सुखानी सामुदायिक वनको २८ औं सभा 

0
40
अर्जुनधारा ।
 
सुखानी सामुदायिक वन उपभोक्ता समूह अर्जुनधारा नगरपालिका–३ र माई नगरपालिका–४ को २८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
समूहअन्र्तगत रहेको पर्यटकीय क्षेत्र सुखानी पर्यापर्यटन क्षेत्रको प्राङ्गणमा समूहका अध्यक्ष मंगलसिंह लिम्बूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–३ नं. वडाका वडाध्यक्ष सीताराम भट्टराईले उद्घाटन गरेका थिए ।
कार्यक्रममा समूहका अध्यक्ष लिम्बूले संस्थाको गत आर्थिक वर्ष २०८१÷०८२को वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक धनबहादुर तामाङले म.ले.प. प्रतिवेदन र कोषाध्यक्ष राधिका कार्कीले चालु आर्थिक वर्ष २०८२÷०८३को वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
संस्थाले गत आर्थिक वर्षमा चुरे उत्थानशिल आयोजना कोशी प्रदेशको सहयोगमा जमुना पोखरी र भालु खोल्सी संरक्षण पोखरी तथा चेक ड्याम निर्माण, समूहअन्र्तगतको ब्लक नं ३को बाँस रोपण क्षेत्रमा रिचार्ज पोखरी निर्माण, पञ्चमुखी पोखरी र सिमल पोखरीमा मत्स्य व्यवसाय सञ्चालन, उपभोक्ताहरुको आवश्यकता अनुसार बाटो, कल्भर्ट, खानेपानी र सिंचाई सम्बन्धी मर्मत सम्भार, पर्यापर्यटन क्षेत्रमा छुट्टै बाल ग्राम स्थापनालगायतका कार्यहरु सम्पन्न गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी संस्थाले चालु आर्थिक वर्षको लागि अनुमानित ६५ लाख २५ हजार छ सय ४९ रुपैयाँ ८२ पैसा बराबरको वार्षिक कार्यक्रम प्रस्तुत गरेको छ । जसअनुसार वन विकासतर्फ २५ लाख ९२ हजार पाँच सय ४९ रुपैयाँ, गरिबी न्यूनिकरणतर्फ २३ लाख १० हजार रुपैयाँ, प्रशासनिक खर्चतर्फ सात लाख ७५ हजार रुपैयाँ, स्थानीय पालिकातर्फ पाँच लाख ५० हजार पाँच रुपैयाँ, संघसंस्था सहयोगतर्फ एक लाख ९० हजार रुपैयाँ र पर्यापर्यटन विकासतर्फ एक लाख आठ हजार ९५ रुपैयाँ ८२ पैसा विनियोजन गरेको छ ।
सोही कार्यक्रममा सुखानी पर्यापर्यटन क्षेत्रअन्र्तगत अनुमानित एक हेक्टर क्षेत्रफल निर्माण भइरहेको बाल ग्रामको पनि उद्घाटन गरिएको थियो । हाल ८० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भएको उक्त बाल ग्राममा बाल पिङ, आराम पिङ, मिनी रोटे पिङ, वाटर फाउन्टेन, कछुवा संरक्षण पोखरी, आकर्षक गोलघर, सेल्फीजोन, लुकानी गेटआदि रहेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस अर्जुनधारा–३ का वडा सभापति धु्रव खाती, माओवादी केन्द्रका वडा अध्यक्ष यामबहादुर रैका मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा अध्यक्ष खेम दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, मानव हात्ती द्वन्द न्यूनिकरण अर्जुनधारा नगर समितिका अध्यक्ष ढुण्डी गौतम, युथ अफ खुदुनाबारीका अध्यक्ष सागर घिमिरेलगायतले मन्तव्य राखेका थिए । समूहका उपाध्यक्ष विपिनकुमार चौहनले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कार्यालय सचिव खगेन्द्र भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here