भानु मावि बन्यो चौथो: शिवसताक्षी–३ मा वडाको ट्युसन लगानी सफल

0
931

शिवसताक्षी,

शिवसताक्षी नगरपालिका–३ पाराबारीस्थित भानु माध्यमिक विद्यालयबाट एसइइ २०८१ मा सफल विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको छ। वडाको एकमात्र माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी भएर उत्तीर्ण भएका विद्यार्थीहरूलाई वडा कार्यालयले मायाको चिनोसहित लड्डु खुवाएर सम्मान गरेको हो।

कार्यक्रममा वडा अध्यक्ष भास्कर न्यौपानेसहित वडा सदस्यहरूले विद्यार्थीलाई खादा र डायरी प्रदान गर्दै भविष्यप्रति शुभकामना व्यक्त गरे। “हाम्रो सानो लगानी खेर गएन, विद्यार्थीको मेहनत सफल भयो। अब यो कार्यक्रमलाई निरन्तरता दिनेछौं,” अध्यक्ष न्यौपानेले भने।

यस विद्यालयबाट २०८१ को एसइइमा ३२ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये २२ जना ग्रेडेड भएका छन्। गत वर्षको कमजोर नतिजा पश्चात वडाले यसपालि विशेष तयारीस्वरूप २ लाख रुपैयाँ विनियोजन गरी एसइइ दिने विद्यार्थीहरूलाई निःशुल्क अतिरिक्त ट्युसन कक्षा सञ्चालन गरेको थियो।

नेपाली र अर्थशास्त्र विषयमा अम्बिका पोखरेल, गणितमा कृष्ण पोखरेल, सामाजिकमा गणेश चम्लागाईं, विज्ञान र ऐच्छिक गणितमा नवीन बोहरा, अंग्रेजीमा केन्द्र लिम्बु, र शिक्षामा सञ्जय राईले अध्यापन गरेका थिए। शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको मेहनत का कारण परिणाम सुधार भएको विद्यालय प्रशासनले जनाएको छ।

सम्मानित विद्यार्थीहरूको तर्फबाट कृति श्रेष्ठले बोलेकी थिइन्। उनले भनिन्, “वडाको सहयोग, शिक्षकहरूको मेहनत र साथीहरूको रात दिनको मेहनत बिना यस्तो परिणाम आउँदैन थियो। वडा र तपाईँ गुरुहरूले लगाएको मेहनत को ऋण हामीले भविष्यमा फिर्ता गर्छौँ।”

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो। वडाले आउँदो वर्षदेखि विद्यालयमा पठन संस्कृति थप सुदृढ गर्न दीर्घकालीन योजना बनाउने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here