उच्च नैतिकताको खाँचो

0
17

भिजिट भिसाको नाममा अनुचित लाभ लिएको घटनाले नेपालको राजनीतिमा तरंग ल्याएको छ । गणतन्त्र दिवसको पूर्व सन्ध्यामा गृहमन्त्रालय मातहतको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल अध्यागमन कार्यालयका प्रमुखसहितका कर्मचारी अनुसन्धानको घेरामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई बुधबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अख्तियार स्रोतले गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको समेत शंकास्पद भूमिका देखिएको जनाएको छ । देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्ने जिम्मेवारीमा रहेको मन्त्रालयका पदाधिकारी नै भिजिट भिसाको आवरणमा मानव तस्करीमा मुछिनु लज्जाको विषय हो ।

सिंहदरवार जल्दा प्रधानमन्त्रीले, रंगशालामा भागदौड हुँदा नागरिकको ज्यान जाँदा खेलकुद मन्त्रीले, वाणीमा त्रुटि हुँदा मन्त्री र अनियमितताको आरोपमा अन्य मन्त्रीले राजीनामा दिएर नैतिकता देखाएको उदाहरण पनि छन् । वर्तमान गृहमन्त्रीले पनि सहकारी प्रकरणमा नाम जोडिएको भन्दै तत्कालीन गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर प्रतिपक्षी सांसदका रुपमा संसदमा बोलेकै हुन् । यी सबै उदाहरण र तथ्यले पनि वर्तमान गृहमन्त्रीले नैतिकता देखाउन चुक्नु हुँदैन । उनकै दलका प्रभावशाली नेता डा. शेखर कोइरालाले समेत गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सार्वजनिक रुपमै सुझाव पनि दिएका छन् ।

त्यसो त पुरानो विद्यालयको पाठ्यपुस्तकमा एउटा वाक्य पढ्नुपथ्र्यो– ‘पण्डित्याँइ अरुलाई देखाउन काम लाग्छ न कि आफूलाई’ । हामीकहाँ नैतिकता सदाचार र अनुशासनका कुरा आफूलाई प्रयोग भएको धेरै उदाहरण छैनन् पनि । त्यसैले भिजिट भिसा प्रकरण पनि निष्कर्षमा पुगिहाले तल्ला तहका कर्मचारी दण्डित हुन सक्छन् । तर, जनस्तरबाट भने गृहका पदाधिकारीहरुलाई जिम्मेवारीबाट मुक्त गर्नुपर्छ भन्ने माग व्यापक भएको छ । जिम्मेवार व्यक्तिहरु नै यसअघि सुन, नक्कली शरणार्थी, ओम्नी, सुडान, व्वाइडबडी, बालुवाटार लगायतमा मुछिएका हुन् । तीनको निरुपण अझै भइसकेको छैन ।

भनिन्छ– नखाएको विष लाग्दैन । त्यसैले जो दोषी छैन उसले नैतिक र जवाफदेही हुन पनि मार्ग प्रशस्त गर्नुपर्छ । त्यसो भए आमजनताको नजरमा ऊ नीतिवान र जिम्मेवार प्रमाणित हुन्छ । यसको साटो सार्वजनिक अभिव्यक्ति दिएर आफूबिरुद्ध नियोजित र षडयन्त्रपूर्वक झुटो प्रचारबाजी भनेकै भरमा जनताले विश्वास गर्दैनन् । भिजिट भिसाको आवरणमा विगतमा पनि कुरा उठेकै हो । केही पक्राउ पनि परे, तर त्यसको निरुपण अझै भएको छैन । यस्तोमा अख्तियारले अनुसन्धानलाई तीव्रता दिएर विवादको टुंगो लगाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here