नव किरणले गर्यो वातावरण दिवसमा बजार सरसफाई

0
298

शिवगञ्ज,  विश्व वातावरण दिवसमा नविकरण विद्यामन्दिरका विद्यार्थीहरूद्वारा प्लास्टिक प्रदूषणविरुद्ध सशक्त सन्देश दिएका छन् ।

शिवगञ्ज बजार सरसफाइ, कोणसभा र वृक्षरोपणमार्फत उनीहरूले जनचेतनामूलक अभियान सञ्चालन गर्दै विश्व वातावरण दिवस २०२५ को सशस्त्र सन्देश दिएका हुन्। विश्व वातावरण दिवस २०२५ को अवसरमा झापाको शिवशताक्षी नगरपालिका–६, शिवगञ्जस्थित नविकरण विद्यामन्दिरले “प्लास्टिक प्रदूषणलाई हराउनुहोस्” भन्ने विश्वव्यापी नारालाई आत्मसात गर्दै वातावरणीय संरक्षणका लागि विशेष कार्यक्रमहरू आयोजना गरेको छ।

विद्यालयले वातावरणप्रति जागरुकता फैलाउने उद्देश्यले आयोजना गरेको दिवसमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयवासीको उल्लेखनीय सहभागिता रह्यो। दिउँसो १ बजे विद्यालयबाट सुरु भएको र्याली शिवगञ्ज बजार, इलाका प्रहरी कार्यालय शिवगञ्ज र स्थानीय सब्जी मण्डी हुँदै अघि बढ्यो। यस क्रममा सहभागीहरूले सार्वजनिक स्थानहरूमा फालिएका प्लास्टिकजन्य फोहोर संकलन गर्दै सरसफाइ कार्यमा सक्रियता देखाए। करिब २५० जना विद्यार्थीहरूको टोलीमा शिक्षक र अभिभावकसमेत सहभागी थिए। उनीहरूले केवल सफाइमा नभई जनचेतनामूलक सन्देशहरूमार्फत स्थानीयहरूलाई प्लास्टिकको उचित प्रयोग र व्यवस्थापनबारे आग्रहसमेत गरेका थिए।

शिवगञ्ज बजारको एक छेउमा आयोजित कोणसभामा विद्यार्थी आदित्य अधिकारी, सृष्टि खड्का, सिम्रन खातुन, कामना शिवाकोटी, मनिषा बास्कोटा र हरिया ताजपुरियाले प्रभावशाली मन्तव्य प्रस्तुत गरे। उनीहरूले प्लास्टिकजन्य वस्तुको प्रयोगले वातावरणमा पार्ने नकारात्मक असरबारे तथ्यपरक तर्क राखे। “प्लास्टिकबाट छाला र श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या आउन सक्छ,” विद्यार्थीहरूले खुल्ला चेतावनी दिए। प्लास्टिक प्रयोग नगर्न सकिए राम्रो, तर प्रयोग गरेपछि त्यसको व्यवस्थापन व्यक्तिगत जिम्मेवारी हो भन्ने सन्देश पनि उनीहरूले दिएका थिए।

मन्तव्यहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रस्तुत गरिए । जसले विद्यार्थीहरूको भाषिक दक्षता र वातावरणप्रतिको उनीहरूको अभिव्यक्ति सशक्त आवाज को रूपमा प्रस्तुत हुन्थ्यो। कार्यक्रमको अन्त्यमा विद्यालय परिसरमा विभिन्न जातका वृक्षहरूको रोपणसमेत गरिएको थियो। वृक्षरोपण गर्दै विद्यार्थीहरूले ‘हरेक रूख एक जीवन’ भन्ने सन्देशलाई आत्मसात गरे। विद्यालयका संस्थापक प्रिन्सिपल सुमन काफ्लेले यस्तो कार्यक्रमले विद्यार्थीमा व्यवहारिक शिक्षा र सामाजिक उत्तरदायित्वको भावना विकास हुने विश्वास व्यक्त गरे। यस दिवसले केवल एकदिनको औपचारिकता नभएर भविष्यका नागरिकमा वातावरणप्रतिको गम्भीर सोचको बीजारोपण गरेको छ। नविकरण विद्यामन्दिरका विद्यार्थीहरूले देखाएको सक्रियता अन्य विद्यालय तथा संस्थाहरूका लागि पनि प्रेरणा बन्ने स्थानीय अभिभावकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here