झापा ।
झापाको कनकाई– ३ सुरुङ्गा निवासी नमिता बस्नेत क्यान्सर ‘सर्बाइभर’ हुन् । २०७७ सालमा घाँटीमा क्यान्सर देखिए पनि उपचारपछि उनले १४ दिनमा मेची– महाकाली साइकल यात्रा पूरा गरेर नेपालकै पहिलो क्यान्सर सर्बाइभर साइकल यात्री बनेको दावी गरेकी छिन् ।
२०८१ साल चैत ३० गते हनुमान जयन्तीका दिन उनले मेची पुलबाट शुरु गरेको साइकल यात्रा २०८२ साल वैशाख १२ गते १४ दिनमा महाकाली पुगेर समापन गरेकी थिइन् । योसँगै उनले आफू नेपालकै पहिलो क्यान्सर सर्बाइभर मेची–महाकाली साइकल यात्री भएको दावी गरेकी छन् । ‘मुस्कुराउँछ नयाँ जीवन’ भन्ने नारा सहित शुरु गरेको साइकल यात्राका क्रममा आफूले दैनिक एक सय ५० किलोमिटरसम्म साइकल यात्रा गरेको बताएकी छिन् ।
क्यान्सरका बिरामीलाई उत्प्रेरणा भर्दै गरिएको साइकल यात्रा फलदायी भएको उनको भनाइ छ । झापाका विभिन्न सामाजिक र व्यवसायिक संघ–संस्थामा रहेर काम गरिसकेकी उनी तेक्वान्दो खेलाडी हुन् । २०५३ सालमा ब्ल्याकबेल्ट लिएकी उनले आठौं दक्षिण एशियाली तेक्वान्दो प्रतियोगितामा समेत भाग लिएकी थिइन् । भलिवल र फुटवल खेलमा रुचि राख्ने उनले भलिवल र फुटवल खेल समेत खेलेकी छिन् ।
घाँटीमा क्यान्सर भएर पनि अरुलाई सचेतना जगाउने कार्यमा निरन्तर लागेका कारण उनी अहिले पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘काउन्सिलर’ का रुपमा कार्यरत छिन् । पिता वीरबहादुर बस्नेत (स्व) र माता पुष्पादेवी बस्नेतकी जेठी छोरीका रुपमा तेह्रथुमको म्याग्लुङमा जन्मिएकी उनी २०५७ सालमा कनकाई नगरपालिका–३ स्थित काफ्ले परिवारमा बुहारी भएर भित्रिएकी थिइन् । हाल उनका दुई छोरा कृष र आर्यन काफ्ले रहेका छन् ।
सहारा नेपालमा कार्यरत रहँदा उनलाई घाँटीमा गलफुले जस्तै घाउ देखापरेको थियो । लगत्तै उनी उपचारका लागि धुलावारीस्थित डा. रहिस पोखरेलको सम्पर्कमा पुगिन् । डा. पोखरेलको परामर्शपछि पछि उनी बिर्तामोडस्थित एड्भान्स प्याथोलोजीमा डा. सीमाको सहयोगमा एफएनएसी परीक्षण गराउँदै वीर अस्पतालसम्म पुगिन् । तर, क्यान्सरको दोस्रो स्टेपको उपचार गराउनुपर्ने भएपछि उनी भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा पुगिन् । जहाँ उनको क्यान्सरको सफल उपचार भएको छ । जसका कारण अहिले उनी क्यान्सरका बिरामीलाई सचेतना जगाउने कार्यमा सक्रिय छिन् ।
झापाको कनकाई नगरपालिकामा खुल्ला व्यायामशाला सञ्चालन गरिनुपर्ने अवधारणा अघि सारेकी उनले त्यहाँ उनले संस्थापक सचिवको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरेकी छिन् । योग प्रशिक्षक समेत रहेकी उनी काठमाडौंस्थित गोकर्णेश्वर निवासी ध्रुव हुमागाँईको प्रेरणाका कारण मेची महाकाली साइकलयात्रामा निस्किएको बताउँछिन् । हुमागाँई समेत क्यान्सरको बिरामी भएको उनको भनाइ छ । आफूलाई क्यान्सर जित्ने योद्धाका रुपमा उभ्याएकी उनले क्यान्सर रोग लागिहाले त्यसलाई सामान्य लिन तर हेलचेक्र्याँइ भने नगर्न आग्रह गर्छिन् ।
कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको पूर्वकार्यसमिति सदस्य, सुरुङ्गा जेसीजमा सचिव हुँदै उनले विभिन्न संघ–संस्थाको नेतृत्व समेत गरिसकेकी छिन् । परिवार नियोजन संघ झापाको युथ मेम्वर (आजीवन सदस्य) रहेकी उनी आफूले विभिन्न कारणले आठ पटकसम्म शरीरको शल्यक्रिया गराएको तर, अहिले आफू तन्दुरुस्त रहेको बताउँछिन् ।
क्यान्सर वा अन्य कुनै प्रकारका प्राण घातक रोग लागेको खण्डमा नआत्तिन सुझाव दिँदै उनले निरोगी जीवन जीउनका लागि योग अभ्यास, नियमित व्यायाम र खानपानमा विशेष ध्यान दिन सुझाव दिन्छिन् । मेची–महाकाली साइकल यात्रा गर्नु अघि आफूमा खासै आँट नआउने गरेको बताउँदै उनले भनिन् – साइकल यात्रा मेरा लागि युटर्न भएको छ । जसका कारण आज म यो ठाउँमा उभिन सफल भएकी छु ।
साइकलयात्राका क्रममा कनकाई नगरपालिकाले आफूलाई साइकल दिएर सहयोग पु¥याएको र पूर्वाञ्चल क्यान्सर अस्पताल र त्यहाँ कार्यरत चिकित्सकहरुले समेत आफूहलाई उल्लेख्य सहयोग गरेको उनको भनाइ छ । आफू क्यान्सर सर्बाइभर भए पनि अरुलाई उत्प्रेरणा जगाउने कार्यमा आफू निरन्तर लागी रहेको र आफूले समेत क्यान्सरको फलोअप पूर्वाञ्चल क्यान्सर अस्पतालमा गर्ने गरेको बताइन् ।