विनोद सापकोटा
शिवसताक्षी, शिवशताक्षी नगरपालिकाका विद्यार्थीहरूले अब आफ्नै गाउँठाउँको धर्म, संस्कृति, परम्परा, पर्यटन, कृषि, भूगोल, चालचलन, वस्त्र, गरगहना व्यत्तित्व लगायतका विषयमा अध्ययन गर्न पाउने भएका छन् । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शनिबार आयोजना गरेको कार्यक्रममा ‘शिवसताक्षीको पहिचान’ नामक स्थानीय पाठ्यक्रम २०८१ को लोकार्पण भएपछि विद्यार्थीले आफ्रनै नगरको कथा अध्ययन गर्न पाउने भएका हुन् ।
शिक्षकको हातमा पाठ्यक्रम समेत हस्तान्तरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नगर शिक्षा अधिकारी छवि ढकालले बताए । स्थानीय पाठ्यक्रम भन्नाले कुनै स्थान विशेषको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक, आर्थिक र अन्य स्थानीय विशेषतामाथि आधारित अध्ययन अध्यापन गराउने सामग्री निर्माणको आधार दस्तावेजलाई जनाउछ । यसले विद्यार्थीलाई आफ्नो समुदाय, गाउँ र नगरको बारेमा गहिरो ज्ञान दिने नगर शिक्षा अधिकारीले बताएका छन्। उनका अनुसार स्थानीय पहिचान, गौरव र उत्तरदायित्वका बारेमा ‘शिवसताक्षीको पहिचान’ले विद्यार्थीलाई बोध गराउँछ । स्थानीय पाठ्यक्रमबाट विद्यार्थीहरूमा आफ्नो ठाउँप्रति माया, गर्व र जिम्मेवारीको भावना विकास हुने पाठ्यक्रमबाट अपेक्षा गरिएको छ ।
विद्यार्थीले आफ्नै परिवेशमा हुने विकास, समस्या र सम्भावनाबारे बुझ्ने मौका पाउने छन् । पाठ्यक्रमले व्यावहारिक शिक्षा र जीवनसँग जोडिएको विषयको ज्ञान दिने मात्र होइन, भावी नेतृत्व विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा, वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्की, शिक्षा शाखा प्रमुख छवि ढकाल, पाठ्यक्रम मस्यौदा लेखन समितिका संयोजक श्रीप्रसाद खरेल, नेपाल शिक्षक महासङ्घ शिवसताक्षीका अध्यक्ष बेनु कार्की, प्याप्सन शिवसताक्षी नगर अध्यक्ष राम सुहाङ ले संयुक्त रूपमा लोकार्पण गरेका थिए । नगर प्रमुख थोप्राले ढिलो भए पनि पाठ्यक्रम शिक्षकको हातमा पुगेकोमा खुसी व्यक्त गर्दै पाठ्यपुस्तकमा नगरको जातजाति, भाषा, धर्म, लिङ्ग, सम्प्रदाय, भूगोल, आचरण, पर्यटन, भेषभुषा, खानपान, रहनसहन जस्ता विविध पक्ष समेटिएकोमा सन्तुष्टि व्यक्त गरे । उनले यस्ता विषयमा जानकारी राख्नु विद्यार्थीको अधिकार भएको उल्लेख गरे ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलालले पाठ्यक्रमले विद्यार्थीलाई आफ्नै नगरको सम्पूर्णता बुझ्न र स्थानीय समृद्धिमा सहभागी बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । स्थानीय पाठ्यक्रम मस्यौदा लेखन समिति सदस्य भीमप्रसाद दाहालका अनुसार पाठ्यक्रममा नगरको इतिहास, भाषा, संस्कृति, पेशा, पर्यटन, स्रोत व्यवस्थापन, संस्था तथा व्यक्तित्वको परिचय, गौरवपूर्ण योजना, नैतिक शिक्षा र आयुर्वेद लगायत सातवटा क्षेत्र समेटिएका छन् । यस पाठ्यक्रमले विद्यार्थीलाई बाह्य क्षेत्रको सट्टा आफ्नै पालिकाका विषयमा जानकारी दिन प्राथमिकता दिएको उनले बताए । सामुहिक रुपमा तयार पारिएको पाठ्यक्रमको औचित्य, आवश्यकता, मूल्याङ्कन प्रणाली लगायतका विषयमा मस्यौदा समितिका संयोजक श्रीप्रसाद खरेल र सदस्य योन्देन सुनुवारले विषयगत शिक्षकलाई प्रवोधिकरण गराएका थिए । शिक्षा शाखा प्रमुख ढकालका अनुसार कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तकको मस्यौदा तयार असारको पहिलो सातासम्म गरी इकपी शिक्षकको हातमा पुर्याइने लक्ष शाखाले लिएको छ । आगामी वर्ष कक्षा ४ र ५, त्यसपछिको वर्षमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरिनेछ ।
नेपाल शिक्षक महासङ्घ शिवशताक्षी नगर अध्यक्ष बेनु कार्की, प्याप्सन शिवसताक्षी नगर अध्यक्ष राम सुहाङले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्नुपर्ने धारणा राखेका छन् । प्रबोधिकरण पूर्वको औपचारिक कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख नगर शिक्षा अधिकारी छवि ढकालको अध्यक्षतामा र सो शाखाका कर्मचारी मिलन विष्टको सञ्चालनमा भएको थियो ।