विश्वमै र खासगरी दक्षिण एसियाली मुलुकहरूमा मधुमेहको प्रकोप ज्यादै तीव्रगतिमा बढ्दै गएको छ । भारतमा १०% व्यक्तिहरूलाई मधुमेह छ भने १५% व्यक्तिहरूलाई पूर्व–मधुमेह (प्री–डायबेटिज) छ । प्यान्क्रियाज ग्रन्थिबाट (अग्नाशय) इन्सुलिनको उत्पादनमा कमी वा इन्सुलिनको कार्यमा अवरोध हुँदा मधुमेह हुने गर्दछ ।
मधुमेह वयस्क व्यक्तिहरू लाई मात्र नभई बालबच्चा, किशोरकिशोरी र युवाहरूलाई पनि हुन सक्छ । यस्तो सानै उमेरमा देखिने मधुमेह मुख्यतयाः प्रकार १ मधुमेह, प्रकार २ मधुमेह, जेनेटिक (मोनोजेनिक) मधुमेह र प्यानक्रियाजको बिमारीले गर्दा हुने मधुमेह हुने गर्छन् । भारतमा २५ वर्षभन्दा कम उमेरमा मधुमेह देखिएका व्यक्तिहरूमा गरिएको सर्वेक्षण अनुसार ६४% मा प्रकार १ मधुमेह, २५% मा प्रकार २ मधुमेह र बाँकीमा अन्य किसिमका मधुमेह देखिएको थियो ।
इन्टरनेशनल डायबेटिज फेदरेसन २०२१ को आँकडा अनुसार नेपालमा २० वर्षभन्दा कम उमेरका पाँच हजार छ सय सात जनालाई प्रकार १ मधुमेह छ । प्रकार १ मधुमेहमा हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा त्रुटि हुँदा आफ्नै शरीरको प्यानक्रियाजमा रहेको बिटा–सेलहरू बिरुद्ध प्रतिक्रियाहरू हुन जान्छ र क्रमशः बेटा–सेलहरू नष्ट हुँदै जान्छन् र शरीरमा इन्सुलिनको उत्पादन घट्दै जान्छ । प्रायः यस प्रकारको मधुमेह २५ वर्षभन्दा कम उमेरमै देखिन्छ र यसको उपचारको लागि इन्सुलिन नै इन्जेक्सन मार्फत दिनुपर्ने हुन्छ ।
प्रकार २ मधुमेहमा इन्सुलिनको उत्पादन ठिकै मात्रामा भएपनि यसको कार्यमा अवरोध हुन्छ र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैन । यसको मुख्य कारण मोटोपन, अस्वस्थकर खानपान, व्यायामको कमी, वंशाणुगत समस्या, अनिन्द्रा र मानसिक तनाव हो । यो धेरैजसो ४० वर्षपछिको उमेरमा देखिने भए पनि हिजोआज बढ्दो मोटोपनले गर्दा प्रकार २ मधुमेह १५–२० वर्षको व्यक्तिहरूलाई पनि देखिन थालेको छ । यसको उपचारका लागि ट्याब्लेट र इन्सुलिन दुबै प्रयोग गर्न सकिन्छ ।
प्रकार १ मधुमेहको रोकथाम गर्ने उपाय अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर, प्रकार २ मधुमेह हाम्रो जीवनशैलीसँग प्रत्यक्ष रुपमा सम्बन्धित भएकाले स्वस्थकर जीवनशैली अपनाएर यसको रोकथाम गर्न सकिन्छ । आजकालको जीवनशैलीमा पहिलाको जस्तो धेरै शारीरिक परिश्रम छैन । डेस्क जब गर्ने, मोटरसाइकल या गाडीमा हिँड्ने, खेलकुद या व्यायाम नगर्ने व्यक्तिहरूलाई खाना पनि धेरै क्यालोरी भएको खान जरुरत पर्दैन । तर झन उल्टो आजकल धेरै क्यालोरी हुने फ्याक्ट्रीमा बनेका फास्ट फुड,जंक फुड र गुलियो पेय पदार्थहरू को उपभोग बढेको छ । प्याकेज्ड फुड आजकल कम मूल्यमै पाउने र खानका लागि तयारी अवस्थामा रहने भएकाले पनि यसको उपभोग बढेको हो । यसबाट पाइने अत्याधिक क्यालोरीहरु शारीरिक परिश्रमबाट खपत नहुने भएकाले बोसोको रूपमा परिणत भई शरीरमा भण्डारण भइरहन्छ र यसले मोटोपना बढाउँछ ।
यस बाहेक आजकल युवाहरूमा बढ्दो पारिवारिक वा कामको तनाव र अनिद्राले शरीरमा विभिन्न हर्मोनको गडबडी रेर इन्सुलिनको काममा अवरोध पैदा गर्छ र मधुमेहलाई निम्त्याउन सक्छ । यस किसिमको जीवनशैलीले मधुमेह मात्र नभई मोटोपनासँग सम्बन्धित अन्य बिमारीहरू जस्तैः उच्च रक्तचाप, फ्याट्टी लिभर, पि.सि.ओ.डि र कोलेस्ट्रोल बढ्ने समस्या पनि गराउन सक्छ । यिनै बिमारीहरू राम्रोसँग नियन्त्रण नभएर हार्ट अट्याक, मस्तिष्कघात र मृगौलामा असर जस्ता जटिलताहरू आउने गर्दछन् । मधुमेह वा उच्च रक्तचापको उपचारभन्दा यसका जटिलताहरूको उपचार महँगो र पीडादायक हुन्छ । त्यही भएर मोटोपना र यससँग सम्बन्धित बिमारीहरूबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु नै उत्तम उपाय हो ।
त्यसैगरी समयमै रोगको पहिचान गर्नका लागि ४५ वर्ष नाघेका हरेक व्यक्तिले मधुमेहको जाँच गराउनु आवश्यक छ । अत्यधिक मोटोपनका साथसाथै मधुमेहको जोखिम बढाउने अन्य अवस्थाहरू जस्तैः शारीरिक परिश्रमको कमी, परिवारमा अन्य कसैलाई मधुमेह, स्वयम्लाई उच्च रक्तचाप वा कोलेस्ट्रलको समस्या भएको भए त झन् सक्दो चाँडो मधुमेहको जाँच गराउनु आवश्यक छ ।
(डा. ढकाल वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ तथा आर.आर पोलिक्लिनिकमा आबद्ध छन् ।)