन सबै निकाय मिलेर निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। यता पीडितले आफ्ना कपडा र केही सामान प्रहरी र जनप्रतिनिधिको रोहवरमा माइत झापाको धरमपुर लगेकी छन् । ससुरा हालसम्म पक्राउ नपरेको इलाका प्रहरी उर्लाबारीले जानकारी दिएको छ।