अर्जुनधारा ।
सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको झापाली समाज इजरायलले बिहीवार झापाका एक आश्रम र चार वटा सामुदायिक विद्यालयलाई निःशुल्क विद्युतीय एवम् शैक्षिक सामग्री प्रदान गरेको छ ।
समाजले बिर्तामोड–५स्थित आफ्नो घर आश्रम झापा शाखालाई एक लाख दुई हजार रुपैयाँ बराबरको एक थान फ्रिज र एक थान वासिङ मेसिन प्रदान गरेको छ । सो आश्रमले असहाय, अनाथ, असक्त बेसहारा सडक आश्रित मानवहरुको उद्धार एवम् संरक्षणमा विभिन्न गतिविधि सञ्चालन गर्ने गरेको आश्रमका प्रतिनिधि विष्णु आचार्यले जानकारी दिए ।
त्यसैगरी समाजले अर्जुनधारा–९ खरबन्दीस्थित बालज्योति आधारभूत विद्यालय, झापा गाँउपालिका–६ शरणामतीस्थित जनता माध्यमिक विद्यालय, मेचीनगर नगरपालिका–१२ सहरेडाँगीस्थित सरस्वती बालकल्याण माध्यमिक विद्यालय र हल्दीबारी गाँउपालिका–१स्थित दुर्गादेवी आधारभूत विद्यालयमा एक लाख पाँच हजार तीन सय रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको समाजकी पूर्व अध्यक्ष माला योञ्जनले जानकारी दिइन् ।
समाजले वितरण गरेको शैक्षिक सामग्रीहरुमा कपि, पुस्तक, डटपेन, ज्यामिती बक्स, क्यालकुलेटर आदि रहेको छ । समाजका पूर्व अध्यक्ष एवम् संरक्षक जयप्रसाद ओडारीको अध्यक्षतामा आयोजित कार्यक्रममा बालज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुँवरले समाजको उक्त कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
समाजले प्रदान गरेको शैक्षिक सामग्रीबाट बालकल्याण आधारभूत विद्यालयका ५६ जना विद्यार्थी, जनता माध्यमिक विद्यालयका १० जना गरीब तथा जेहेन्दार विद्यार्थी, झापा–मेचीनगर–१२ सहरेडाँगीस्थित सरस्वती माध्यमिक विद्यालयका १० जना र दुर्गादेवी आधारभूत विद्यालयका १० जना विद्यार्थीसहित जम्मा ८६ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।
“समग्र झापाको विकासको लागि हामी झापाली” भन्ने मुख्य नारासहित सन् २०१५मा स्थापना भएको समाजले यस अघि अर्जुनधारा नगरपालिकाका अपाङ्गता भएका व्यक्तित्वहरुलाई सहायता सामग्रीहरु वितरण गरेको समाजका सदस्य राजिप कठेतले जानकारी दिए ।