पथरी (मोरङ), भदौ ३० । मोरङको लेटाङ भोगटेनी नगरपालिका–४ स्थित जलकन्यामा शुद्ध पिउनेपानीबाट चार हजार सर्वसाधारण वञ्चित भएका छन् ।
स्थानीयवासी ललित तामाङका अनुसार गत साउन ९ गते गएको पहिरोले खानेपानीको ड्याम र पाइप बगाएपछि देउराली डाँडा, विराजे डाँडा, भालुगौडे, बेलचौरी, केरावारी–९ को भलुवा, लेटाङको कोलवोटेका स्थानीय बासिन्दा शुद्ध पिउनेपानीबाट वञ्चित भएका हुन् । पिउने पानीको समस्या झेल्दा सरोकारवाला निकाय मौन रहेको र स्थानीयवासी दूषित पानी पिउन बाध्य भएको स्थानीयवासी भरत राईको गुनासो छ ।
खानेपानी सञ्चित गर्न बनाएको ड्याम र विभिन्न ठाउँमा पाइप बगाउँदा खानेपानीको समस्या झन् जटिल बन्दै गएको हो । गत साउनमा भएको अविरल वर्षाको समयमा पाइप र ठाउँठाउँमा बनाएका स्पर पहिरोले बगाएको थियो । बर्सातको समयमा आउने पहिरोले खानेपानीको पाइप बगाउने र सुक्खा मौसममा डढेलो लाग्दा खानेपानीको पाइप जलाउने समस्याबाट स्थानीय बासिन्दा गुज्रिरहेका छन् ।
सो समस्या समाधानका लागि स्थानीय योगेन्द्र पौडेल, भरत राई, रामकुमार राई, शिवकुमारी राई, ललित तामाङ लगायतका व्यक्ति सम्भावित मुहान खोजीमा जुट्नु भएको छ । सरकारको समेत सहयोग नभएको गुनासो व्यक्त गर्दै उहाँहरू आफैँ केही गर्न सकिन्छ कि भनेर लाग्नुभएको हो ।
सो क्षेत्रमा ६०० घरधुरीको परिवारका झन्डै चार हजारभन्दा बढी मानिसले शुद्ध पानी पिउनबाट वञ्चित भएका स्थानीयवासी भरत राईको भनाइ छ ।
रासस समाचारले विद्यार्थीलाई सहयोग
यसैबीच, मोरङको डाइनिया गाविसका १५० बाढीपीडित विद्यार्थीलाई विशाल ग्रुप र स्वदेशी लघुवित्त इटहरीले कपी, कलम, झोला र कम्मल बुधबार वितरण गरेका छन् ।
डाइनिया गाविसका विभिन्न क्षेत्रमा बक्राखोलामा आएको बाढी बस्तीमा पसेपछि विस्थापित भएका पीडितविद्यार्थी तथा बालबालिकाको तस्बिर राससमार्फत विभिन्न सञ्चारमाध्यमले प्राथमिकता दिएर प्रकाशित गरेपछि विराटनगरमा अवस्थित राससका पथरी समाचारदातालाई सम्पर्क गरी उहाँहरूले बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
डाइनिया गाविसका सचिव पदमविनोद घिमिरेका अनुसार बाढीले घर भत्काएका, विपन्न, दलित, मधेसी समुदायका १५० बाढीपीडित विद्यार्थीहरूलाई राहत सामग्री वितरण गरिएको हो । स्वदेशी लघुवित्त इटहरीका कार्यकारी प्रमुख पुण्यप्रसाद खनिया, सो लघुवित्तका राजेन्द्रप्रसाद शर्मा र डाइनियाका गाविस सचिव पदमविनोद घिमिरेले बाढीपीडित विद्यार्थीलाई राहत सामग्री प्रदान गर्नुभयो । सो लघुवित्त विशाल ग्रुपको लगानीमा सञ्चालित छ ।
डाइनिया गाविसका सचिव घिमिरेका अनुसार डाइनिया गाविसमा बाढीले ३०० घरपरिवारमा क्षती पुगेको छ ।
सो क्षेत्रका २६ घरपरिवार बाढीपीडितलाई प्रतिपरिवार दश हजारका दरले जिल्ला दैवीप्रकोप उद्धार समिति मोरङले लत्ताकपडा, भाँडावर्तन प्रदान गरिसकेको छ । मध्यम क्षति भएका सय घरपरिवारलाई घर मर्मत खर्च दिइने बताइएको छ । रासस