बिनोद सापकोटा
झापा ।
पोखरामा सम्पन्न राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ महाधिवेशनमा केन्द्रीय सचिव पदमा झापा शिवशताक्षी नगरपालिका–४ की निशा लिम्बू विजयी बनेकी छन्।
कोशी प्रदेश हुँदै केन्द्रसम्मको प्रभावशाली राजनीतिक यात्रा तय गरेकी लिम्बुको यो विजयसँगै एमालेको युवा संगठनभित्र महिला नेतृत्वको उपस्थिति अझ मजबुत बनेको छ।
सामान्य परिवारमा जन्मिएकी, अविवाहित र मानविकी संकायमा स्नातकोत्तर गरेकी निशा लिम्बु विगत एक दशकभन्दा बढी समयदेखि विद्यार्थी राजनीति हुँदै पार्टीको सांगठनिक वृत्तमा समर्पित रहिआएकी छन्। राष्ट्रिय युवा सङ्घ नेपालकी केन्द्रीय सदस्य, महिला विभाग प्रमुख जस्ता जिम्मेवारी सम्हालिसकेकी लिम्बुले केन्द्रीय नेतृत्वमा निर्णायक भूमिकाको सम्भावना बोकेर उम्मेदवारी दिएकी थिइन्।
महाधिवेशनमा मङ्गलबार बिहानदेखि भएको मतदान प्रक्रियामा उनले आफ्नो समकालीन प्रतिस्पर्धीलाई स्पष्ट अन्तरले पछि पार्दै सचिव पदमा जित हासिल गरिन्। प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाबाट उम्मेदवार बनेकी लिम्बुले थेवेको समूहबाट चुनाव लडेकी थिइन्। थेवेको समूहबाट अधिकांश उम्मेदवार विजयी भएका छन्, जसमा उनी पनि पर्छिन्।
राष्ट्रिय युवा संघ झापाका अध्यक्ष फुर्वा लामाले निशा कोशी प्रदेशमा महिला नेतृत्वको सशक्त पहिचान भएको बताए । नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य दीपक कार्की उनको कामबाट प्रभावित भएको बताइएको छ । महाधिवेशनको सन्दर्भमा महिला सहभागिता प्रायः प्रतिनिधित्वको सीमिततामा बाँधिने परिपाटीबीच निशाको स्पष्ट उम्मेदवारी र जीतले त्यो प्रवृत्तिमा सकारात्मक धक्का दिएको छ।
निशाको विजयले राष्ट्रिय युवा संघभित्र महिला नेतृत्वको सम्भावना र योग्यता–आधारित मूल्याङ्कनप्रति गहिरो बहस पनि जन्माएको छ। यस्तो बहसले निकट भविष्यमा पार्टी नेतृत्व छनोटको ढाँचा, प्रतिनिधित्वको गुणस्तर र संगठनको समावेशी रूपान्तरणतर्फ पनि मार्ग खोल्ने अपेक्षा गरिएको छ। निशाको जीत यो नयाँ पुस्ताको आवाज भएको नेकपा एमाले शिवसताक्षी नगरका पार्टी इन्चार्ज चन्द्रकुमार शेर्माले बताए ।
मंगलबार भएको निर्वाचनमा देशभरबाट पोखरा आएका १ हजार ७६५ जनामध्ये १ हजार ४०४ जनाले मतदान गरेका थिए। इलेक्ट्रिक भोटिङ मेसिनमार्फत भएको निर्वाचनमा ९ वटा क्षेत्र र ४० वटा बुथ बनाइएको थियो ।