अर्जुनधारा,

चालु आर्थिक वर्ष २०८१/०८२देखि शुरु गरेको मौरी प्रबद्र्धन कार्यक्रम अन्र्तगत उपभोक्तालाई निःशुल्क मौरीसहितको घार वितरण गर्ने कार्यलाई झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले निरन्तरता दिएको छ ।
गत वैशाख ३१ गते ९० जना उपभोक्तालाई मौरीसहितको घार वितरण गरेको समूहले मानव वन्यजन्तु द्वन्द न्यूनिकरण गरी आयमुलक कार्यक्रममार्फत् उपभोक्ताहरुको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले समूहले उक्त कार्यक्रम शुरु गरेको हो ।
त्यसैगरी समूहसँगै अर्जुनधारा नगरपालिका कृषि विकास शाखा र मानव–हात्ती द्वन्द न्यूनिकरण समितिको संयुक्त लगानीमा आइतबार एक कार्यक्रमकोबीच थप ५० जना उपभोक्तालाई मौरीसहितको घार वितरण गरेको हो ।

समूहका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले कार्यक्रमका लागि छनौट भएका उपभोक्तालाई मौरीका घारहरु वितरण गरेका थिए ।
सोही कार्यक्रममा समूहले परम्परागत खेती प्रणलीको प्रबद्र्धन गर्दै कृषिको माध्यमबाट गरिबी न्यूनिकरण गर्ने उद्देश्यले उपभोक्ता क्षेत्रका ६३ जना कृषकलाई निःशुल्क एक थान हलो, जुवा र हरिस वितरण गरेको छ ।
कार्यक्रममा कनकाई सब डिभिजन कार्यालय सुरुङ्गाका प्रमुख सुरेशकुमार खनाल, अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठ, मानव–हात्ती द्वन्द न्यूनिकरण समितिका अध्यक्ष ढुण्डीराज गौतमलगायतले कार्यक्रमको विषयमा आफ्नो धारणा राखेका थिए ।
समूहका उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव उर्मिला कटुवालले गरेकी थिइन् ।