बिराटनगर,
मोरङको सुन्दरहरैचा – ६ मा रहेको पूर्वाञ्चल एकेडेमीले अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा “प्लास्टिक प्रदूषण अन्त्य गराैँ” भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै विशेष वातावरणीय कार्यक्रम सम्पन्न गरेको छ।
वातावरण संरक्षणका लागि विद्यालयले हसिना हिमसर क्षेत्रमा वृक्षारोपण र विद्यालय परिसरमा सफाइ अभियान सञ्चालन गर्दै व्यवहारिक रूपमै सचेतना अभिवृद्धि गरेको हो।
कार्यक्रमको सुरुवात विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा हसिना हिमसर क्षेत्रको हरियाली प्रवर्द्धनका लागि वृक्षारोपणबाट गरिएको थियो। विभिन्न जातका बिरुवाहरू रोपेर पर्यावरणीय सन्तुलन कायम राख्ने सन्देश दिइएको थियो।
साथसाथै, विद्यालयको प्रांगण, कक्षाकोठा, खेलमैदान र वरपरको क्षेत्र सरसफाइ गर्दै प्लास्टिकजन्य फोहोरको व्यवस्थापनमा विशेष ध्यान दिइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एकेडेमीका प्रेन्सिपल दिपेन राईले प्लास्टिकको प्रयोग जति सजिलो देखिन्छ, यसको असर त्यत्तिकै गम्भीर हुने बताउदै अबको पुस्तालाई सुरक्षित वातावरण दिन हामी आजैबाट सजग हुनुपर्ने उल्लेख गरे। प्लास्टिकको प्रयोग घटाउनु र त्यसको सही व्यवस्थापन गर्नु हामी सबैको जिम्मेवारी हो प्रेन्सिपल राईको भनाई थियो।
विद्यार्थीहरूले “प्लास्टिक हटाऔँ, प्रकृति बचाऔँ”, “स्वच्छ वातावरण, स्वस्थ जीवन”, “हामी बाटो बनाउँछौँ, फोहोर होइन” जस्ता नारा लेखिएका प्लेकार्डसहित र्यालीमा भाग लिए। कार्यक्रममा पोस्टर प्रदर्शनी, कविता वाचन, वातावरणीय विषयमा वक्तृत्वकला तथा लघु नाटकसमेत प्रस्तुत गरिएको थियो, जसले वातावरणप्रतिको समझदारीमा अझ गहिरो प्रभाव पारेको थियो।
एकेडेमीले वातावरणीय शिक्षा केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक अभ्यासमार्फत विद्यार्थीमा जिम्मेवार नागरिकको भावना विकास गराउँदै आएको छ। कार्यक्रमले “प्लास्टिक प्रदूषण अन्त्य गराैँ” भन्ने नारालाई व्यवहारमा उतार्ने ठोस पहल प्रस्तुत गरेको छ।
विद्यालयले यस्ता अभियानलाई भविष्यमा अझ व्यापक रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रमको समापन गरेको छ। वातावरणप्रति प्रेम र जिम्मेवारी बोकेको शिक्षालयका रूपमा एकेडेमीको पहलकदमीले सम्पूर्ण शैक्षिक समुदायमा प्रेरणा दिएको एकेडेमीले जनाएको छ।