युवाको भविष्य सुनिश्चित गर

0
11

यो समय सरकारको बजेट ल्याउने, छलफल गर्ने र पारित बजेटको कार्यान्वयन गर्ने हो । बजेटको कार्यान्वयन देशको विकास गर्ने र जनतालाई बाँच्ने आधार तयार गर्ने दायित्व राज्यको हो । राज्य भनेकै राज्यको सञ्चालक सरकार हो र समाजमा रहेका विभिन्न क्षमताका मानव स्रोतको आधारमा सरकारले विकास निर्माणका कार्यहरु अघि बढाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने मानव स्रोतको उत्पादन, व्यवस्थापन गर्दै विद्यमान अदक्ष, अर्धदक्ष, दक्ष र अतिदक्ष जनशक्तिको समुचित प्रयोग गर्नुपर्छ, यस्तो प्रयोग सरकारमा बस्नेहरुको इमान्दार, प्रतिबद्ध र समर्पित सेवाबाट मात्र सफल हुनसक्छ । तर, प्रजातन्त्र स्थापनाको यति लामो समय बितिसक्दा पनि जनताका चाहना र देशको आवश्यकता अनुरुप काम भएको छैन ।

सत्तामा रहनेहरुको काम र राजनीतिक दलहरुको जनउपेक्षाले उनीहरुप्रति जनआक्रोश बढेर गएको छ । परिवर्तनका वाहक भनिएका युवापुस्ता स्वदेशमा भविष्य नदेखेर पलायन भइरहेका छन् । लोकतन्त्र, गणतन्त्र लगायतका नाम र त्यसका विशेषण आमजनताका दृष्टिमा कोरा सपना भएको छ । जसका कारण सरकारप्रतिको आशा, भरोसा र विश्वास गुमेको छ । त्यही अविश्वासले दिनहुँ दुई हजारभन्दा बढी युवा आफ्नो र परिवारको भविष्य खोज्न गह«ौं मन लिएर विदेशिने गरेका छन् । त्यसो त सत्तारुढ दलका नेताहरुले भने जस्तो गाउँसम्म बाटो पुगेको छ । तर बाटो राजधानी हुँदै वैदेशिक रोजगारमा जानका लागि प्रयोग हुँदैछ । बिजुली पुगेको छ, सञ्चारको पहुँच पनि छ, तर यसले समाजको आर्थिक जीवनको रुपान्तरण हुन सकेन । भौतिक विकासले गति त लियो, स्कूल, कलेज पनि खुले तर दलीय भागबण्डा र स्वार्थ अनुरुप सञ्चालन हुँदा त्यसले विश्वास आर्जन गर्न सकेन ।

अहिले देश युवा निर्यात गरेर खाद्यान्न आयात गर्ने देशका रुपमा चिनिएको छ । जसले यहाँका उर्वर जमिन बाँझिएका छन् र हाम्रा युवाशक्ति विदेशी भूमिका त्यही क्षेत्रमा पसिना बगाइरहेका छन् । कृषि क्षेत्रलाई वैज्ञानिक र आधुनिक गर्ने नारा सरकारमा बस्ने र दलका नेताहरुको जिब्रोमा झुण्डिएको छ, तर त्यसलाई सहज र पारदर्शी ढंगले कार्यान्वयन गर्ने चरित्र छैन । अनुदानका नाममा राज्यकोष खर्च भएको छ, तर वास्तविक कृषकसम्म नपुगेको आरोप लाग्दै आएको छ । सरकारको कार्यशैली नै पारदर्शी छैन र राजनीतिक पहुँचका आधारमा अनुदान र सहयोग वितरण गर्दा वास्तविक किसान कृषि कर्मप्रति विकर्षित हुँदैछन् । सरकारमा बस्नेहरु जसरी पनि धन कमाउने ध्याउन्नमा छन् । जसको दृष्टान्त समय–समयमा उठेका भ्रष्टाचारका मुद्दाहरु नै हुन् । यदि देशको विकास गर्ने हो भने युवाको पलायन रोक्नुपर्छ । उनीहरुलाई सिप, अवसर, दक्षता प्रदान गर्दै उद्यमशील बन्न प्रेरित गर्नुपर्छ । अनि मात्र साँचो अर्थमा राजनीति समाजसेवा हुन सक्छ र देशले पनि गति लिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here