नेपालको पहिलो तथा ऐतिहासिक इलाम चिया बगान अहिले उजाड बन्दै गएपछि बगान र इतिहास जोगाउन भन्दै स्थानीय सरकारले चिया रोपण गर्न थालेको छ । बहुदलीय व्यवस्थाको शासनकालमा वि.सं. २०५७ सालमा सरकारले इलामका चार र झापाका तीन गरी जम्मा सात वाटा बगान निजी क्षेत्रको त्रिवेणी संघाइ समूहलाई पचास वर्षका लागि लिजमा दिएको थियो । त्यसबेलादेखि सरकारी स्तरबाट सञ्चालित कैयौं उद्योगधन्दाहरु बन्द गरिए, देशमा रोजगारीका क्षेत्र खुम्चिए र परनिर्भरता क्रमशः बढ्दै गयो । त्यही क्रममा लिजमा दिइएका चिया बगानहरु मध्ये वि.सं. १९२० मा चीनबाट उपहारमा ल्याएका चियाका बिरुवा इलामको डाँडामा रोपेर चिया बगानको इतिहास कायम भएको थियो ।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई चीन भ्रमणका क्रममा पाएको चियाको बिरुवा इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापालाई दिएका थिए । थापाले ती बिरुवा इलामको माटोमा रोपेका थिए । तिनै बिरुवा हुर्किएर पूर्वी पहाडको इलामका उजाड लाग्ने पाखा पखेरा हरियाली भए । त्यही प्राकृतिक सौन्दर्यले वर्षौंदेखि पर्यटकहरुलाई लोभ्याइरहेको छ र आन्तरिक पर्यटनको प्रमुख गन्तव्य नै बनाएको थियो । तदन्तर विस्तार हुन थालेको चिया रोपण अभियान इलामका अन्य क्षेत्र र झापासम्म फैलियो । त्यही फैलावट स्थानीयको प्रमुख आयस्रोत बनियो र राष्ट्रको आर्थिक मेरुदण्ड एवम् पर्यटन क्षेत्रको स्थायी आधार बनियो । तर, यतिबेला त्यही आर्थिक आधार नगदेबालीको विशेषता पाएको, इतिहसाको धरोहर चिया बगान र कारखाना उजाड, जीर्ण र उराठलाग्दो हुन थालेको छ ।
इतिहासमा कुनै दिन चिया क्षेत्रको नाम पाएको थियो, यो सँगै विस्तारित झापा, पाँचथर, तेह्रथुम र धनकुटाले । तत्कालीन राजा वीरेन्द्रले वि.सं. २०३९ सालमा चियाखेतीको योगदानको कदर गर्दै चिया क्षेत्र घोषणा गरिएपछि चिया खेतीको महत्व झनै बढेको थियो । त्यसो त इलाममा शुरु गरिएको चिया रोपणले व्यावसायिकता निकैपछि मात्र प्राप्त ग¥यो । अझ २०२३ साल असोजदेखि नेपाल चिया विकास निगमको स्थापना सरकारी स्तरबाट भएपछि चिया खेतीको प्रवद्र्धनमा संगठित रुपमै काम हुन थाल्यो । करिब एक लाखभन्दा बढी किसान आश्रित रहेको चिया क्षेत्रले अपेक्षित रुपले प्रगति गर्न सकेको छैन ।
विश्वमै प्रशिद्धी पाएको इलाम चिया मात्र होइन सीटीसी चिया समेत विदेश निर्यात हुँदै आएको थियो । प्रतिष्पर्धी बजारमा प्रतिष्र्धायोग्य चिया उत्पादन गर्नुपर्ने चुनौती एकातिर छ भने अर्कातिर गुणस्तर कायम गर्न उत्तिकै आवश्यक छ । खासगरी चिया खेतीको उद्गम थलो इलाम चिया बगान निजीकरणपछि संरक्षणको अभावमा धराशायी बन्दै गएपछि त्यसको अस्तित्व रक्षा गर्न स्थानीय सरकार लागीपरेको छ । इलाम नगरपालिकाले उजाड बन्दै गएको बगानमा चियाको नयाँ बिरुवा रोप्न थालेको छ । नगरपालिकाको यो अग्रसरतालाई संघाई गुप्रले निगमको नामबाट अस्वीकार गर्दै चिया नरोप्न पत्र पठाएको छ । उसले सम्झौता विपरीतको हस्क्षक्षेप भन्दै जथाभावी नगर्न भनेको छ । तत्कालीन सरकारसँग पचास वर्षका लागि ठेक्का लिएको बगान स्थानीय सरकारले आफ्नो मातहत ल्याउने प्रस्ताव गरेको छ । जसरी पनि राष्ट्रिय अर्थतन्त्रलाई आधार दिने यस्तो ‘सुनको अण्डा दिने’ क्षेत्रको संरक्षण र प्रवद्र्धन हुनुपर्छ ।