नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न

0
2

झापा।

ऐरावती प्रकाशन प्रा.लि., काठमाडौंको प्राज्ञिक सहयोग तथा कमल प्याप्सन, झापाको आयोजनामा वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा. देवी नेपाल को सहजीकरणमा एक दिवसीय प्रयोगात्मक नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न भएको छ।

नेपाली भाषा शिक्षणलाई अझ प्रभावकारी, व्यवहारिक तथा सिर्जनात्मक बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा कक्षा १ देखि १२ सम्म अध्यापन गर्ने नेपाली विषयका ५२ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यशालामा सहभागी शिक्षकहरूले वर्तमान शैक्षिक सन्दर्भमा नेपाली भाषा शिक्षणका चुनौती, अवसर तथा नवीन विधिहरूबारे अनुभव आदानप्रदान गरेका थिए। सहभागीमध्ये साउथपोल एजुकेशनल फाउन्डेसनका शिक्षक ऋषिराज घिमिरे र स्टार बोर्डिङ स्कुलकी शिक्षिका सीतादेवी भण्डारीले यस्ता प्रकारका कार्यक्रमले शिक्षकहरूमा नयाँ ऊर्जा तथा पुनर्ताजगी ल्याउने बताएका थिए। उनीहरूले ऐरावती प्रकाशनद्वारा प्रकाशित नेपाली भाषा तथा साहित्यसम्बन्धी पाठ्यपुस्तक र सहयोगी सामग्रीहरू अन्य प्रकाशन गृहका सामग्रीभन्दा सरल, प्रयोगमुखी र प्रभावकारी रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले नेपाली भाषा विषयलाई कतिपय अवस्थामा कमजोर विषयका रूपमा लिइने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै नेपाली भाषा शिक्षण अन्य विषयभन्दा फरक, गहिरो र जीवनसँग प्रत्यक्ष सम्बन्धित रहेको बताएका थिए।

कार्यशालाको मुख्य आकर्षणका रूपमा रहेको सिर्जनात्मक लेखन सत्रमा सहभागीहरूले कविता लेखन विधिबारे विभिन्न जिज्ञासा राखेका थिए। सो अवसरमा सहजीकरण गर्दै प्रा.डा. देवी नेपाल ले विभिन्न लय र शैलीका गीत तथा कविताहरू सिर्जना गरी वाचन गर्दा सहभागीहरू मन्त्रमुग्ध बनेका थिए। उनले सिर्जनात्मक लेखनका आधारभूत सिद्धान्त, भाषिक सौन्दर्य तथा भाव अभिव्यक्तिका विविध आयामबारे व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रमका क्रममा प्याप्सन कमलका अध्यक्ष दीपक संग्रौला ले यसअघि सञ्चालन भएका कार्यक्रमहरूमा सहभागीहरू विभिन्न बहानामा बाहिर–भित्र गर्ने प्रवृत्ति देखिए पनि यसपटकको कार्यशालामा त्यस्तो अवस्था शून्य रहेको बताए। उनले नेपाली भाषा शिक्षणसम्बन्धी यस्ता कार्यशालाहरू अत्यन्तै व्यवहारिक र जीवनोपयोगी भएको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि प्याप्सन कमलका सल्लाहकार समिति प्रमुख बदि राई ले नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक लेखन कार्यशाला प्रभावकारी र परिणाममुखी हुने विश्वास व्यक्त गरे। उनले शैक्षिक सत्रको सुरुवातमै आयोजना गरिएको यस्ता कार्यक्रमहरूले कक्षा कोठामा शिक्षकको शिक्षण शैलीमा सकारात्मक परिवर्तन ल्याउने धारणा राखे।

त्यसैगरी ऐरावती प्रकाशनका अध्यक्ष वरिष्ठ साहित्यकार रामदेव पाण्डे ले नेपाली भाषा र साहित्यलाई कसैले पनि कमजोर ठान्न नहुने बताए। उनले नेपाली भाषा र साहित्यको विकासका लागि ऐरावती प्रकाशनले देशभर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र यसले भाषाको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे।

कार्यक्रमको उद्घाटन सत्रमा प्याप्सन कमलका सचिव त्रिलोचन गौतमले सहजीकरण गरेका थिए। कमल–५, पाडाजुङीस्थित प्याप्सन कार्यालयमा बिहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको उक्त कार्यशालामा सहभागी शिक्षकहरूले आफ्नो शिक्षण अनुभव आदानप्रदान गर्नुका साथै नवीन शिक्षण विधि र सिर्जनात्मक लेखन सीप अभिवृद्धि गर्ने अवसर प्राप्त गरेका थिए।

आयोजक कमल प्याप्सन, झापाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै नेपाली भाषा शिक्षणलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here