{डा. मुकेशकुमार साह}
नेपालको पूर्वी भागमा मच्छडको टोकाईबाट मानिसमा सर्ने एक प्रकारको भाइरसको संक्रमणबाट फैलने रोग डेंगू फैलिएको छ । यस रोगको बढ्दो विरामीको संख्याका कारण झापाको दमकमा डेंगू इन्डेमिक भएको छ । तर, यसको पुष्टी सरकारी निकायले गर्न बाँकी छ । दमकका विभिन्न भागका सयभन्दा बढी विरामी सम्बन्धित रोगले ग्रसित भएको परीक्षणबाट पुष्टी भएको छ ।
धेरै विरामीको उपचार दमकमा नै भए पनि केही विरामीलाई सघन उपचारका लागि बाहिर रिफर गरिएको छ । दमकस्थित निम्स नेशनल हस्पिटल, दमक अस्पताल, लाइफलाईन हस्पिटल, एडभान्स हस्पिटलमा बिरामीको रगतमा डेंगूको पहिचान गरिएको छ । दमक क्याम्पस मोडस्थित निम्स नेशनल अस्पतालबाट एक जना डेंगूसंक्रमित विरामीलाई सफल उपचारपछि घर फर्काइएको छ । उनीहरुमा एनएसवानएजी रियाक्टिभ देखिएकोले विरामी सम्बन्धित रोगको शुरुवाती अवस्थामा रहेको बुझिन्छ । कति विरामीमा आईजीएम पनि पोजिटिभ देखिएको छ । रोग ठीक हुन लागेको विरामीमा वा रोग शुरु भएको ४–५ दिनमा आईजीजी पनि रिएक्टिभ देखिन्छ । विरामीहरुमा सामान्य ज्वरो आउने, शरीर तथा हात दुख्ने, जोर्नीहरु दुख्ने, टाउको दुख्ने र आलस्यता हुने जस्ता लक्षण भएको खण्डमा चिकित्सकहरुले अन्य रोगको पहिचानका लागि गरिने परीक्षणका अलावा डेंगू रोगको पनि परीक्षण गर्ने अवस्थाको सृजना भएको छ ।
गत वर्ष डेंगू रोगबाट नेपालको पूर्वी भाग काँकरभिट्टामा दुई विरामीको मृत्यु भएको पुष्टी भएसँगै विरामीहरु रोग पहिचान भएको थाहा पाएर आत्तिने गरेको पाईएको छ, तर त्यसो गरिनु हुन्न । सरकारले यस प्रकारका रोगहरुकोबारेमा जनचेतना दिनेदेखि उचित व्यवस्थापन गर्दै रोग नियन्त्रणमा चासो दिनुपर्ने हुन्छ । विरामीहरुको उपचारमा सरकारी सहयोगको व्यवस्था गर्दै रोग नियन्त्रणमा समेत रफ्तारमा कार्य गर्नुपर्नेमा सरकार यस रोगको बारेमा बेखबरझैं भएको छ ।
यस क्षेत्रका आम जनता दिनानुदिन रोग ले ग्रसित हँुदैछन्, सरकार भने मौन छ । रोगको पहिचान केही विरामीमा गरिए पनि धेरै विरामीहरुको पहिचान हुन सकेको छैन् । किनकी सामान्य ज्वरो आएको विरामीहरु औषधि पसलको सामान्य औषधि सेवन गर्ने परम्परा हाम्रो समाजमा स्थापित छ । डाक्टरको सल्लाह लिन रोगले थलिएपछि मात्र आउने बैचारिक तथा आर्थिकरुपको गरिबी पनि हाम्रो समाजमा नै छ । सरकारले चासो नदिने हो भने यस रोगले यस क्षेत्रमा विकारल रुप लिन सक्छ र धेरैको ज्यान खतरामा हुनेछ ।
डेंगू लाग्ने कारण र जोगिने उपाय
विश्वमा मच्छडको टोकाईबाट अति नै शीघ्र फैलने भाइरसको संक्रमबाट हुने रोग मध्येको रोग हो डेंगू । विश्वभर नै यस रोगको फैलाबट भए पनि एशिया खासगरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग इन्डेमिक भएर एक समस्याको जड भएको छ । यो रोग ग्रसित भएको क्षेत्रको मानिसहरुको आर्थिक, शारीरिक र मानसिक बोझ हुने गरेका विश्व स्वास्थ्य संगठनको प्रतिवेदनहरुले जनाएको छ । नेपालीहरुको जस्तो आर्थिकस्तर कम भएको समाजमा यो रोगको प्रकोपबाट धेरै प्रभाव पर्ने भएकोले सरकारले समयमा नै समाधान खोज्नु जरुरी छ ।
विभिन्न मानिसको शरीरमा विभिन्न चार प्रकारको रुप धारण गर्नसक्ने एक प्रकारको डेंगू भाइरसको संक्रमणबाट यो रोग मानिसमा स्थापित हुन्छ । यो रोग मुख्यतः स्त्रीजातिका एडिज मच्छडको टोकाइबाट मानिसमा सर्ने गर्दछ । पानी जम्ने ठाउँ, एयर कन्डिसन, फूलका गमला, पुराना टायर , नरिवलका खोस्टा, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यो रोग फैलने सम्भावना रहन्छ । उक्त प्रजातिका मच्छड मुख्यतः सफा पानीमा फैलने भएकोेले फोहर नालीहरु भएको ठाउँहरु भन्दा घर र घर आसपासका पानी जम्ने पुराना भाडाकुडामा बस्ने मच्छडहरुबाट यो रोग फैलने सम्भावना भएकोले मानिसलाई नै यो रोग फैलनुको बढी जिम्मेवार मानिएको छ । तसर्थ आफ्नो घर सफाई गर्नु र घरमा पानि जम्ने ठाउँ हटाउनु नै यो रोगको उचित रोकथाम को उपाय हो साथै मच्छडको टोकाईबाट बच्न झूलको प्रयोग गर्ने वा मच्छड धुप वा क्रिम प्रयोग गर्नु पनि उत्तिकै आवश्यक छ ।
शुरुमा विरामीहरुमा सामान्य ज्वरो आउने, शरीर तथा हात दुख्ने, जोर्नीहरु दुख्ने, टाउको दुख्ने, रिंगाटा लाग्ने, बान्ता आउने र आलस्यता हुने जस्ता लक्षणहरु देखिन्छ । रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ । शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरुबाट रगत शरीरका अन्य तन्तुहरुमा जाने भएकोले शरीरमा डाबर आउने, विरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा विरामी शिकिस्त भई मृत्युसम्म हुनसक्ने भएकोले बेलामा नै उपचार गराउनु र चिकित्सकको निगरानीमा मात्र उपचार गराउनु बुद्धिमानी हुनेछ । सामान्या ज्वरो वा भाइरल ज्वरो भए पनि सामान्यरुपमा नलिन र यस दमक क्षेत्रका बासिन्दाले समयमा नै अस्पताल आउन सके राम्रो हुन्छ । तर, यो रोग लागि हाल्यो भनेर अत्तिने र त्रासमा बस्ने पनि गर्नु हँुदैन किनकी अधिकांश रोगीहरुको सामान्य उपचार पछि घर फर्काउन सकिन्छ । केही पाँच प्रतिशत विरामीमा मात्र यो रोग विकराल रुपमा आउने गर्दछ जसको सघन उपचार आवश्यक हुन्छ ।
अस्पतालमा गरिने परीक्षणका साथ साथै विरामीको लक्षणबाट यो रोगको पहिचान गर्न सकिन्छ । रगतमा श्वेत कोषिका कम भएको, प्लेटलेटको संख्या कम भएको वा रगतमा उक्त भाइरसको एन्टिजेन एनएसवानएजी (ल्क्ज्ञब्न) पोजिटिभ आएमा सो भाइरसको बोझ शरीरमा रहेको बुझिन्छ । उक्त भाइरस विरुद्ध मानिसको शरीरले बनाउने एन्टिबडीहरु मध्ये आईजीएम र आइजीजी पनि पोजिटिभ हुन सक्छ । शरीरमा हिमाटोक्रिटको मात्रा पनि कम हुने ल्याव परीक्षण यसरोगको पहिचानमा सफल मानिन्छ । यस रोगको उपचार शुरुमा चिकित्सकको निगरानीमा लक्षण अनुसार गरिने हुन्छ, शरीमा पानीको मात्रा कम भए सोही अनुसार पानीको मात्रा कम हुन नदिन स्लाईन चढाउनुपर्ने हुन्छ । तर, शरीरमा प्लेटलेटको मात्र कम भएमा कम्पोनेन्ट ब्लड (सेतो रगत) चढाउनुपर्ने हुन्छ । विरामी सिकिस्त भएमा सघन उपचार कक्षमा चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिनुपर्ने भएकोले सम्बन्धित स्वास्थ्यकर्मीले पनि यस रोगको उपचारको कुनै खास पद्धति अनुसार उपचार गर्नुहुन समेत सुझाव छ ।
सरकारको जिम्मेवारी
कुनै खास क्षेत्रमा फैलिएको रोगको नियन्त्रणदेखि विरामीको उपचारमा सरकार नै सक्रिय हुनुपर्ने हुन्छ । सरकारले यस प्रकारको रोगको रोक थामका लागि आफ्नो टोली खटाउनेदेखि सक्रिय भएर रोगको पहिचान तथा नियन्त्रण तथा रोगको कारणको उन्मुलनमा जोड दिनु आजको आवश्यकता हो । स्वास्थ्यमन्त्री गगनकुमार थापाले यस विषयमा चासो लिई अबिलम्ब डेंगू त्रासको अन्त्य गर्नु भई विरामीहरुको उपचार तथा रोग नियन्त्रणमा विशेष सहयोग गर्नु हुनेछ ।
हुन त नेपालको समग्र राजनीति नै अहिले लोकमानतिर मोडिएको छ । तर, मानिसको ज्यान नै जाने गरी फैलिएको डेंगूका बारेमा सरकार बेखवर हुन मिल्दैन् । लोकमानको बारेमा बसहपछि हुन सक्ला । तर, रोगले ग्रसित भएमा अ(काल)ले पनि पर्खदैन, विरामीको मृत्यु कुनै पनि बेला हुनसक्छ । यस रोगबाट हुने मृत्यु रोक्न सरकारको सक्रिय भूमिका आवश्यक छ र सरकार जिम्मेवार पनि बन्नु पर्छ अहिले लोकमान हैन लोकको कल्याण आवश्यक छ, नेपालको राजनीति नेपालको पूर्वतिर पनि मोडिनु जरुरी छ, जहाँ डेंगूूको त्रास छ । स्वास्थ्य खबर
(लेखक निम्स नेशनल अस्पताल, दमकमा कार्यरत छन् ।)