बिर्तामोड। झापाको कनकाई नगरपालिकाले क्षेत्रको शान्ति–सुरक्षा मजबुत बनाउन सुरुङ्गा इलाका प्रहरी कार्यालयलाई एकथान गाडी उपलब्ध गराएको छ। जेनजी आन्दोलनका क्रममा प्रहरीको गाडी आगजनीमा परेपछि उत्पन्न सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नगरपालिकाले आफ्नै प्रयोगमा रहेको गाडी प्रहरीलाई हस्तान्तरण गरेको हो।
नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले प्रयोग गर्दै आएको मे १ झ १२२ नम्बरको सरकारी बोलेरो गाडी आज औपचारिक रूपमा इलाका प्रहरी कार्यालय सुरुङ्गालाई हस्तान्तरण गरिएको हो। गाडी हस्तान्तरण कार्यक्रममा उपमेयर शिवाकोटीको प्रत्यक्ष सहभागिता रहेको थियो।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले शान्ति–सुरक्षा नागरिकको पहिलो आवश्यकता भएको उल्लेख गर्दै स्थानीय सरकार प्रहरीसँग सधैं सहकार्य गर्न तयार रहेको बताए। उनले भने, “कनकाई नगर क्षेत्रको शान्ति–सुरक्षा मजबुत बनाउनु हाम्रो साझा दायित्व हो। कठिन परिस्थितिमा खटिने सुरक्षाकर्मीको कार्यक्षमता अभिवृद्धि गर्नु स्थानीय सरकारको कर्तव्य हो।”
यसअघि पनि कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङ्गालाई एकथान गाडी उपलब्ध गराएको थियो। तर जेनजी आन्दोलनका क्रममा उक्त गाडी आगजनीमा परेपछि प्रहरीले लामो समयसम्म मोटरसाइकलमार्फत गस्ती गर्नुपर्ने अवस्था आएको थियो।
स्थानीय तह र प्रहरीबीच अपेक्षित सहकार्यको अभाव देखिने सन्दर्भमा कनकाई नगरपालिकाले निरन्तर गर्दै आएको सहयोग जिम्मेवार र उदाहरणीय रहेको स्थानीयवासीको भनाइ छ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका इञ्चार्ज सुवास ढुङ्गानाले नगरपालिकाप्रति आभार व्यक्त गर्दै यस सहयोगले गस्ती र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताए।
स्थानीय सरकार र सुरक्षानिकायबीचको यो सहकार्यले कनकाई नगर क्षेत्रमा शान्ति, सुरक्षा र भरोसाको सन्देश दिएको छ।































