योगेन्द्र योगी
बिराटनगर,
जिल्ला प्रहरी कार्यालय धनकुटाले १८३८ केजी गाँजा जलाएर नष्ट गरेको छ। प्रहरी कार्यालयबाट विभिन्न समयमा बरामद गरिएको गाँजा १८३८ केजी, ट्रामोल लेखिएको ट्रामाडोल ४१४ क्याप्सुल, डेसोलिक लेखिएको डाइजिपाम ५० ट्याब्लेट तथा स्पास्पेन र स्पासरेस्ट लेखिएका डाइसिक्लोमाइन औषधि ३३३ ट्याब्लेटलाई जलाएर नष्ट गरेको हो।
धनकुटा जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय नागरिकको रोहवरमा धनकुटा नगरपालिका वडा नं. ९ मुलघाट स्थित तमोर नदीको किनारमा प्रहरी निरीक्षक बिष्णु बहादुर खड्काको कमाण्डमा १५ जनाको प्रहरी टोलीले कानून बमोजिम रितपूर्वक जलाई नष्ट जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
गाँजा बोकेको सवारी साधन सहित १ जना पक्राउ
धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थितबाट गाँजा बोकेको पिकअप गाडी सहित ओसार पसारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहानको राती विशेष सुचनाको आधारमा प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले साँघुरीगढी-५ ओख्रे स्थितमा प्र.१-०२-००२ च ५२३८ नम्बरको महेन्द्रा पिकअप गाडीलाई संका लागी चेकजाँच गर्ने क्रममा उक्त गाडीबाट प्लास्टिकको २९ वटा वोरामा ८ सय ९० किलोग्राम गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न धनकुटा साँगुरीगढी-२ का उल्लास लिम्बुलाई समेत पक्राउ गरेको छ ।
गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
लागू औषध सहित १० जना पक्राउ
झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट जेठ ९ गते प्रतिबन्धित औषधी, लागू औषध गाँजा र ब्राउन सुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो काकँडभिट्टा झापाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का ३३ बर्षीय मोहन चौधरी र मेचीनगर-१५ का ३४ बर्षीय डिपलेस मेचेलाई ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
यसैगरी लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले भोजपुरको हतुवागडी गाउँपालिका-६ का २० बर्षीय संतोष संकर र मोरङको केराबारी गाउँपालिका-५ का२१ बर्षीय सरोज कार्कीको साथबाट १ ग्राम ८ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगर फेलापारी दुबै जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट बलियाको प्रहरी टोलीले घरबाटै लागू औषधको कारोबार गर्ने सुन्दर हरैँचा नगरपालिका-५ का २३ बर्षीय सचिन घिमिरे र कारोबारमा संलग्न सुनसरीको इटहरी उप-महानगरपालिका-१ का २६ बर्षीय अंकित तामाङ, सुन्दरहरैँचा-६ का २३ बर्षीय बिबस लिम्बु, बेलबारी नगरपालिका-११ का ३७ बर्षीय शिसिर राई र बेलबारी -११ की ३१ बर्षीया प्रमिला राई समेतलाई लागू औषध ब्राउन सुगर १ ग्राम र नगद ३९ हजार रुपैया सहित पक्राउ गरेको हो ।
यसका साथै प्रहरी चौकी ६ नम्बर बुधबारे धनकुटाले चेकजाँचको क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ का २८ बर्षीय मौषम लिम्बुलाई धनकुटाको चौबिसे गाउँपालिका-१ ढिस्को स्थितबाट प्रतिबन्धीत औषधी ट्राडोल -९०० चक्की र DIYSE-20-९०० चक्की सहित पक्राउ गरेको हो । उनीहरु सबैको सम्बन्धित प्रहरी कार्यालयहरुबाट अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।