झापा, राजवंशी समुदायका तीन जना बढी विल्डरलाई सम्मान गरिएको छ ।
काठमाण्डौमा आयोजित प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगितामा सहभागी भएर विजेता बनेका तीनजना राजवंशी बडी बिल्डरलाई सम्मान गरिएको हो ।
गत जेठ २४ गते आयोजित सो प्रतियोगितामा विजेता बनेका मेचीनगर ७ इँटाभट्टाका २१ वर्षीय अभिजित राजवंशी , झापा गाउँपालिका वडा नं २ सडकवारीका ३७ वर्षीय प्रेमलाल राजवंशी र बाह्रदशी २ का २४ वर्षीय हरिस राजवंशीलाई सम्मान गरिएको हो । उनीहरु बडी ग्यारेज बिर्तामोडका तर्फबाट प्रतियोगितामा सहभागी भएका थिए ।
तेस्रो मिस्टर कंचनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बडी ग्यारेजका तर्फबाट उनीहरुलाई सम्मान गरिएको हो ।
प्रतियोगितामा अभिजितले ७० केजी तौल समूहमा स्वर्ण पदक जित्दै ५० हजार नगद पुरस्कार पाएका थिए । विगत पाँच वर्षदेखि शारीरिक सुगठन गर्दै आएका अभिजित चौथो संस्करणको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता हुन् । ७० केजी तौल समूहका उनले उपाधिसँगै नगद एक लाख ५१ हजार र ट्रफी जितेका थिए ।
त्यस्तै प्रथम प्रज्ञा स्मृति प्रतियोगितामा प्रेमलाल राजवंशीले ६५ केजी तौल समूहमा दोस्रो स्थान हासिल गर्दै ४० हजार नगद पुरस्कार जितेका थिए । यसअघि धरानमा आयोजित मिस्टर कोशीमा प्रेमलाल राजवंशीले गोल्ड मेडल जितेका थिए । उनले मिस्टर झापामा तेस्रो स्थान हासिल गर्दै व्यक्तिगततर्फ बेस्ट मस्कुलरको उपाधि पाएका थिए ।
त्यस्तै प्रथम प्रज्ञा स्मृति प्रतियोगितामा हरिस राजवंशीले ७५ केजी तौल समूहमा चौथो स्थान हासिल गरेका थिए । उनले मिस्टर कोशीमा दोस्रो र धर्मश्रीमा उत्कृष्ट छैठौं स्थान हासिल गरेका थिए । बडी बिल्डिङमा राजवंशी समुदायको सहभागिता बढ्दै गएको देखिएको छ । आफूहरुले शारीरिक तन्दुरुस्तीका लागि बडी बिल्डिङ गर्दै आएको उनीहरुको भनाई छ ।