विनोद सापकोटा
शिवसताक्षी, शिवसताक्षी नगरपालिकाका भूमिहीन सुकुम्बासीको अनुहारमा खुशी छाएको छ। कारण, उनीहरूले वर्षौँदेखि आशा बोकेर बसेको जग्गाको अधिकार प्रमाणित गर्ने पहिलो कदमस्वरूप निस्सा हात पार्न थालेका छन्।
नगरपालिकाले वडा नम्बर १ र २ मा रहेका दलित, सुकुम्बासी र अव्यवस्थित बस्तीका बासिन्दालाई निस्सा वितरण सुरु गरेसँगै सुकुम्बासीमा लालपुर्जा प्राप्तिको सम्भावना जीवन्त बनेको हो। निस्साको आधारमा अब उनीहरूको जग्गा नापजाँच हुनेछ, कागजात अध्यावधिक हुनेछन् र त्यसपछि लालपुर्जा हात पर्ने बाटो खुलेको छ। वडा नम्बर २ का सदस्य कुमार राईका अनुसारपहिलो चरणमा ६० जना भूमिहीनलाई निस्सा वितरण गरिएको हो। “कम्तिमा ३५० जनाको विवरण प्रविष्ट भएको छ । क्रमशः सबैलाई वितरण गरिनेछ,” उनले भने ।
नगर प्रमुख मेघाहाङ थोप्रा आफैं शनिबार वडा नम्बर १ र २ पुगेर निस्सा वितरण गरेका थिए। “हामीले समस्याग्रस्त क्षेत्र छाडेर विवादरहित बस्तीलाई प्राथमिकतामा राखेर निस्सा वितरण गरिरहेका छौँ,” नगरप्रमुख थोप्राले भने। पालिकाका ११ वटै वडाबाट ५ हजारभन्दा बढी भूमिहीन सुकुम्बासीका निवेदन संकलन भइसकेका छन्। त्यसका आधारमा निस्सा वितरण गरिएको हो। निस्सा पाएका धरमपुरकी भूमिहीन सानु माया विश्वकर्मा आँखामा आँसु थियो। उनले भनिन्, “तीन दशक भयो, यही जग्गामा झुपडी छ। अब बल्ल यो मेरो हो भन्ने प्रमाण पाइने भयो।
लालपुर्जा हात पर्दा त सायद म निदाउन सक्दिनँ।” यसअघि पटक–पटक गठन भएका भूमि आयोगहरूले निवेदन संकलन गरे पनि सरकार परिवर्तनसँगै नेतृत्व फेरिँदा लालपुर्जाको प्रक्रिया अलपत्र परिरहेको थियो। तर, यसपटक नगरपालिका र राष्ट्रिय भूमि आयोगबीचको सहकार्यले प्रक्रिया व्यवहारमा आएको देखिएको छ। निस्सा वितरणपछि हुने नापजाँच, कागजात अद्यावधिक र प्रमाणिकरणको कामले आगामी केही महिनाभित्रै सुकुम्बासीको हातमा लालपुर्जा पुग्ने अपेक्षा गरिएको छ।
‘निस्सा वितरण गरेपछि अब लालपुर्जा पाउनु टाढाको कुरा होइन।’ वडा नम्बर २ का अव्यवस्थित बसोबास गर्दै आएकी मञ्जु नेपाल भन्छिन्, “जग्गा आफ्नो नाममा दर्ता भएको देख्न पाउनेछु भन्ने कल्पनाले नै मन गदगद भएको छ।’ अर्का निरकुमार श्रेष्ठले पनि मञ्जु नेपालकै शैलीमा भने ‘बल्ल यही जुनीमा जग्गाको मालिक हुने भए ।’ शिवसताक्षी नगरपालिकाको यो अभियानले भूमिहीन नगरबासी को चेहेरामा खुसीको सीमा छैन । वर्षाैंदेखि अधिकारविहीन रूपमा बसिरहेका हजारौं सुकुम्बासीका लागि निस्सा लालपुर्जाको ढोका ठटाउने चाबी बन्न थालेको छ।