बिर्तामोड, भदौ २७। बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा ल्याप्रोस्कोपिक पद्धति(दुर्विनबाट प्वाल पारेर)–बाट हर्नियाको शल्यक्रिया सेवा शुरु भएको छ ।
मेची अञ्चलमै पहिलोपटक आयोजना गरिएको देशभरका सर्जन चिकित्सकहरुको ‘ल्याप्रोस्कोपिक हर्निया वर्कसप’ बाटै वी एण्ड सीमा औपचारिक रुपमा सो सेवा शुरु भएको हस्पिटलका बरिष्ठ सर्जन चिकित्सक रोहितकुमार यादवले बताए । प्रोफेसर डाक्टर यादवका अनुसार वी एण्ड सीले वर्कसपको अवसरमा शनिबार चार जनाको हर्नियाको निःशुल्क शल्यक्रिया गरिएको छ । शनिअर्जुनका ७० बर्षीय बाबुराम भण्डारी, पृथ्वीनगरका ३२ बर्षीय रामबहादुर श्रेष्ठ, इलामका ६८ बर्षीय छविलाल घिमिरे र ५० बर्षीय दावा यल्मोको शल्यक्रिया गरिएको हो । चिकित्सकको वर्कसपमा देशभरका ४० जना सर्जनको सहभागिता रहेको थियो । वी एण्ड सी टिचिङ हस्पिटल तथा प्रस्तावित मेडिकल कलेज भएको हुनाले देश तथा विश्वमा भइरहेको उपचार सम्बन्धी नयाँ प्रविधिबारे अनुभव आदानप्रदान गर्न कार्यक्रम गरिएको बताइएको छ ।
धरान घोपाको सर्जरी डिपार्टको सहयोगमा भएको कार्यक्रममा चार जनाको शल्यक्रियाका लागि आवश्यक सामग्री टाइको कम्पनीले निःशुल्क उपलब्ध गराएको थियो । वी एण्ड सीले डेढ करोड बढी मूल्यको ल्याप्रोस्कोपिक उपकरण ल्याएपछि उपचार सहज भएको हो । परम्परागत रुपमा चिरेर हर्नियाको शल्यक्रिया गरिँदै आएको थियो । तर, अब सामान्य प्वाल पारेर नै यो उपचार सम्भव भएको शनिवार वर्कसप स्थलमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । ल्याप्रोस्कोपिक पद्धतिबाट शल्यक्रिया गर्दा हर्नियाको समस्या नदोहोरिने, दुखाई कम हुने, नशाको समस्या नहुने र विरामीले भोलिपल्टबाटै हिंडडुल गर्न सक्ने चिकित्सकहरुले बताए । त्यसको सट्टा परम्परागत रुपमा चिरेर गर्दा घाउ ठूलो हुने तथा विविध समस्या आउने बताइएको छ । शरीरको दुई भागमा हर्निया भएको अवस्थामा पनि एकै ठाउँमा पारेको प्वालबाट शल्यक्रिया हुने सामान्यतयः चिरेरभन्दा ल्याप्रोस्कोपिक पद्धतिबाट शल्यक्रिया गर्नु केही खर्चिलो चाहिँ छ । वर्कसपमा डा. यादव, प्रोफेसर शैलेश अधिकारी, राकेश गुप्ता र सुरेशप्रसाद साहले विभिन्न प्रस्तुति गरेका थिए । विश्वमा सबैभन्दा बढी जनरल सर्जनमा शल्यक्रिया हुने रोग हर्निया भएको जानकारी गराउँदै सो अवसरमा अब हर्नियाको उपचार प्वाल पारेर गर्नुपर्नेमा समेत जोड दिइएको थियो । पत्रकार भेटघाटमा वी एण्ड सीको सर्जन टिमकोतर्फबाट डा. यादव, डा. अनिल ढुंगाना, डा. दामोदर पन्त, डा. वाशुदेव बास्कोटा र एनेस्थेसिया विभाग प्रमुख डा. राजु श्रेष्ठले पत्रकारको विभिन्न जिज्ञासाको जवाफ दिएका थिए । वर्कसपमा काठमाडौंको वीर, पाटन, मनमोहन, मोरङको नोबेल, न्यूरो, गोल्डेन, विरगञ्जको नेशनल, बुटबल तथा झापाको लाइफलाइन, बिर्तासिटी, कनकाई लगायत विभिन्न हस्पिटलका चिकित्सकको सहभागिता रहेको वीएण्डसीका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।