मेचीनगरमा प्रविधियुक्त ‘योजना बैंक’ प्रणालीको तयारी,वडास्तरीय छलफल

0
19

मेचीनगर, मेचीनगर नगरपालिकाले सूचना प्रविधिमा आधारित प्रणाली तयार गरेर योजना बैंक बनाउन लागि परेको छ ।
तीन वर्षे मध्येकालिन खर्च समावेश गरिने गरी डिजिटल प्रणाली मार्फत योजना बैंक बनाउन लागि परेको हो ।
त्यसका लागि नगरपालिकाले वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठी सुरु गरेको छ । आइतबार वडा नम्बर १, २ र ३ नम्बर वडामा वडास्तरीय आयोजना बैंक तर्जुमा छलफल भएको छ ।
तीन वटै वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठीका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले लोकतान्त्रिक व्यवस्थामा शुसासनको प्रत्यभूति दिने गरी प्रविधियुक्त प्रणालीमा जाने तयारी गरिएको बताएका छन् ।
नगरपालिकाका जुन सुकै योजनाहरु जनताले थाहा पाउने गरी प्रविधियुक्त बनाउन टोल विकास, विभिन्न संघ–संस्था लगायतबाट माग गरिएका योजनाहरु फार्म भरेर योजना बैंकको प्रणालीमा हालेर प्राथमिकताका आधार छनोट हुनेछ ।
७२५ वटै टोल विकास, विभिन्न संघ–संस्था लगायतबाट फार्म भरेर आएका योजनाहरु वडा कार्यालयको प्रविधिमा राखेर नगरपालिका कार्यालयको योजना बैंकमा समावेश हुन्छ ।
प्राथमिकताका आधारमा योजनाहरुलाई छनोट गरेर आगामी आर्थिक वर्ष २०८२÷८३, २०८३÷८४ र २०८४÷८५ का लागि योजना बैंकमा राखिनेछ । त्यसका लागि आयोजना व्यवस्थापन प्रणालीको विकास गरिएको छ । उक्त प्रविधिलाई आगामी साउन महिनादेखि सुरु गरिने कार्यालयको तयारी रहेको छ ।
त्यसैगरी, अन्य कार्यालयबाट दिइने ३४ वटा सिफारिसहरु पनि डिजिटल प्रविधिमार्फत हुनेछ । अब नगरवासीले घरैमा बसेर मोवाइल एपमार्फत सबै कुराहरु हेर्न मिल्ने गरिको प्रविधि विकास गरिने भएको छ ।
प्रभाव, पहुँच र विभिन्न तरिकाबाट मागिने योजनाहरुको अन्त्य गरेर अब प्रक्रियामार्फत प्रणालीमा गएर बार्षिक योजनाहरु क्रमागत तरिकाले प्राथमिकताका आधारमा त्यसको कार्यान्वयन हुँदै जानेछ ।
पूर्वाधार र गैर पूर्वाधारका योजनाहरु दुई प्रकारका फार्ममा भरिसकेपछि योजना मोनिटरिङ प्रणाली जस्तै तीन वर्षे मध्येकालिन खर्च समावेश हुने गरी योजना बैंकमा राखिने छ ।
चुनावका बेला शुसासनको चर्को आवाज उठाएका नगरप्रमुख बुढाथोकीले अब यसलाई कार्यान्वयनको दिशामा लाने जमर्को गरेका छन् ।
उनका अनुसार पहिला राणाशासन वा राजाको पालामा हुप्रबाट चल्ने प्रथाको अब विस्तारै अन्त्य गर्दै लोकतान्त्रिक पद्वतीमा कानून र विधिबाट चलाउन प्रविधियुक्त प्रणालीको खाँचो भएको छ । त्यो नै शुसासनको विकास हो भन्ने बुझेको उनको भनाई छ ।
नगरपालिकाले आयोजना बैंक तर्जुमा २०८१ कानून समेत पारित गरिसकेको छ ।
मेचीनगर–१ नम्बर वडा कार्यालयमा आयोजित वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठीको अध्यक्षता रामकुमार राईले र सञ्चालन वडासचिव विश्वदिप मुण्डाले गरेका थिए ।
त्यस्तै मेचीनगर–२ नम्बर वडाको गोष्ठीको अध्यक्षता दिपक बरालले र सञ्चालन नगरप्रमुखको स्वकीय सचिव आशिष पौडेलले गरेका थिए ।
यसैगरी मेचीनगर–३ नम्बर वडाको गोष्ठीको अध्यक्षता हर्कबहादुर वस्नेतले, स्वागत वडा सदस्य गीतादेवी नेपालले र सञ्चालन वडा सदस्य खेमकुमार सुब्बाले गरेका थिए ।
तीन वटै गोष्ठीको प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गोष्ठीको औचित्यमाथि प्रकाश पारेका थिए भने प्रविधिको प्राविधिक विषयमा सूचना प्रविधि अधिकृत असोक भेटवालले सहजीकरण गरेका थिए ।
सोमबार वडा नम्बर ४, ५ र ६ नम्बर वडामा, मंगलबार वडा नम्बर ७, ८ र ९ नम्बर वडामा, बुधबार वडा नम्बर १०, ११ र १२ नम्बर वडामा तथा विहीबार वडा नम्बर १३, १४ र १५ नम्बर वडामा वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठी हुनेछ ।
शुक्रबार राजनीतिक दल, जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख लगायतसँग आयोजना बैंक तर्जुमा सम्बन्धी गोष्ठी हुने कार्यालयले जनाएका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here