कृषि क्षेत्रमा कोशी प्रदेश सरकारको योगदान किसान हर्षित

0
60

युद्धबहादुर बोहोरा,

पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ खान्द्रुङमा रहेको माङपाङ लावती कृषि उद्योगमा पुग्दा सञ्चालक जुनु लावती आफूले उत्पादन गरेको किवीको जुस बोतलमा प्याक गर्न व्यस्त थिइन् । उनको घरवरिपरि जमिनमा किवीका बिरुवा लहराइरहेका थिए भने उनले पालेका माहुरी घारबाट फूलको रस लिन जाने र लिएर फर्कने ध्याउन्नमा थिए । माहुरीको गुनगुनाहटले वातावरण गुञ्जयमान थियो । जिल्लाकै अगुवा किसानको पहिचान बनाएकी लावती सधैँजसो ग्राहकलाई आफ्ना उत्पादन बिक्री गर्न, किवीको जुस र वाइन चखाएर अतिथि सत्कार गर्न व्यस्त भेटिन्छिन् । उनी कोशी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने मेला, महोत्सव, कृषि प्रदर्शनी र उत्सवहरुमा समेत आफूले उत्पादन गरेको सामग्रीका स्टल लिएर पुग्छिन् ।

उनले आफ्नो घर नजिकै ४५ रोपनी क्षेत्रफलमा माङपाङ लावती कृषि उद्योग सञ्चालन गरेकी छिन् । यस फर्ममा किवीको नर्सरी छ । किवी फल, अलैंची, माछा र माहुरी उत्पादन गर्दै आएकी लावतीको बारीमा चिया र विभिन्न प्रजातीका फलफूल, तरकारी पनि लगाइएको छ । २०७२ सालमा स्थापना भएको यस उद्योगलाई नमूना बनाउन प्रदेश सरकारका विभिन्न निकायले सहयोग गरेका छन् । पहिलो चरणमा आर्थिक वर्ष २०७८/०७९ मा उनको फर्मलाई प्रदेश सरकारले नमूना कृषि फर्म सहयोग कार्यक्रम अन्तर्गत कृषि विकास निर्देशनालय मार्फत १५ लाख रुपैयाँ अनुदान उपलव्ध गराएको थियो । सोही रकमबाट नर्सरी, बिरुवा रोपण र विस्तारको काम थालिएकोमा अहिले उत्पादन शुरु भएको छ । उनले कृषि उद्योगसँगै सनम फलफूल उत्पादन तथा प्रशोधन उद्योग पनि चलाएकी छिन् । जहाँ, उनले उत्पादन गरेका किवीबाट विभिन्न परिकार बनाइन्छ ।

प्रशोधन उद्योगमा किवीबाट जुस, जाम, स्क्वास, अचार, वाइन, किवी, पेष्ट अचार, सोमरस आदि उत्पादन हुन्छ । ती सामग्री जिल्लाभित्र र बाहिर आयोजना हुने मेला महोत्सव तथा प्रदर्शनीमा लगेर बिक्री गर्दै आएको लावती सुनाउँछिन् । यो फर्ममा आठ जनाले नियमित रोजगारी पाएका छन् । ‘सिजनमा आवश्यकता अनुसार २० देखि ३० जनासम्मलाई अतिरिक्त रोजगारी दिन्छु’ –उनले भनिन् । उनको फर्ममा उमारिएका किवीका बिरुवा पाँचथर–इलाम–काठमाडौं हुँदै भारत सिक्किमका किवी जोन र ब्लकमा बिक्री हुन्छन् । ‘सबै खर्च कटाएर वार्षिक १० लाखसम्म बचत गर्छु’ – उनले भनिन् । आफ्नो मेहेनेत अनुसारको आम्दानीबाट लावती सन्तुष्ट छिन् । गाउँमै केही गर्ने ध्येयले थालिएको कृषि उद्योग प्रवद्र्धनका लागि प्रदेश सरकारले गरेको सहयोग कोशेढुंगा सावित भएको उनको अनुभव छ । ‘सानै छँदा मेहेनेतको फल मिठो हुन्छ भन्ने नेपाली उखान सुनेकी थिएँ, अहिले प्रत्यक्ष अनुभव गरिरहेकी छु’ –उनले थपिन् । यस्तै फाल्गुनन्द गाउँपालिका–३ मा सञ्चालित सुकेपोखरी कृषि फार्म कम्पनीले १० रोपनी क्षेत्रफलमा किवी खेतीको गर्दै आएको छ । यो संस्थाले आर्थिक वर्ष २०७९ र २०८० मा प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र पाँचथरबाट छ लाख अनुदान र साझेदार यस संस्थाको दुई लाख गरी आठ लाख अनुदान पाएको थियो । सो रकमबाट किवी बगानमा मचान व्यवस्थापन गरेसँगै उत्पादन वृद्धि भएको छ । बगानबाट वार्षिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको सञ्चालक धनकुमार तामाङ बताउँछन् ।

कुलो बनेपछि दुई हजार रोपनी जमिनमा खेती

फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ का विनोद चेम्जोङको साप्ला भन्ने स्थानमा रहेको ४० रोपनी जमिन सिँचाइको असुविधाले बाँझिने अवस्थामा पुगेको थियो । वर्षामा जेनतेन खेती भए पनि यस ठाउँमा हिउँदे बाली सम्भव थिएन । जब, त्यहाँ सिँचाई कुलो सञ्चालनमा आयो उनले हिउँदे खेती तोरी, आलु, गहुँ लगायतका खेती लगाउन थालेका छन् । यो वर्ष हिउँदे बालीको राम्रो फसल हुँदा भरथेग भएको उनी सुनाउँछन् । हिउँदे बाली यति राम्रो फलेको ठाउँमा मज्जाले धान रोप्ने उनको योजना छ । यहाँ प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ देखि हालसम्म जम्मा ३२ लाख प्राप्त लगानीमा ‘जम्मा बकस कुलो सिँचाई जल उपभोक्ता संस्था’ नामको दुई किलो मिटर लामो कुलो निर्माण भएको हो । जुन कुलोबाट बिनोद जस्तै एक सय ८० घरधुरीका दुई हजार पाँच सय जना किसानको दुई हजार रोपनी बाँझिन लागेको जमिनमा बाली फस्टाउन थालेको छ । साप्ला र अन्य टोलमा मुहानदेखि दुई हजार मिटर टाढाबाट बनाएर ल्याएको कुलोले यतिका किसानलाई सुविधा दिएको हो । कुलो निर्माण समितिका सचिव राजेश चेम्जोङका अनुसार यस अघि सिँचाइ सुविधाको अभावमा दुई हजार रोपनी खेती योग्य जमिनमा खेतीपाती लगाउन कठिन थियो । आकासे पानी र स्थानीय झिनो पानीको स्रोतका भरमा खेती गर्दा समस्या हुने गरेको थियो । कुलो सुचारू भएसँगै धान, मकै, आलु, कोदो, गहुँ लगायतका बालीनाली र सुन्तला खेती गर्न सहज भएको स्थानीय कृषक मणि राज चेम्जोङ बताउँछन् । उक्त सिँचाइ कुलोबाट आम्बोटे, रागाँटार, आँगेटोल, साप्ला र ख्यारुप्पामा रहेका एक सय ८० घरधुरीका दुई हजार पाँच सय जनसंख्या प्रत्यक्ष लाभाम्वित भएका छन् ।

अकबरे खुर्सानी र आलुको उत्पादनले फेरिएको जनजीवन

मेची राजमार्गमा पर्ने इलाम र पाँचथरको सिमावर्ती क्षेत्रको राँके बजारका प्रायः पसल अगाडि आकर्षक ढंगले बट्टामा अकबरे खुर्सानीको अचार सजाएर राखिएको देख्न सकिन्छ । अकबरे सहितका यहाँ देखिने धेरैजसो मसला, तरकारी र फलफूल फाल्गुनन्द–४ चिलिङदिनमा उत्पादन भएका हुन् । चिलिङदिन अकबरे खुर्सानीको पकेट क्षेत्र हो । जिल्लाकै सबैभन्दा बढी अकबरे खुर्सानी उत्पादन हुने चिलिङदिनमा वार्षिक कम्तीमा ६० टनभन्दा बढी खुर्सानी फल्छ । यहाँ उत्पादन भएको खुर्सानी नेपालका विभिन्न उद्योगहरुले खरिद गर्ने गरेका छन् । किसानले उत्पादन गरेको खुर्सानी सामुहिकरुपमा जम्मा गरी बिक्री गरिन्छ । खुर्सानीको बिक्री दर न्यून हुँदा र खरिद गर्ने संस्थाले नलगेको समयमा खुर्सानी सुकाउनलाई प्रदेश सरकारले नौ लाख अनुदानमा ५० किलो क्षमताका तीन वटा इलेक्ट्रोनिक ड्रायर मेसिन उपलब्ध गरायो । ती मेसिन स्थानीय तुम्बुङ कृषक समुहले व्यवस्थापन गरेको छ । जहाँ खुर्सानी सुकाइन्छ । जसले सिजनमा सुकाइएका खुर्सानी आवश्यकता अनुसार जुनसुकै बेला बेच्न मिल्ने सुविधा प्राप्त गरेको समुहका अध्यक्ष इन्द्रकुमार नेम्बाङ बताउँछन् ।

आलुमा पनि अब्बल

फाल्गुनन्द गाउँपालिका–४ को तीनचुले जडीबुटी सहकारी संस्था लिमिटेडले ५० रोपनी क्षेत्रफलमा विभिन्न उन्नत जातका बर्खे आलु रोपेर उत्पादन गर्दै आएको छ । २०६८ सालमा स्थापना भएको यस संस्थाका ६३ जना शेयर सदस्यमध्ये १५ जनाले सामुहिक आलु खेती गर्दै आएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम कार्यान्वयन इकाई आलुजोन पाँचथरको आर्थिक तथा प्राविधिक सहयोगमा २०८१ सालदेखि आलुखेती सञ्चालन गर्न थालिएको संस्थाका अध्यक्ष पेम्वा शेर्पा बताउँछन् । चक्लाबन्दीमा आधारित खेती मार्फत उत्पादन वृद्धिका लागि संस्थाले ड्याङ बनाएर नयाँ माटोमा जङ्गल फाँडेर दुई सय ५० मन आलु रोपण गरेको उनले बताए । उक्त क्षेत्रमा करिब नौ सय मन आलु उत्पादन भएको उनको भनाइ छ । आलु उत्पादन राम्रो हुन थालेपछि आम्दानी पनि बढेको किसानहरु बताउँछन् ।

 

दूग्ध चिस्यान सञ्चालनले किसानलाई सहज

फाल्गुनन्द–५ सेलिङलामका नरेन्द्र नेम्वाङको परिवारमा पिता पुर्खाकै पालादेखि गाई वस्तु पाल्ने चलन थियो । तर, घरमा उत्पादन भएको दूध घरमा मात्रै खपत गरिन्थ्यो । गाई वस्तुले जति दूध दिए पनि मतलब हुँदैनथ्यो । गाई वस्तु, खसीबाख्रा र खेतीपातीमा आश्रित उनले दूध बिक्री हुन्छ भन्ने सुने पनि बेच्न पाएका थिएनन् । जब, गाउँ नजिकैको बजारमा दूध किन्ने संस्था खुल्यो तब उनले उत्पादन गरेको दूध बिक्री हुन थाल्यो । राम्रो आम्दानी हुन थालेपछि माउ गाई थपे । आम्दानी बढ्दै गयो । उत्साह बढ्यो र त्यही दूध बेचेको पैसाबाट एउटा मोटरसाइकल किने । उनी आजकल त्यहीँ मोटर साइकलमा १०–१५ लिटर दूध लिएर दूध चिस्यासन केन्द्रमा लगेर बिक्री गर्छन् । उनले यस संस्थाबाट चापकटर र अन्य सामग्री पनि पाएका छन् । गाईवस्तु पाल्दा त्यसको मलबाट खेतीपाती र अन्नबाली उत्पादनमा पनि वृद्धि भएको बताउँछन् ।

इलाम र पाँचथरको सिमाना फाल्गुनन्द–५, घुर्विसे पञ्चमीमा दूध चिस्यान तथा प्रशोधन केन्द्र सञ्चालनले किसानलाई दूध बेच्न सजिलो भएको छ । जनजागरण अभियान कृषि सहकारी संस्थाले स्थानीय किसानले जम्मा गरेको दूधको फ्याट र ल्याक्टोका आधारमा उनीहरुलाई उचित मूल्य दिइरहेको संस्थाका अध्यक्ष रुकेन्द्र चेम्जोङले जानकारी दिए । यस संस्थालाई प्रदेश सरकारबाट आर्थिक वर्ष २०७९/०८० मा १५ लाख अनुदान उपलब्ध भएको थियो । २५ जना कृषकलाई भकारो सुधार र २५ वटा मोटरसहितको चापकटर मेसिन पनि वितरण गरेको संस्थाका व्यवस्थापक सूर्यप्रकाश चेम्जोङ बताउँछन् । चापकटरको प्रयोगले घाँस टुक्र्याउन जनशक्ति कम खर्च हुने र घाँसको बचत हुने गरेको स्थानीय किसान तारा नेम्बाङको भनाइ छ । । उनी एक घण्टा टाढाबाट गाउँघरको दूध संकलन गर्दै घोडालाई बोकाएर चिस्यान केन्द्रमा ८० लिटर दूध लिएर दैनिक आइपुग्छन् ।

कृत्रिम गर्भाधान मिसन कार्यक्रम अन्तर्गत फाल्गुनन्द गाउँपालिका गाई भैंसी, बाख्रामा नश्ल प्रयोग गर्दा पाँच सय रुपैयाँ तिरेर सेवा लिन सक्ने व्यवस्था गरिएको छ । जसले पशुमा नश्ल सुधार भइरहेको छ । यस पालिकाले किसान सूचीकरण कार्यक्रम पनि गर्न थालेको छ । यसको प्रयोगबाट संघ, प्रदेश र स्थानीयबाट प्रदान हुने अनुदानका विषयमा दोहोरोपना नहुने र वास्तविक किसानसम्म पुग्न सहज हुने गाउँपालिकाले कामको थालनी गरेको छ । साथै, वार्षिक रुपमा पशुपंक्षीहरुमा लाग्ने संक्रामक रोगबिरुद्धको खोप कार्यक्रम अन्तर्गत यस पालिकाभित्रका करिब २५ हजार पशुपंक्षीलाई खोप लगाइएको पालिकाको पशुपंक्षी शाखा मार्फत जानकारी प्राप्त भएको छ ।

कृषि सामग्रीको सुविधाले पशुपालनमा वृद्धि

गाईपालन प्रवद्र्धन कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश सरकारबाट फाल्गुनन्द गाउँपालिकामा ३० लाख रुपैयाँ बजेट उपलब्ध भएको थियो । उक्त कार्यक्रम मार्फत २,३ र ४ नम्बर वडाका किसानलाई कृषि सामग्री वितरण गरिएको छ । तीनदेखि पाँच माउभन्दा माथि गाई पाल्ने र ३० लिटर दैनिक दूध उत्पादन गर्ने कृषकलाई वडाले छनौट गरेपछि अनुदान मार्फत प्राप्त रकमले २७ घरधुरी परिवारलाई सुधारिएको गोठ निर्माण र ३८ घरधुरीलाई घाँस काट्ने पोर्टेवल चापकटर मेसिन प्रदान गरिएको पशुपंक्षी शाखाका प्रमुख गोपाल घिमिरेले जानकारी दिए । यो सँगै दाना पिन्ने मिनी मिल र काउम्याटसहितका कार्यक्रम लक्षित कृषकहरुले अनुदानमा प्राप्त गरेका छन् । ४ नम्बर वडाका स्थानीय किसान मंगलसिंह नेम्वाङले लामो समयदेखि गाई पालनसँगै डेरी व्यवसाय पनि सञ्चालन गरिरहेका छन् । सरकारको लगानीमा पाएको काउम्याटले गोठ सुधारमा सहायता पुगेको बताए । अझै उन्नत जातका गाई गाउँमा भित्र्याउने सोचमा रहेको बताउँछन् । डेरी सञ्चालक नेम्बाङ भन्छन्– ‘कृषिमा निर्भर रहन स्थानीय सरकाले किसान लक्षित थप कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।’ सरकारी लगानीबाट अनुदानमा कृषि सामग्री पाएपछि किसानले गाई पालनमा वृद्धि गरेका छन् । किसानको आयश्रोत वृद्धिमा टेवा मिलेको उनको भनाइ छ ।

सुन्तला पकेट क्षेत्रबाट करोडौंको आम्दानी

गाउँ छोडेर बसाइँ सर्नेहरुको ताँतीले फाल्गुनन्द–७ दोबाटेका मचिन्द्र आङ्देम्वेको मन बेला–बेला बेचैन हुन्छ । पहाडमा कतिञ्जेलसम्म दुःख गर्ने ? भनेर मनमा कुरा खेल्छन्, तर जब उनी सुन्तला बगान घुम्छन् । आफ्ना सारा दुःख पीडा बिर्सिएको महशुस गर्छन् । उनले लगाएको सुन्तला खेतीबाट वर्षको आम्दानी जोड्दा कुनै विकसित मुलुक रोजगारीमा गएर फर्किएको व्यक्तिले जम्मा गरेको पैसाभन्दा कम हुँदैन । उनको मन बुझाउने मुख्य आधार आफ्नो बगानको सुन्तला उत्पादन नै हो । सुन्तलाको आम्दानीबाट आफ्ना छोराछोरी सुविधासम्पन्न ठाउँमा पढाउन पाएकोमा खुशी भएको बताउँछन् । अहिले उनको ध्यान सुन्तला खेतीमा बढी समय खर्चिने गरेका छन् । सुन्तला धैरै उत्पादन हुने क्षेत्रको रुपमा परिचित फाल्गुनन्द गाउँपालिका–७ नम्बर वडाको आङ्साराङस्थित दोबाटेलाई चिनिन्छ । यहाँ किसानले सुन्तलाबाट तीन करोडभन्दा बढी मूल्यको वार्षिक आम्दानी गर्ने गरेका छन् । हरेक व्यक्तिको घरमा सुन्तलाको बोट छ । कसैको पुरानो त, कसैकोमा नयाँ । यस ठाउँका किसान गाउँबाट अन्यत्रै बसाइँ सरे पनि सुन्तला स्याहार्न भने आफैँ आउँछन् ।

आर्थिक वर्ष २०७८/०७९ मा प्रधानमन्त्री कृषि परियोजना कार्यक्रम अन्तर्गत कार्यान्वयन एकाई ताप्लेजुङ, प्राविधिक एकाई (सुन्तला जोन) पाँचथर मार्फत दाजुभाइ जडीबुटी कृषि सहकारी संस्थाका दुई सय घरधुरीलाई १२ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको संस्थाका अध्यक्ष मचिन्द्र आङ्देम्बे बताउँछन् । उक्त रकमबाट चार सय रोपनी जमिनमा नौ हजार सुन्तलाका विरुवा किसानलाई वितरण गरिएको छ । दोस्रो पटक पकेट क्षेत्र घोषणा गर्दैछ । लाख उपलब्ध भएको साथै प्राविधिक सहयोग र तालिम समेत प्रदान गरेको थियो । हाल थप उत्पादन वृद्धि गर्न खेती विस्तार र विभिन्न सामग्रीहरु खरिद गर्न लागिएको उनले बताए । उनले आफ्नो १० लाख व्यक्तिगत लगानी र पछिल्लो पटक गाउँपालिकाको एक लाख ५० हजार सहयोगमा १४ सय स्क्वायर फुटका दुईवटा पाँचथरकै नमूना माछा पोखरी पनि सञ्चालन गरेका छन् । यसबाट वार्षिक चार लाख आम्दानी गर्दै आएका छन् ।

प्रदेश सगै स्थानीय सरकारको प्रोत्साहन

पाँचथरको फाल्गुनन्द गाउँपालिकाले भने गत वर्षदेखि खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले नीति तथा कार्यक्रममा बजेट विनियोजन गरेर कृषक सम्मानको कार्यक्रम थालनी गरेको छ । विगत वर्षभन्दा यसपटक पालिकामा धान बढी उत्पादन भएको छ । बाढीपहिरोसँगै विपदको बाबजुद उत्पादनमा वृद्धि भएको जनाइएको छ । गत साल २९ जना किसानले करिब एक हजार सात सय मुरी धान फलाएका थिए । यो वर्ष किसानमा झनै उत्साह थपिएको र उत्पादन बढेको पालिकाले जनाएको छ । फाल्गुनन्द गाउँपालिकाले कृषि पेशालाई व्यवसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले किसान सम्मान कार्यक्रम राखेको छ ।

पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेका अनुसार गत सालदेखि थालनी गरिएको किसान सम्मान कार्यक्रमको चर्चा देश विदेशसम्म चल्ने गर्छ । गाउँपालिकाले ५० मुरीभन्दा माथि धान उत्पादन गर्ने प्रति कृषक ३० हजार र एक सय मुरीभन्दा माथि धान उत्पादन गर्ने प्रति कृषक ५० हजार नगद पुरस्कार वितरण गर्न थालेपछि धान उत्पादनमा किसानको लगाव बढेको छ । यहाँ यो वर्ष मापदण्ड अनुसार धान नापतौलपछि जम्मा ५० देखि एक सय मुरी धान उत्पादन गर्ने ३९ जना र एक सय मुरी माथिका तीन जना गरी ४२ जना पुरस्कृत भएका थिए । छनौटमा परेका कृषकलाई पालिका केन्द्र घुर्बिसे पञ्चमीमा पञ्चे बाजागाजा, ढोल, झाँकीसहित भव्य कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामको उपस्थितिमा सम्मान–पत्र, नगद र दोसल्ला ओढाएर किसान सम्मान गरिएको थियो ।

कृषिमा प्रदेश सरकारको लगानी कति ?

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्या दिनानुदिन वृद्धि भइरहँदा खेती योग्य जमीनहरु बाँझो हुने क्रम जारी छ । जनशक्तिको अभावले खेत बारी बाँझो नहोस् भनेर कोशी प्रदेश सरकारले किसान केन्द्रित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । उर्वर जमीन उपयोग गरी कृषिलाई बढवा दिने र व्यावसायिक किसानलाई सहायता पु¥याउन सरकारले कृषिमा चालू आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब ७५ करोड रुपैयाँ बजेट छुट्याएको छ । जसमध्ये पाँचथर जिल्लाका लागि यस वर्ष एक करोड ७२ लाख विनियोज भई कार्यान्वयनको चरणमा रहेको उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका प्रवक्ता पशुपति पोख्रेलले जानकारी दिए । गत आर्थिक वर्ष २०८०÷०८१ मा प्रदेश सरकारबाट कृषि तर्फ एक अर्ब ७० करोड ८५ लाख नौ हजार रुपैयाँ रकम विनियोजन भएको थियो । आठवटा स्थानीय तह भएको पाँचथरमा अदुवा, आलु, अलैंची, दूध, घ्यू, छुर्पी, कुखुरा, बाख्रापाठा, सुंगुरका पाठा, बदाम, धान, मकै, चिया, अम्रिसो, अकबरे खुर्सानी, कफी, जडीबुटी र फलफुलमा किवी, सुन्तला, कागती लागायतका कृषिजन्य वस्तु उत्पादन हुने गरेको छ ।

जिल्लामा ३९ हजार चार सय २८ घर संख्या र ४३ हजार तीन सय परिवार संख्यामध्ये कृषक परिवार ८२ प्रतिशत छ । ३५ हजार तीन सय ६० परिवारले खेतीपाती र एक सय ३३ घरपरिवारले पशुपंक्षी पाल्ने गरेको कृषि ज्ञान केन्द्र पाँचथरको तथ्याङ्कमा उल्लेख गरिएको छ । एक हजार दुई सय ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पूर्वी पहाडको पाँचथर जिल्लामा ६५ हजार पाँच सय ४७ हेक्टर कृषि योग्य जमीन छ । २०७८ सालको जनगणना अनुसार जम्मा जनसंख्या एक लाख ७२ हजार चार सय रहेको छ । जिल्लामा ३६ वटा नयाँ कृषि फर्म दर्ता भएका छन् भने, चिया स्टेट प्रालि, उद्योग र चिया सहकारी जम्मा १७ वटा छन् । यस जिल्लामा उत्पादित स्थानीय कृषि उपज सामाग्रीहरु मुख्य बजारहरु सदरमुकाम फिदिम, अमरपुर, थर्पु, च्याङथापु, काबेली, गणेश चोक, गोपेटार, जोरपोखरी, भालुचोक, सिङ्गापुर, रवि, घुर्विसे पञ्चमी, राँके, यासोक, नवमीडाँडा, पौवाभञ्ज्याङ, मौवा लगायतका ठाउँमा बिक्री हुन्छ ।

जसले आनासुका आवश्यक पर्दा साहु महाजन गुहार्नुपर्ने बाध्यता अन्त्य भएको किसानहरु सुनाउँछन् । कृषि उत्पादन बढाउँन कोशी प्रदेश सरकारले आफू मातहतका विभिन्न निकायबाट गर्दै आएका किसान लक्षित कार्यक्रमले गाउँ–गाउँमा संघीयता कार्यान्वयनको अनुभूति दिलाउन थालेको किसानहरुको अनुभव छ । फाल्गुनन्द–५ ख्यारुप्पा टोलका स्थानीय बिर्ख चेम्जोङले विगतका समयमा कमै जमीनमा खेती गर्दै आएका थिए । हाल प्रदेश सरकारको सहयोगबाट कुलो बनेपछि उनको करिब २० रोपनी जमिनमा विभिन्न किसिमका बालीनाली लगाउन पाएकोमा खुशी व्यक्त गरेका छन् । यसै वडाका स्थानीय कृषक आइतमान कुरुम्वाङ फाल्गुनन्दमा धेरै धान फलाउने किसानका रुपमा पुरस्कृत भए । उनी भन्छन्– ‘यस वर्ष प्रदेश सरकारको उपस्थितिमा सम्मानित हुन पाइयो हर्षित छु । स्थानीयतहले दिने सेवासुविधाका साथमा प्रदेश सरकारले गर्दै आएको सहयोग र प्रोत्साहन हाम्रो लागि घरघरमा सिंहदरवार भित्रिएको महशुस भएको छ ।’

(कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको लेखनवृत्ति कार्यक्रम अन्तर्गत तयार पारिएको हो । यो सामग्री कुनै पनि सञ्चारमाध्यमले पुनः प्रकाशन प्रशारण गर्न चाहेमा स्रोत खुलाउन अनिवार्य छ । –स.)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here