बिनोद सापकोटा,
झापा।
पोखरामा जारी राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ महाधिवेशनमा महिला सचिव पदका लागि झापा शिवशताक्षीकी निशा लिम्बूको उम्मेदवारीले यतिबेला सबैको ध्यान पोखरामा तानिएको छ । सामान्य परिवारमा जन्मिएकी, अविवाहित र मानविकी संकायमा स्नातकोत्तर गरेकी लिम्बु विगत एक दशकभन्दा लामो समयदेखि पार्टी संगठनमा समर्पित हुँदै आएकी छिन्। विद्यार्थी राजनीति हुँदै पार्टीको केन्द्रीय संरचनासम्मको उनको यात्रा अहिले केन्द्रीय नेतृत्वमा निर्णायक भूमिकाको सम्भावनासहित प्रस्तुत भएको छ।
निशा लिम्बू राष्ट्रिय युवा सङ्घको केन्द्रीय सदस्य हुँदै महिला विभाग प्रमुखसमेत भइसकेकी छन्। संगठन निर्माण, कार्यकर्ता परिचालन र विचारको स्पष्टतामा उनी सशक्त नेतृका रूपमा चिनिएकी छन्।
राष्ट्रिय युवा सङ्घ झापाका अध्यक्ष फुर्वा लामा भन्छन्, “निशा लिम्बू कोशी प्रदेशमा महिला नेतृत्वको सशक्त पहिचान हुन्। उनीसँग संगठन सञ्चालन गर्ने क्षमता, विचार राख्ने साहस र जुझारु कार्यशैली छ, जसले उनलाई युवामाझ लोकप्रिय बनाएको छ।”
नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य दीपक कार्की पनि लिम्बुको राजनीतिक यात्राबाट प्रभावित छन्। “निशाले संगठनमा चुपचाप तर गहिरो योगदान दिएकी छन्,” कार्की भन्छन्, “झैझगडा नगरी, तर ठोस काम गरेर अघि बढ्ने नेतृको रूपमा उनको विशेष स्थान छ। यस्तो खालका युवा नेतृत्व संगठनको भविष्यका लागि सशक्त आधार हुन्।”
महाधिवेशनको सन्दर्भमा महिला सहभागिता सामान्यतया प्रतिनिधित्वको नाममा सीमित हुने गरेको आलोचना भइरहँदा, निशा लिम्बूको उम्मेदवारीले त्यो प्रवृत्तिमा वास्तविक परिवर्तनको संकेत दिएको छ। उनको निर्भीक व्यवहार, नेतृत्व क्षमताका साथै स्थानीयस्तरमा राजनीतिक कसरतले संगठनभित्र महिलाको उपस्थितिलाई नयाँ अर्थ दिने अपेक्षा गरिएको छ।
महाधिवेशनको नतिजा जे आए पनि, निशा लिम्बूको उम्मेदवारीले राष्ट्रिय युवा सङ्घभित्र महिला नेतृत्वको सम्भावना, क्षेत्रीय प्रभाव र योग्यता–आधारित मूल्यांकनप्रति गहिरो बहस सिर्जना गरेको छ। यो बहस निकट भविष्यमा पार्टी नेतृत्व चयनको ढाँचासमेत बदल्न सक्ने सम्भावना बोकेको देखिन्छ।
निशा लिम्बूसँग स्थानीय तह मात्र होइन, प्रदेश र सङ्घमा नै उनको राजनीतिक कर्म प्रति प्रभाव परेको देखिन्छ । राजनीतिमा प्रवेश गरेदेखि उनले चालेका हरेक कदम र बनाएका योजनाले नेकपा एमालेलाई नयाँ उचाइमा पुर्याएको छ। उनका समकक्षीहरू भन्छन्, “निशाले बोलेभन्दा बढी काम गरेर पार्टीको सांगठानिक विस्तार र जनसम्पर्कमा उल्लेखनीय योगदान पुर्याएकी छन्।” यो असर अब महाधिवेशनको नेतृत्व चयनमा पनि महसुस हुने अपेक्षा गरिएको छ।