मनुस्मृतिको विवाद

0
19

प्रारम्भ :

वर्ण व्यवस्था र छुवाछुतको प्रथा मनुस्मृतिले स्थापित गरेको भन्दै हिजोआज बढी नै मात्रामा विरोध र आक्रोश भइरहेको छ । यहाँसम्म कि मनुस्मृति जलाउने सम्मका काम पनि भइरहेका छन् भने ब्राम्हणहरु प्रति आक्रोश र गालीका पर्रा छोड्ने काम पनि भइरहेको छ । यस्तो विरोध भारतमा शुद्रका नामबाट र तथाकथित दलितहरुबाट व्यापकरुपमा भइरहेको छ भने त्यसको बाछिटा नेपालमा पनि आउन थालेको छ । प्राचिनकालमा मनु ऋषि जसलाई मनु महाराज र मनु देवता आदि पनि भन्ने गरिएको छ । उनैले मनुस्मृति बनाएर लागू गरेका थिए पनि भनिएको छ । त्यसैगरी मनु ब्रम्हाका पुत्र भएकोले उनैबाट मानवको शुरुवात भएको भन्ने पनि छन् । जब कि स्वयम् मनुस्मृतिमा मनुभन्दा अघि लाखौं वर्षदेखि मानवको अस्तित्व रहेको उल्लेख छ ।

मनुस्मृतिको वास्तविकता

मनुस्मृति मनुले बनाएका होइनन् । उनले वर्ण व्यवस्था पनि बनाएका होइनन् । उनलाई त्यसबेलाका ब्राम्हण र केही ऋषिहरुले समाजमा वर्ण व्यवस्थामा समस्या आउन थाल्यो । त्यसलाई व्यवस्थित गर्न एउटा विधान आवश्यक भयो भनेर अग्रह गरेपछि मनुले तिनै ब्राम्हण र ऋृषिहरुलाई समाजमा वर्ण व्यवस्थामा आएको विकृतिलाई समाप्त पारी सुव्यवस्थित वर्ण व्यवस्था बनाउने जिम्मा दिए । अनि उनीहरुले बनाएको विधान जसलाई समाजको धर्म शास्त्र पनि भनिन्छ लाई मनुले लागू गराए ।
जुन कुरा मनुस्मृतिको पहिलो र दोस्रो श्लोकमा स्पष्ट उल्लेख छ । मनुमेकाग्रमासिननभिगम्य महर्षयः । प्रतिपूज्य यथान्यायमिदं वचनमत्रुवन ।।१।। अर्थात् एक समय एकान्तमा एकाग्रचित्त भएर बसेका मनु महराजसमक्ष उपस्थित भएर महर्षिहरुले पहिले पूजा गरे अनि निवेदन गरे ।

भगवन्सर्ववर्णां यथावदनुपूर्वशः । अन्तरप्रभवर्णानां चर धर्मान्नोवक्तुमर्हसि ।। २ ।। अर्थात् भगवान हाम्रो तपाईंसँग विनम्र अनुरोध छ कि हामीलाई चार वर्ण ब्राम्हण, क्षत्री, वैश्य र शुद्रद्वारा तथा वर्णशंकर मानिसद्वारा आचरण गर्नुपर्ने कामको प्रकाश पार्नुहोस् ।

यी माथि उल्लेख भएका दुईवटा श्लोकले मनुले वर्ण व्यवस्था बनाएनन् बरु त्यसवेलाको समाजमा वर्ण व्यवस्था प्रचलनमा थियो भन्ने बुझाउँछ । तर, त्यसमा समस्या आउन थालेपछि त्यसलाई व्यवस्थित गर्न ऋषि र ब्राम्हणहरुले मनु महाराजसँग निवेदन गरेको देखाउँछ ।

जुनबेला मनुस्मृति बनाइयो त्यसबेला जम्बुद्विपमा वैदिक सनातन धर्म थियो । हिन्दू नाम थिएन । हिन्दू नाम धेरैपछि मात्र प्रचलनमा आएको हो । वेदमा भएको चार वटा वर्ण व्यवस्था नै त्यसबेलाको समाजमा लागू थियो । जातको कुरा थिएन । छुवाछुत थिएन । वर्णमा उँच–नीच थिएन । शुद्रले नै ब्राम्हण, क्षत्री वा वैश्यको घरमा काम गर्न बस्दा, खाना पकाउनेदेखि सबै काम गर्नुपथ्र्यो । त्यो गरेवापत उसले पारिश्रमिक पाउँथ्यो । एक वर्णले अर्को वर्णलाई सम्मान गथ्र्यो ।

वेद र मनुस्मृतिमा उल्लेख भएको वर्ण व्यवस्थामा ब्राम्हण, क्षत्री, वैश्य र शुद्र गरी चार वर्ण थिए । त्यो वर्ण व्यवस्था, पेशा अर्थात कामका आधारमा हुन्थ्यो । ब्राम्हण कुलमा जन्मने बित्तिकै ऊ ब्राम्हण हुँदैनथ्यो । शुद्रकुलमा जन्मिने बित्तिकै ऊ शुद्र हुँदैनथ्यो । शुद्र कुलमा जन्मिएर पनि ब्राम्हणको पेशा अपनाए लेख, पढ गरेर शिक्षा दिने वा पूजापाठ र पुरोहितको काम गरे ब्राम्हण, देशको सुरक्षाको वा बाहुबलको काम गरे क्षत्री र बन्द व्यापार र कृषिको काम गरे वैश्य र सेवाको वा नोकरीको काम गरे शुद्र हुने व्यवस्था थियो ।

त्यसैगरी आश्रमको व्यवस्था पनि थियो । आश्रममा ब्रम्हचार्य, गृहस्थ, वानप्रस्थ र सन्यास । मानवको आयुलाई एक सय वर्ष निर्धारण गरेर शुरुको २५ वर्ष ब्रम्हचर्य, त्यसपछि ५० वर्षसम्म गृहस्थ र ७५ वर्षदेखि सन्यास आश्रम लिनुपर्ने नियम बनाइएको थियो । सबै वर्णलाई यी आश्रममा बस्नु पर्ने नियम थियो । तर, सबैले पालना गर्दैनथे किनकि यो स्वेच्छिक थियो । त्यसैगरी मनुले बनाउन लगाएको मनुस्मृति, याज्ञवल्क्यले बनाएको याज्ञवल्क्य स्मृति जस्तै त्यसबेला धेरै किसिमका स्मृतिहरु थिए । मनुले बनाएको स्मृति मान्नै पर्ने कर थिएन । अहिले पनि छैन । मनुले वा अरुले बनाएका स्मृति मन परेन भने पालना नगर्न सबै स्वतन्त्र थिए र छन् । मनुस्मृति नमान्ने बित्तिकै हिन्दू नहुने र मान्दा मात्रै हिन्दू हुने कुरा थिएन ।

मनुस्मृतिका धेरै पाण्डुलिपी पाइएका छन् । विद्वानहरुले ५० वटा पाण्डुलिपी पाइएको बताएका छन् । एउटा चीनमा पनि पाइएको छ । त्यो पाण्डुलिपी हाल लण्डनस्थित ब्रिटिश म्युजियममा राखिएको बताइन्छ । यसमा छ सय २५ श्लोक छन् । पाइएका हरेक पाण्डुलिपीमा केही न केही श्लोकहरु थप गरिएका छन् । छ सय श्लोकदेखि २८ सयभन्दा बढी श्लोक भएका पाण्डुलिपी पाइएका छन् । मनुले वनाउन लगाएको भनिएको मौलिक मनुस्मृति १२ सयभन्दा केही बढी श्लोकको रहेको एकजना भारतीय विद्वान डा. सुरेन्द्रकुमारले मौलिक मनुस्मृतिको अनुवाद नामक पुस्तकमा उल्लेख गरेका छन् ।

मनुस्मृति वेदसम्मत बनाइएको थियो । वेदसम्मत नभएका जति पनि श्लोक मनुस्मृतिमा छन् भने ती सबै पछि थपिएका हुन् । मौलिक मनुस्मृतिका होइनन् । ती विभिन्न कालखण्डमा आप्mनो स्वार्थ अनुकूल त्यसवेलाका राजा महाराजाहरुले थप्न लगाएका थिए ।

अहिलेसम्मको अनुसन्धानबाट मौलिक मनुस्मृतिमा पहिलो पटक मगधका तत्कालिन शासक पुष्यमित्र शुंगले आफ्नो शासनकालमा थप्न लगाएका थिए । भनिन्छ उनले सुमति भार्गव नामक ब्राम्हणको नेतृत्वमा सात सदस्यीय समिति बनाएका थिए । उनीहरुले राजाको इच्छा अनुसारका प्रात्रधान उक्त मनुस्मृतिमा थपे । त्यसलाई राजाले बनारसमा पठाएर प्रमाणित गर्न लगाए । त्यसपछि आफ्नो राज्यमा लागू गराए । त्यसपछि भारतमा अंग्रेजहरुको उपनिवेश शुरु भएपछि मुश्लिमहरुको सरिया भए जस्तै विभिन्न धर्म मान्ने र जातिहरुका आ–आफ्ना सामाजिक धार्मिक विधान पाएपछि हिन्दूहरुको के छ भन्ने खोजी गर्ने क्रममा मनस्मृति फेला प¥यो । त्यसपछि उनीहरुले त्यसलाई आफ्नो अनुकूल थपघट गर्न लगाएर छापे र प्रचार–प्रसार गरे । उनीहरुको प्रष्ट विचार थियो, हिन्दू समाजमा बिग्रह ल्याउन सकियो भने आफ्नो उपनिवेश लामो समयसम्म टिकाउन सकिन्छ ।

अहिले व्यापक विरोध भएको मनुस्मृति तिनै अंग्रेजहरुले छेडखानी गरेको र केही पष्यमित्र शुंगले थप गरी बनाउन लगाएको मनुस्मृतिका कारण भइरहेको छ । यसमा जातिको, छुवाछुतको, चार वर्णमा उँचनिचको, जुन वर्णमा जन्मियो स्वतः त्यो वर्णको हुने, अरु वर्णमा परिवर्तन हुन नपाउने, वेद पढ्न नपाउने, पढेमा कानमा तातो फलामको सुइरोले घोच्ने, दण्ड–विधान पनि विभेदकारी राखेको पाइएको छ । जब कि मनुले वेद पढ्न, शिक्षा ग्रहण गर्न सबैलाई खुल्ला गर्ने विधान बनाउन लगाएका थिए । मनुले बनाउन लगाएको स्मृतिमा जन्मेपछि संस्कार गरी जुनसुकै वर्णको पनि बालकले गुरुकुलमा गएर वा गुरु घरमा गएर वेद लगायत विविध विद्या अध्ययन गर्न पाउने व्यवस्था थियो । यतिमात्र होइन अध्ययनपछि उसलाई पेशा रोज्ने अर्थात् वर्ण रोज्ने अधिकार थियो भने विचमा पनि पेशा वा वर्ण परिवर्तन गर्ने अधिकार थियो । यस्तो व्यवस्था भएको स्मृतिमा छुवाछुत र उँचनीचको कल्पना पनि थिएन । एकातिर त्यही मनुस्मृतिमा महिलालाई पुजनीय मानिएको छ भने अर्कातिर त्यही महिलालाई बन्धनमा राख्नुपर्छ पनि भनिएको छ । यस्तो विरोधाभाषी व्यवस्था मौलिक मनुस्मृतिमा नभएको विद्वानहरुले बताएका छन् ।

किन विरोध

पंक्तिकारको अध्ययन र अनुसन्धानबाट मनुस्मृतिको विरोध गर्नेहरु विभिन्नखाले देखिएका छन् । एक मनुस्मृति पढ्दै नपढी वा देख्दै नदेखि सुने÷सुनाएको भरमा विरोध गर्ने र मनुस्मृतिसँगै मनु र ब्राम्हणहरुको खाल उखाल्ने गरी गाली गर्ने । दुई, प्रायोजित विरोध गर्ने । तीन, लहलहैमा विरोध गर्ने । चार, दलितहरुको भोट वा समर्थन तान्न विरोध गर्ने र पाँच ब्राम्हण तथा पितृसत्तात्मक समाजको विरोधमा मनुस्मृतिलाई अघि सारेर उदाहरण दिई ब्राम्हण बाहेक अन्यको र महिलाको समर्थन पाएर अभियन्ता बन्ने लोभमा विरोध गर्नेहरु पाइएका छन् ।

यी विरोध गर्नेहरुमा अधिकांश ९९ प्रतिशतले मनुस्मृति पढेका छैनन् त के पल्टाएका पनि छैनन् । एक प्रतिशतले पढे पनि मैलिक मनुस्मृति र त्यसको सही र समालोचनात्मक विश्लेषण पढेका छैनन् । केही पढ्नेले आफ्नो स्वार्थ साध्ने गरी त्यसको व्याख्या गरेका छन् । यसैले मनुस्मृतिको सही मूल्यांकन, विश्लेषण र व्याख्या नभएर ब्राम्हणहरुलाई तल खसाल्दा फाइदा पुग्छ भन्ने विश्वासमा दलित वा शुद्र वर्णहरुबाट मनुस्मृतिको विरोध गर्ने र जलाउने काम पनि भइरहेको छ ।

अन्त्यमा

मौलिक मनुस्मृति पढौं, संस्कृतमा लेखिएकोले संस्कृत नपढ्नेलाई यसको सही अर्थ बुझ्न कठिन हुन्छ । त्यसैले तटस्थ अनुवादकले गरेको अनुवाद खोजेर पढौं । अनुवादसँगै विश्लेषण, सामयिक अर्थ र व्याख्या पनि खोजेर पढौं । आफ्नो स्वार्थ अनुकूल पछिका शासकहरुले थप्न लगाएका श्लोक जो वेद अनुकुल छैनन् त्यसलाई छुट्याउँ । थप गरिएका र अहिलेको समाज अनुकूल नभएका श्लोक वा विधानलाई अस्वीकार गरौं । मनुस्मृतिका सार्वकालिक कुराहरुलाई मानौं, अरु नमानौं । मनुस्मृतिलाई एक प्राचिन सामाजिक धर्मशास्त्रको रुपमा हेरेर ऐतिहासिक दस्तावेज मानौं ।

वेदमा जातिपाति नभएको, छुवाछुत नभएको र वर्णका आधारमा उँचनीच पनि नभएको पाएपछि आर्यसमाजीहरुले समाजलाई विभेदरहित बानाउन, छुवाछुत मुक्त बनाउन वेदतिर फर्क भन्ने नारा शुरु गरेका हुन् । दयानन्द सरस्वतीको यही अभियान थियो । त्यसलाई पनि अध्ययन गरौं । वास्तवमा जातिपाती, छुवाछुत र उँचनीच गलत हो । यस्तो रहेसम्म समाजको उन्नति हुन सक्दैन । यसको अन्त्य गर्न अभियान चलाउँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here