आजको सन्दर्भमा हामी नेपाली रैती की जनता वा जनार्दन भन्ने विषयवस्तुमा फरक–फरक धारणाका साथ वहस र पैरवी गर्दै आएका छौं । बहसकै क्रममा यदाकदा राजनीतिमा उतारचढाव पनि हुने गरेका छन् । राजसंस्थावादी माथि गणतन्त्रवादीले प्रहार नै गरेका छन्, हामी रैती भएर बस्दैनौ भनेर । त्यसैले अबका दिनमा राजसंस्था स्वीकार्य हुन सक्दैन पनि भन्ने गरेका छन् । राजसंस्थावादीहरु भने संवैधानिक राजतन्त्रको कुरा उठाइरहेका छन् । वास्तवमा जनता, रैती र जनार्दनका बीचमा फरक के रहेछ ? विगतका दिनमा जनता र रैतीका बीचमा भएको प्रावधानलाई समेत समेटेर चर्चा गर्ने प्रयास यस लेख मार्फत गरिएको छ ।
सामान्यतयाः नेपाली शब्दकोषमा ‘रैती’ भन्नाले कुनै देशको भू–भागमा घरजम गरेर बस्ने मानिस, प्रजा, दुनियाँ, जनता भनेर उल्लेख गरिएको छ । यसैगरी ‘जनता’ भन्नाले मानव जाति, लोक, प्रजा वर्ग भनेर शब्दकोषमा उल्लेख गरिएको छ । झट्ट हेर्दा दुबै शब्दको अर्थमा खासै फरक देखिँदैन । तर, विभिन्न कालखण्डका दस्तावेजका आधारमा यी शब्दको प्रयोगको रुपलाई हेर्दा ‘रैती’ भन्ने शब्द पुरानो शासन प्रणालीको हो । जुन समयमा मानिसहरु विशेषगरी राजा वा सामन्तका अधिनमा रहेका हुन्थे ।
उदाहरणका लागि नेपालका पुराना कानूनी दस्तावेजहरुमा ‘रैती’ शब्दको प्रयोग भएको पाइन्छ । यसैगरी पृथ्वीनारायण शाहको दिव्योपदेशमा ‘रैती (प्रजा) मोटा भया दरवार बलियो रहन्या छ’ भन्ने उल्लेख गरिएको छ । यस प्रकार तत्कालीन शासकको व्यवहारलाई आधार मानेर हेर्दा ‘रैती’ शब्दले नागरिकको अधिकार सुनिश्चित गरेको पाइँदैन । राणाकालीन नेपालमा पनि जनतालाई शासकका अधिनमा बस्ने प्रजा वा रैती रुपमा हेरिन्थ्यो । प्राचीन वा सामन्तीको समयमा किशानहरुले राजा वा जमिन्दारका लागि काम गर्दथे । त्यसबेला उनीहरुलाई रैती भनिन्थ्यो । यसबाट के बुझिन्छ भने रैती भनेको अधिकारविहीन नागरिक हो । तर, आज आएर राज्य सञ्चालन सम्बन्धी कानूनी दस्तावेजमा रैती शब्द खासै प्रयोगमा ल्याएको पाइँदैन ।
यसैगरी नेपाली शब्दकोषमा उल्लेख गरे अनुरुप जनता भनेको मानव जाति, लोक, प्रजा वर्ग भन्ने छ । आजको युगमा जनता भन्नाले स्वतन्त्र नागरिक भन्ने बुझिन्छ । जसलाई राज्यले अधिकार र कर्तव्य दुबै कुरामा जिम्मेवारी बनाएको हुन्छ । यसको अर्थ जुन नागरिक अधिकार सम्पन्न हुन्छ त्यो जनता हो । उदाहरणका लागि आजको लोकतान्त्रिक व्यवस्थामा हामी सबै जनता हौं । जसले २०७२ सालमा आफ्नो संविधान हामी आफैले निर्माण ग¥यौं । आप्mनो प्रतिनिधि छनोट गर्ने मताधिकार पनि आजको जनतामा सुरक्षित हुन्छ । सरकार बनाउने कार्य पनि जनताबाट निर्वाचित प्रतिनिधिले नै गर्दछन् । त्यति मात्र होइन नीति–निर्माण गर्ने तहमा पनि जनताकै प्रतिनिधि बसेका हुन्छन् । यसर्थ जनता शब्दले निकै फराकिलो क्षेत्र ओगटेको हुन्छ । न कि रैती शब्दले ।
बहस कै क्रममा यहाँ प्रश्न उठ्न सक्छ, के सामन्तकाल वा राजतन्त्रकाल वा राणाकालमा उपयोगमा ल्याइएका राज्य सञ्चालनका कानूनसँग सम्बन्धित सबै शब्द आजको लोकतान्त्रिक युगमा आउटडेटेड भएकै हुन् । यो सम्भव छैन । तर पनि रैती शब्द जसको अर्थ जनता वा प्रजा हुँदाहुँदै पनि आजका दिनमा उक्त शब्दलाई सकारात्मक रुपमा लिएको पाइँदैन । कारण हिजोका दिनमा रैतीका नाममा सामन्तबाट जनता शोषित थिए, पीडित थिए । तर, आज हामी अधिकार सम्पन्न नागरिकका रुपमा स्थापित भएका छौं । हाम्रो अवधारणामा रैती भन्ने शब्द सामन्ती प्रवृत्तिको शब्द हो । राजतन्त्रात्मक शासन प्रणालीको शब्द हो । शक्ति र अधिकारहीन शब्द हो ।
शासनका क्षेत्रमा रैती भनेका उपभोक्ता मात्र हुन्, तर निर्माता होइनन् भन्ने पनि हो । हिजोेका व्यवहारले यही देखायो । तब हामी पनि यो शब्दप्रति नकारात्मक बन्न पुग्यौ । त्यसैले हामी भन्दैछौ वर्तमान लोकतान्त्रिक समाजमा हामी नागरिक सबै ‘जनता’ हाँै ‘रैती’ होइनौं । सामजिक दृष्टिकोणबाट पनि रैती भनेका समाजमा रहेका निम्न वर्ग, दबिएका, वा शासकप्रति पूर्णरुपमा निर्भर र वफादारी भएकाको अवस्था हो भन्ने बुझिन्छ । उनीहरु आवाजविहीन जस्तै थिए । अर्थात् उनीहरुको आवाज कसैले सुन्दैन थियो । उनीहरुमा निर्णय लिने अधिकार सुनिश्चित थिएन । उनीहरुको सामाजिक प्रतिष्ठा पनि थिएन । यसबाट समाजमा रैती हुुनु भनेको नागरिक नभएर प्रजा ठहरिन्थ्यो ।
यसैगरी संवैधानिक दृष्टिकोाणबाट हेर्दा उनीहरुमा राजनैतिक अधिकार थिएन । निर्णय गर्ने अधिकार पनि थिएन अर्थात उनीहरुमा राजनैतिक हैसियत पनि थिएन । यसैगरी ऐतिहासिक दृष्टिकोणले हेर्दा यो शब्द (रैती) विशेषत राजतन्त्रात्मक व्यवस्थामा प्रयोग भएको पाइन्छ । यसैगरी सामन्तकालीन युग र राणकालीन युगमा पनि भएको पाइन्छ । उनीहरु प्राय श्रमिक, कृषक वा सीपमा आधारित काम गर्ने वर्गमा पर्दथे । उनीहरुको राज्य वा शासक प्रतिको दायित्व वा कर्तव्य भए तापनि अधिकार भने हुँदैन थियो । यी कारणले गर्दा गणतन्त्रवादीहरुले हामी रैती भएर बस्न चाहँदँनांै । राजतन्त्रात्मक व्यवस्था पनि चाहँदैनौ भनेको कुरा स्वभाविकै जस्तो देखिन्छ । तर, पृथ्वीनाराण शाहको दिव्य उपदेशमा उल्लेख भए अनुसार– ‘राजाका सार भन्याको सिपाही र रैतिहरु हुन् ।
राजा चतुर भया सिपाही र रैति हात–हात गरी राख्नु र हुलकुल हुन पाँउदैन’ यसको अर्थ सिपाही र दुनियाँ भनेका राजाका सार हुन् । अर्थात् राजाका बल हुन् । सिपाही र रैतीलाई हातमा लिएर राख्न सकेको अवस्थामा राज्यमा कुनै प्रकारको हुलदङ्गा हुन पाउँदैन भन्ने थियो । यसैगरी उक्त दिव्योदेशमै उल्लेख भए अनुसार– ‘राजाले सच्चा न्याय गर्दैनन् भन्ने ठाने भने दुनियाँहरु भाँडिन्छन् । तिनीहरु अशल कुरोमा विश्वास गर्दैनन् ।’ यसैगरी ‘राजाका भण्डार भन्याका रैतानहरु हुन्’ भन्ने पाइन्छ । यसबाट के बुझिन्छ भने राजाका अशल मित्र भनेका त रैती वा दुनियाँ नै रहेछन् अर्थात् राजको धन भनेको दुनियाँ वा रैती नै रहेछ ।
अब हामी एकछिन जनतातर्फ पनि लागौं । आज हमी गर्व गर्दछौं, रैतीबाट जनता वा नागरिक हुन पाएका छौं । तर, पनि के हामी आज पूर्णरुपमा स्वतन्त्र नागरिक भएका छौं । संविधानले हाम्रा मौलिक हकको सुरक्षा गरेको छ । यो संवैधानिक पाटो हो । ऐतिहासिक पाटोतर्फ अध्ययन गर्दा विश्वका अनेकौं मुलुकमा राजतन्त्र वा एकात्मक व्यवस्था भए पनि ती मुलुकका नागरिक पूर्ण रुपमा स्वतन्त्र छन् । उनीहरुका मौलिक हक पूर्णरुपमा सुरक्षित छन् । नेपाल कै हकमा पनि राजा वीरेन्द्रको समयमा संवैधानिक राजतन्त्रात्मक बहुदलीय पद्धति थियो । विश्वका ती मूलुकको अनुपातमा व्यवहारिक रुपमा हामीले मौलिक हक पूर्णरुपमा उपभोग गर्न पाइरहेका छौं वा छैनौं ? यसतर्फ पनि बहस चलाउँ । पहिलो कुरा त आजका दिनमा नागरिकले उपभोग गर्ने कुरा समानता र समतामूक कुरा पनि उठेका छन् । समतामूलक समाजको परिकल्पना गरिएको छ । समाजवाद उन्मुख व्यवस्थाको रुपमा परिभाषित गरिएको छ ।
के साँच्ची नै हामी समतामूलक नागरिकको हैसियतमा रहन पाएका छौं ? निर्णय गर्ने अधिकार जनतामा रहन्छ त माथि भनियो । यो क्रममा हामी साँच्ची नै पुगेका छौं ? राज्यले हामीलाई समतामूलक समाजको रुपमा स्थापित गरेको छ । आज समावेशीको कुरा पनि छ । राज्यका प्रत्येक अङ्गमा नागरिकको पहुँच पुग्नु पर्दछ । पहँुच स्थापित गर्न विशेष गरी राजनीतिक क्षेत्रमा हाम्रा नेताको भूमिका निष्पक्ष र तटस्थताका रुपमा हुनु पर्दछ । नेताको भूमिका साँच्ची नै तटस्थ र निष्पक्षतापूर्वकको छ त ? सच्चा प्रजातन्त्र वा लोकतन्त्रमा शासनशक्ति वैधानिक रुपले सम्पूर्ण समाजका सबै नागरिकहरुमा निहित हुन्छ । तर, आजको अवस्थामा हाम्रो शासनशत्ता विशेष वर्गका रुपमा स्थापित हुँदै गएको देखिन्छ । फलस्वरुप हामी विभेदरुपी संस्कारबाट पीडित हुँदै गइरहेको छौं । यदि यही रुपमा राज्यले काखा र पाखा गर्दछ भने रैती र जनतामा फरक नै के भयो र ? होइन भने रैती बन्न नचाहने तर नागरिक वा जनताले पाएको अधिकार उपभोग गर्ने वातावराण तयार गर्न चाहिँ कञ्जुस्याई गर्ने हो भने के नै फरक प¥र्यो र रैति र जनताका बीचमा ? जनता भन्ने शब्दको प्रयोग प्रजातान्त्रिक अवधाराणासँग जोडिएको छ भनेर मात्र भएन नी । यसलाई व्यवहारमा पनि उतार्नु प¥यो नी ।
मुलकको जुनसुकै कुनामा जन्मिएको भए तापनि विचारधारा र दृष्टिकोणले जुनसुकै प्रकारले फरक भएको भएता पनि उनीहरुका बीचमा विभेद किन ? आजको प्रश्न यो हो । होइन भने गठबन्धनका नाममा दलीय भागवण्डाको कुरा किन आउँछ । एउटै प्रकृतिमा अपराधमा अलग अलग व्यवहार किन गरिन्छ ? योग्य क्षमता भएको व्यक्तिको कदर किन गरिँदैन ? राइट मेन राइट प्लेसको सिद्धान्त लागू किन गरिँदैन ? नीतिगत सवालमा अख्तियारलाई अधिकार सम्पन्न किन बनाइँदैन । न्यायधीशहरुको नियुक्ति गर्ने सवालमा निष्पक्ष संयन्त्रको विकास किन गरिँदैन ? यी त प्रतिनिधिमूलक व्यवहार मात्र हुन् । यस्ता अनेकौ व्यवहारसँग सम्बन्धित प्रश्नहरु आज उठेका छन् । जसलाई यो सानो लेखमा समेटन सकिँदैन ।
भनिन्छ जनता जनार्दन पनि हुन् । शब्दकोष मै उल्लेख भएअनुरुप जनता जनार्दन भनेको जनतारुपी इश्वर, आदरको भावमा सम्बोधन गरिने जनता, जनताको रुपमा स्थापित भगवान भन्ने छ । के साच्ची कै जनता भगवान हुन ? कसको दृष्टिमा जनता भगवान ठहरिने ? वास्तवमा जनता जनार्दन भनेको आममानिसको तर्फबाट सम्मान प्राप्त नागरिक हुन् । आममानिसले गर्ने आदर र लोकप्रियताका प्रतीक पनि हुन् । हाम्रा नेताले आम रुपमा सबै नागरिकलाई लोकप्रियताको प्रतीकको रुपमा सम्मान दिएका वा आदर गरेका छन् ? कर्तव्यविमुख भएर कार्यकर्ता, झोले, धुपौरे तथा आफन्तका नाममा गरिएका विभेदपूर्ण व्यवहारहरुलाई लोप्रियताको प्रतीकका रपमा लिन सकिन्छ वा सकिँदैन ?
चुनावको समयमा भगवानको रुपमा स्थापित भएका जनता चुनावपछि पुनः मुसिको भवः मा परिणत भएको कुरालाई बिर्सन सकिन्छ र ? हिजोका दिनमा व्यक्तिवादी सिद्धान्तको आलोचना जसले ग¥यो । उसले बुझनुपर्छ । कमसेकम एकात्मकका व्यवस्थाका नाममा उसले देश र जनताको रक्षा गर्न त जानेको थियो । तर, समृद्ध बनाउन सकेकोे थिएन । आजका दिनमा आएर जनताका मौलिक हकमा नियन्त्रण गरेर मात्र उक्त कार्य गर्न सकिन्छ भन्ने विचारधारालाई मान्यता दिन सकिँदैन । यो यथार्थ हो । यसर्थ आजको दिनमा राज्यको मुख्य केन्द्रविन्दु भनेको नागरिक तथा जनाता हो । तसर्थ राज्यले व्यक्तिका लागि विकास र हुनसक्ने सुखसुबिधा दिलाउने प्रयास गर्नुपर्दछ । जसले गर्दा राज्यका सम्पूर्ण गतिविधिहरु सार्वजनिक हितसँग सम्बन्धित हुन सकुन ।
निष्कर्षमा भन्नुपर्दा– ‘रैती’ भन्ने शब्द पुरानो शासन प्रणालीको हो, जहाँ मानिसहरु राजा वा सामन्तका अधिनमा रहन्थे । यसैगरी ‘जनता’ भनेका आजको युग अनुकुलको स्वतन्त्र नागरिक हुन् । जसलाई राज्यले अधिकार र कर्तव्य दुवै पक्षबाट दिक्षित गराएको हुन्छ । आम मानिसको तर्फबाट सम्मान प्राप्त गरेका, आदरका भावले हेरेका अर्थात लोकप्रियताको प्रतीकका रुपमा स्थापित भएका व्यक्तिलाई हामी ‘जनार्दन’का रुपमा चिन्दछौं । जन आदर पाउने व्यक्ति सधैँ नम्र र विनम्र पनि हुन्छ । हाम्रा नेताहरु यी गुणले परिपूर्ण छन् ? अबका दिनमा हामी कामना गरौं ।
यदि हामी रैती भएर बस्न चाहँदैनौ भने हाम्रा नेताहरुको छवि लोकप्रिय र सार्वजनिक बन्न सकोस् । समाजमा समान रुपमा योगदन दिने नागरिलाई केवल छेपारो प्रवित्तिमा मात्र नभएर सदावहार रुपमा भावनात्मक रुपमा नै सम्मान गर्न सकुन । शासन व्यवस्थामा प्रत्येक व्यक्तिको हिस्सेदारी रहन्छ भन्ने कुरालाई हेक्का राखुन । लोकतन्त्रमा बहुमतको बोलबाला भए तापनि अल्पमतमाथि सदैव दमन र अत्याचार हुनु पनि लोकतन्त्रको अवगुण हो भन्ने कुरालाई पनि ख्याल गर्न सकुन् । अनि मात्र हामीले पनि रैती बाट जनता भएको ठान्ने छौं । अन्यथा जनता र रैतीको बीचमा भएको फरकको अर्थ के नै रहला र ? जनार्दनको कुरा त धेरै टाढाको भयो ।