‘तेस्रो मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता’ हुँदै

0
101

झापा, बडी ग्यारेज बिर्तामोडले नेपाली युवाहरूलाई शारीरिक सुगठन खेलप्रति उत्प्रेरित गर्ने र नवप्रतिभाको पहिचान गर्ने उद्देश्यले ‘तेस्रो मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता २०८२’ आयोजना गर्ने घोषणा गरेको छ।

झापामा राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता पहिलो पटक हुन लागेको हो। बडी ग्यारेज फिटनेस हाउसले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिता यही भदौ २७ र २८ गते झापाको बिर्तामोडमा सम्पन्न हुने जानकारी दिइयो।

प्रतियोगिताको पहिलो दिन प्रि–जजिङ र दोस्रो दिन फाइनल गरी दुई दिनसम्म सञ्चालन हुनेछ। ‘अ प्ले ह्वेर ग्रेट शेप इज एन अथेन्टिक प्यासन’ भन्ने मूल नाराका साथ अघि बढिरहेको बडी ग्यारेजले आधुनिक र अन्तर्राष्ट्रिय स्तरका उपकरणहरूका साथै अनुभवी प्रशिक्षकहरूको माध्यमबाट सेवा प्रदान गर्दै आएको छ।

विगत दुई वर्षदेखि राष्ट्रिय स्तरको प्रतियोगिता गराउँदै आएको बडी ग्यारेजले यस वर्ष पनि नेपाली युवाहरूलाई खेलकुद र स्वास्थ्यप्रति प्रेरित गर्ने र बडिबिल्डिङ क्षेत्रको दीर्घकालीन विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुन पाउनेछन्। नेपालभरबाट अनुमानित दुई सय जना खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगिताको कुल अनुमानित लागत रु ३५ लाख रहेको छ।

विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

प्रथम पुरस्कार रु ५ लाख, द्वितीय पुरस्कार रु ३ लाख, तृतीय पुरस्कार रु २ लाख, चौथो पुरस्कार रु १ लाख, पाँचौं पुरस्कार रु ७५ हजार र छैटौं पुरस्कार रु ५० हजार रहेको छ। साथै, हरेक तौल समूहका द्वितीय हुने खेलाडीहरूलाई रु ५ हजार र तृतीय हुने खेलाडीहरूलाई रु ३ हजार प्रति नगद पुरस्कार प्रदान गरिनेछ।

बडी ग्यारेजका अध्यक्ष आदित्य पराजुली र संयोजकहरू राम दाहाल तथा दिपेन चौधरीले यस प्रतियोगितालाई देशकै गौरवको रूपमा रहेको बताउँदै सबै सरोकारवालाहरूलाई आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन आग्रह गर्नु भएको छ ।

पत्रकार सम्मेलनमा बडी ग्यारेजका सल्लाहकार नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौला, झापा जिल्ला बडी विल्डिङ संघका अध्यक्ष दिप साउदेनले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा युवा व्यवसायी कृष्ण चापागाई लगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here