वीपी कोइरालाः जीवनका प्रमुख आयामहरू

0
18

वीपी कोइरालाको चर्चा गर्दा नेपालमा राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको वैचारिक आधार खडा गर्ने विशिष्ट चिन्तकको रूपमा उनलाई लिने गरिएको छ । हुन त राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका विभिन्न कोणबाट व्याख्या र विश्लेषण छन् र हुन सक्छ । वीपी नेपालको प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनका एकजना विशिष्ट धरोहर हुन् । प्रजातान्त्रिक चेतनाको विजारोपण, त्यसको विस्तार र प्रजातान्त्रिक समाजको आधारशिला निर्माणमा उनले ज्यादै महŒवपूर्ण भूमिका खेलेका छन् । साहित्यमा समेत गहिरो दख्खल राख्ने र नेपाली साहित्य भण्डारमा उत्कृष्ट साहित्यिक सिर्जनाहरू प्रदान गर्ने वीपीको व्यक्तित्व, चिन्तन र क्रियाकलापको गहिरो प्रभाव नेपाली समाज र प्रजातान्त्रिक विश्वमा आजपर्यन्त अनुभूत गर्न सकिन्छ ।

तीन जना राजाहरू त्रिभुवन, महेन्द्र र वीरेन्द्रको शासन भोगेका र राणा शासक र पञ्चायती शासकहरूबाट जतिसुकै उत्पीडन र कठोर यातना पाउँदा पनि कहिल्यै नझुकेका, आफ्नो सिद्धान्तमा सगरमाथा झैं सदैव अडिग र अटल रहने क्रान्तिद्रष्टा, राष्ट्रवादी, राष्ट्रियता र प्रजातन्त्रप्रति सदैव आस्थावान रहेका वीपीले जीवनभर सङ्घर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिएर स्थापित गरेको बाटो वास्तवमा प्रजातान्त्रिक समाजवादको बाटो हो । पूँजीवादी राज्यव्यवस्थाका कडा आलोचक वीपी पूँजीवादी व्यवस्थालाई तीव्र उपभोक्तावादी, अनैतिक, अदूरदर्शी, क्रुर र शोषणमा आधारित मान्थे । कांग्रेस सामन्तवाद, पूँजीवाद र साम्यवादको पक्षपाती नभएर प्रजातान्त्रिक समाजवादी हो भन्ने उनको मत थियो । आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको खाँचो हो भन्नेमा वीपी स्पष्ट थिए । हुन त नेपाली कांग्रेसले लिएका आदर्श, सिद्धान्त, विचार, नीति र कार्यक्रमका विषयमा आफ्ना सदस्य, शुभेच्छुक र नेपाली कांग्रेसका विषयमा जान्न इच्छुक सम्पूर्ण जनतालाई सुसूचित कमै गरिएको यथार्थ छ ।

वि.सं. २०१२ मा बीरगञ्जमा सम्पन्न पार्टीको छैटौ महाधिवेशनले प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिबद्धता विधिवतरूपमा घोषणा गरेको थियो । वीपीलाई आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त हो र यो प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने दृढ विश्वास थियो । तर, आज नेपाली कांग्रेस वीपीको परिकल्पना गरेको समाजवादी बाटोमा छ ? कांग्रेस अहिले प्रजातान्त्रिक समाजवाद र बजारमुखी नवउदारवादी पूँजीवादलाई पर्यायको रूपमा लिँदैछ । कांग्रेस समाजवादी बाटो त्यागेर जनताले सहजै बुझ्ने गरी पूँजीवादको पक्षपोषण गरिरहेछ । प्रजातन्त्र र राष्ट्रियताका लागि लडेका कोइराला राजनीतिमा समाजवादी र व्यवहारवादी थिए । बीपीले कुनै लोभलालचमा अल्मलिएनन् । उनले लामो समय जेल बसे, तर आफ्नो सिद्धान्त त्यागेनन् । तर नेकाको नेतृत्व सैद्धान्तिक रूपमा किंकर्तव्यविमुढताको शिकार भएको छ । विपक्षी दलहरूको विकल्पमा आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, वैदेशिक लगायतका क्षेत्रहरूमा प्रजातान्त्रिक समाजवादी कार्यनीति, कार्यक्रमिक ढाँचा र जनपक्षीय कार्यशैली कस्तो हुन्छ भन्नेमा चिन्तनमनन हुनुपर्ने हो ।

माक्र्स, लेनिन, माओ लगायतले अघि सारेको र विकसित गरेको साम्यवादी दर्शनका वीपी कोइराला विरोधी थिए । वीपीमा साम्यवादीहरू प्रति विश्वास थिएन र उनी कार्लमाक्र्सले प्रतिपादन गरेको वैज्ञानिक समाजवादका पक्षपाती थिएनन् । उनको नेपालका कम्युनिस्टप्रति भरोसायुक्त दृष्टिकोण थिएन । लाग्छ, दर्जनौं चिरामा विभक्त, रुस–भारत–चीनप्रति अलग अलग ढंगले रुझान राख्ने, कम्युनिस्ट पोथामा सम्पूर्ण जीवन देख्ने कम्युनिस्ट नेताहरूका कारण वीपीमा उनीहरूप्रति वितृष्णा भएको हुन सक्छ । तर, उनी लोकतन्त्रवादी र राष्ट्रवादी निश्चय नै थिए । इन्दिरा गान्धीले भारतमा बसेर नेपाल सरकारबिरुद्ध कामकार्वाही गर्न नदिएपछि आफू र आफ्ना साथीहरू पुराणमा वर्णित दैत्य र गहिरो समुद्रको बीचमा परेको महसुस गरी राक्षसको मुखमा परेर मर्नुभन्दा गहिरो सागररूपी आफ्नै मातृभूमिमा अधिनायकवादी शासकहरूको पञ्जामा परेर मर्नु निको सम्झेर २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्के । स्वदेश फर्कंदा वीपीले देश सङ्कटमा परेको र संकट चर्किदै गएर राष्ट्रिय अस्तित्व खतरामा परेको बताएका थिए ।

विदेशी तŒवहरू कुचक्र चलाएर नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन चाहन्छन् र देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलबाला भएको विचार राख्ने वीपीको राष्ट्रियता र प्रजातन्त्र दुबैलाई सँगै लैजानु पर्ने मत यतिका वर्षपछि पनि व्यवहारमा सही भएको हामी देख्न सक्छौं । उनले भने झैं देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्तिको बढोत्तरी भएको छ भने प्रायः सबै राजनीतिक शक्तिहरू कुनै न कुनै रूपमा विदेशी शक्तिबाट प्रभावित छन् । मेलमिलाप नीति लिई नेपाल फर्केपछि पञ्चायती शासकहरूले दर्जनौं मुद्दाहरू लगाएर राजद्रोहको आरोपमा मृत्युदण्ड दिने तयारी गरिँदा पनि वीपी कहिल्यै लत्रेनन् । आज नेपाली कांग्रेसले आफूले हिँडेको बाटो निजीकरण र पूँजीवादी बाटो प्रजातान्त्रिक समाजवादी बाटो हो कि, सामन्ती र नाङ्गो पूँजीवादी बाटो हो भन्नेमा प्रष्टता आउन जरुरी छ ।

वीपी संसदीय व्यवस्थाका हिमायती थिए । अझ भन्ने हो भने संवैधानिक राजतन्त्रात्मक राज्यव्यवस्थाका उनी पक्षधर थिए । उनी स्वार्थ र त्रासले एक दलीय अधिनायकवादी शासकहरूको पक्षमा कहिल्यै उभिएनन् । उनले लोकतन्त्रका लागि धेरै पटक आफ्नो जीवनको जोखिम उठाएका थिए । २०१५ सालमा सम्पन्न नेपालको पहिलो आम निर्वाचनबाट २०१६ साल जेठमा प्रधानमन्त्री बनेका वीपीले ग्रामीण अर्थतन्त्रमुखी विकासका कार्यक्रमहरूसहित क्रान्तिकारी बाटोमा अघि बढ्न कोशिस गर्दा र आफ्नो दुई तिहाइ बहुमत भएकाले संसदबाट जनपक्षीय भूमिसुधार कानून पारित गरेपछि राजा महेन्द्रबाट बहुदलीय लोकतन्त्रको घाँटी निमोठी २०१७ साल पुस १ गते बहुदलीय प्रजातन्त्र खोसी एकदलीय निरङ्कुशताको वीजारोपण गरी वीपीलाई जेल हालियो ।

वीपी राजासँग झुकेनन्, बरु उनले एक महान प्रजातन्त्रवादी नेताको रूपमा एकान्त जेल रोजे र लोकतन्त्रको खरानी माथि उभिएको अधिनायकवादको विपक्षमा उनी सदैव खडा भए । मुलुकको प्रजातान्त्रिकरण र आधुनिकीकरणको वीपीको सपना कांग्रेसका लागि मुख्य मार्गदर्शन हुन सक्छ । नेपाली कांग्रेसले वीपी कोइरालाले दिशानिर्देश गरेका समाजवादी, जनपक्षीय र जनहितकारी नीति र कार्यक्रमलाई समयसापेक्ष परिभाषित र पुनर्मूल्याङ्कन गर्न सक्नुपर्छ । कम्युनिस्टहरू माथि अधिनायकवादी आरोप थोपरेर प्रजातन्त्रको लागि आफू सँगसँगै संघर्ष गर्ने, पटक–पटकका जनान्दोलनमा सरिक हुने, १७ वर्षभन्दा बढी समय जेल बस्ने, तानाशाही व्यवस्थाबाट सबैभन्दा बढी मारिने सहयात्री कम्युनिस्टहरूलाई अधिनायकवादी, तानाशाही, लोकतन्त्रको हत्या गर्ने भनेर जनतामा असन्तोष सृजना गर्न नेपाली कांग्रेसले मिल्दैन । अन्य देशका कम्युनिस्टभन्दा फरक नेपालका कम्युनिस्ट लोकतान्त्रिक छन् । लोकतन्त्रको स्थापना, विकास र मूल प्रवाहीकरणमा कम्युनिस्टहरूको योगदानको हिस्सा छ, तसर्थ नेपाली कांग्रेसले आफूलाई प्रजातन्त्रवादी भन्ने र कम्युनिस्टहरूलाई अधिनायकवादी भनेर आमसञ्चारका माध्यम, सामाजिक सञ्जाल र आफ्ना प्रशिक्षणहरूमा भन्नुको खासै अर्थ छैन ।

हो, वीपी कम्युनिस्ट प्रति अनुदार थिए । हुनसक्छ, समयको दबावले उनमा त्यस्तो सोच विकास भएको होला । उनी भन्थे–कम्युनिस्टहरू सदैव रोटीलाई प्राथमिकता दिन्छन् । तर, मानिस त रोटीले मात्र बाँच्न सक्दैन । मानिसलाई त रोटीका साथसाथै स्वतन्त्रता पनि चाहन्छ । उनी पूँजीवादी राज्यव्यवस्थाका पनि कडा आलोचक थिए भन्ने तथ्य राख्दा आजका वीपीका अनुयायी र विरोधीहरू पत्याउँदैनन् । पूँजीवादी व्यवस्था तीव्र उपभोक्तावादी हुने भएकाले अनैतिक, अदूरदर्शी, क्रुर र शोषणमा आधारित हुन्छ भन्ने उनको धारणा थियो । उनको भनाइमा नेपाली कांग्रेस सामन्तवाद, पूँजीवाद र साम्यवाद कुनैको पनि पक्षपोषण गर्न सक्दैन, यो त प्रजातान्त्रिक समाजवादबाट निर्देशित हुने राजनीतिक शक्ति हो । समाजवादको भविष्य उज्ज्वल छ भन्नेमा वीपी पूर्णरुपमा विश्वस्त थिए । वीपी कोइराला अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गरेका पहिलो नेपाली समाजवादी नेता थिए । नेपालको आधुनिकीकरण र प्रजातान्त्रिकरणका लागि उनको स्पष्ट दृष्टिकोण र विचार थियो ।

नेपाली कांग्रेसको नीति स्थापनाकालदेखि नै समाजवादी राजनीतिक दर्शनबाट प्रेरित रहेको उसको दावी छ । दोस्रो विश्व युद्धपछि विश्व परिवेशमा भएका राजनीतिक घटनाक्रम, औपनिवेशिक शासनबाट मुक्त तेस्रो विश्वका विभिन्न मुलुकहरूमा विकसित समकालीन अन्य राजनीतिक मूल्य–मान्यता आदिबाट प्रभावित नेपाली कांग्रेसले राजनीतिक स्वतन्त्रता, आर्थिक न्याय, समाज कल्याण एवम् समानतामा आधारित दर्शनलाई आफ्नो मूल सिद्धान्तको रुपमा अपनाएको थियो । २००७ सालपश्चात आफ्नो पार्टी सत्तामा रहेको छोटो अवधिमा अपनाइएका कतिपय नीति कार्यक्रमहरूमा समाजवादी दर्शन प्रतिबिम्बित थिए । नेपाली राजनीतिक इतिहासमा वीपीको ठूलो योगदान छ । उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति, अर्थशास्त्र, समाजशास्त्र र साहित्यको व्यापक अध्ययन गरेका अध्ययनशील नेता थिए ।

सारमा भन्ने हो भने राष्ट्रप्रति समर्पित रहेर लोकतान्त्रिक व्यवस्थाका पक्षमा चट्टानी दृढतासहित उभिने उनका असल र अनुशरणीय गुणबाट सिक्न सके आजको हाम्रो समाज, मुलुक र हरेक नागरिकको जीवनमा निश्चय नै सकारात्मक परिवर्तन आउने थियो भनी विश्वास गर्न सकिन्छ । वीपी कोइरालाका सोच र विचार आधुनिक नेपाल निर्माणका लागि मार्गदर्शन हुन सक्छन्, तर अहिलेको नेकाको नेतृत्व र कार्यकर्ता पंक्तिले यो सच्चाइलाई ग्रहण गर्ने र आफूलाई बदल्ने, समाज बदल्ने र समाजवादी नेपाल निर्माण गर्ने बीपीका सोचले उनको जीवनका विविध आयामको निर्माण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here