बिर्तामोड,
कन्काई नगरपालिका अन्तर्गतको विद्यालयहरूमा लागू गरिएको स्थानीय विषय ‘कन्काई ज्ञानमाला’ को पुस्तक वितरणमा देखिएको व्यवहारिक समस्याप्रति नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ, जिल्ला कार्यसमिति झापाले गम्भीर ध्यानाकर्षण गराएको छ।
महासङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि उक्त पुस्तक समयमै उपलब्ध गराउने विषयमा समस्या देखिएको भन्दै चिन्ता व्यक्त गरेको हो। महासङ्घका अनुसार, कन्काई ज्ञानमाला पुस्तक छपाइ गर्ने छापाखानाले खुद्रा व्यवसायीलाई कुनै छुट नदिई सोही मूल्यमा नगद खरिद गर्नुपर्ने सर्त अघि सारेपछि व्यवसायीहरू आश्चर्यचकित बनेका छन्।
विज्ञप्तिमा भनिएको छ, “हामी व्यवसायीहरू प्रचलित कानुनअनुसार आम्दानीमा आधारित कर बुझाउँदै आएका छौं। तर, बिना छुट खरिद गरी सोही मूल्यमा बिक्री गर्नु पर्ने अवस्था नाफा शून्य हुने भएकाले यसले कर गणनाको आधारसमेत हटाउँछ।” महासङ्घले यस्तो अवस्था व्यवहारिक नभएको भन्दै तत्काल समाधान खोज्न सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ।
महासङ्घका अध्यक्ष विनोद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी कन्काई ज्ञानमाला पुस्तक बिक्री वितरण गर्न इच्छुक छौं। तर, नेपाल सरकारले पाठ्यपुस्तकमाथि खुद्रा विक्रेतालाई दिने छुट संरचनाअनुसार हामीले पनि सोही सुविधा पाउनुपर्छ।”
यदि सो अनुरूप व्यवस्था नभएमा, महासङ्घले कन्काई नगरपालिकाभित्रका सम्पूर्ण पुस्तक तथा स्टेसनरी व्यवसायीहरूले कन्काई ज्ञानमाला पुस्तक वितरण नगर्ने निर्णय गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।
महासङ्घले उक्त समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र संवाद, छलफल र सहमतिको वातावरण निर्माण गर्न आग्रह गर्दै देशभरका पुस्तक व्यवसायीलाई दिइँदै आएको छुट संरचना कायम राख्न सम्बन्धित निकायसँग अपिल गरेको छ।
विज्ञप्तिमा महासङ्घका सचिव चन्द्रमणि घिमिरे र क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष दुर्गा प्रसाद घिमिरेको पनि हस्ताक्षर रहेको छ। यसैबीच क्षेत्रीय अध्यक्ष घिमिरेको नेतृत्वमा गएको व्यवसायीहरूको समूहले कन्काई नगरपालिकाका शिक्षा अधिकारी राजकुमार ओडारी लाई व्यवसायीले ध्यानाकर्षण सहितको विज्ञप्ति बुझाएका थिए।