युवा पलायनको पीडा

0
17

देशमा राजनीतिक स्थिरता कायम हुन नसक्दा उद्योगधन्दा सञ्चालन हुन सकेन । जसका कारण देशले आर्थिक विकासमा गति लिन सकेन । देशको यही अवस्थाका कारण लाखौं युवाशक्ति रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । युवाहरुको पलायन देशकै लागि जटिल समस्या बन्न थालेको छ । अध्ययन र रोजगारीका लागि भनेर विदेश जाने युवाहरुको तथ्यांक डरलाग्दो छ । युवाहरु विदेशिएका कारण उत्पादन क्षेत्रमा मानवीय श्रमको अभाव छ । उर्वर जमिन बाँझिएको छ, विकास निर्माणमा आवश्यक श्रमशक्ति न्यून हुँदै गएको छ । यसले आर्थिक तथा सामाजिक रुपान्तरणका उद्देश्यहरु हावादारी गफ मात्रै हुने छन् ।

युवाशक्तिको पलायनले एकातिर देशको सर्वाङ्गिण विकासमा अवरोध सृजना गर्नेछ भने अर्कातिर मानवीय पुँजी अभावको दुर्दशा भोग्नु पर्नेछ । त्यो भन्दा ठूलो क्षति अर्काको भूमिमा विभिन्न कारणले ज्यान गुमाउने युवाहरुको परिवार र समाजले पूरा हुनै नसक्ने क्षति व्यहोर्नु परेको छ । वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन गठीत बोर्ड सचिवालयको निर्देशक गुरुदत्त सुवेदीले पछिल्लो दश महिनाको अवधिमा बाह्र सय सत्र जना युवाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरेका छन् । गत वर्ष अर्थात् ०८१ साउदेखि यही बैशाख मसान्तसम्ममा मात्रै ज्यान गुमाउने मध्ये दुबईमा जानेहरु बढी छन् ।

हामीकहाँ युवाहरुको बढ्दो पलायनको दोषी राज्य हो । ठूला–ठूला सपना देखाएर सत्तामा पुगेका शासकहरु यथास्थितिमै रुमल्लिएर कर्तव्यबाट च्युत भएका कारण युवाहरुमा राज्य सत्ताप्रति भरोसा हुन सकेन । राज्यको प्रमुख जिम्मेवारी भनेकै नागरिकमा आशा, भरोसा र आत्मविश्वास जगाउनु हो । राज्यले त्यस्तो भूमिका त निर्वाह गरेन–गरेन भ्रष्टाचारबाट अकूत सम्पत्ति आर्जन गर्नुलाई अभिष्ट ठान्न थाल्यो । त्यसकै उदाहरण हुन् विगतका काण्डहरु जसको निरुपण गरेर ठीक–बेठीक नछुट्याएको भनेर भइरहेको आलोचना र टिप्पणी ।

पछिल्लो समय राज्य सञ्चालनको मुख्य जिम्मेवारीमा रहेकाहरु नै मानव तस्करीमा संलग्न रहेको आरोप लाग्दै आएको छ । भिजिट भिसाको नाममा अवैध तरिकाले श्रम बेच्न विदेश पठाउने आरोपमा उच्च पदस्थ व्यक्तिहरु आरोपित हुँदैछन् । जसका कारण आम युवावर्गमा राज्यप्रति घृणा भाव पैदा भइरहेको छ । त्यसकै परिणाममा कठिन काम र मृत्युको भयलाई पनि बिर्सिएर विदेश जाने लहरमा उभिन थालेका छन् । त्यसैले राज्य युवाहरुको पलायनले निम्त्याउने जटिल परिस्थितिप्रति थोरै पनि संवेदनशील छ भने स्वदेशमै रोजगारीको अवसर सृजना गर्नुपर्दछ । उनीहरुमा आत्मविश्वास जगाउनुपर्छ, भरोसाको प्रत्याभूति दिनु पर्दछ । सत्ताको स्वार्थभन्दा राष्ट्रिय हितको स्वार्थलाई निर्दिष्ट गन्तव्य बनाउनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here