अर्जुनधारा,मंसीर १५ । दहीझोडा सामुदायिक वन उपभोक्ता समूह शनिअर्जुन–३को आयोजनामा मंगलबार सम्पन्न भेलाका सहभागीहरुले झोलुङ्गे पुल निर्माणको माग गरेको छ ।
समूहको अध्यक्ष दुर्गाप्रसाद दाहालको सभापतित्वमा आयोजित भेलाले शनिश्चरे बजार, मिलडाँडा, रातेखाल हुँदै गुमानसिंह मिल पश्चिम दहीझोडास्थित लक्ष्मी आधारभूत विद्यालय जोड्ने टाङटीङ नदीमा पुल निर्माणको लागि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागमा माग गर्ने निर्णय गरेको हो ।
त्यसैगरी भेलाले विभागमा बुझाउन शनिअर्जुन नगरपालिका र जिल्ला विकास समितिबाट सिफारिस लिने निर्णय पारित गरेको समूहका अध्यक्ष दाहालले जानकारी गराए ।
हिँउद भन्दा वर्षाको समयमा विविध समस्या भोग्दै आएको स्थानीयवासीहरुका लागि पुल निर्माण भएपछी त्यस क्षेत्रका पाँच सय भन्दा घरधुरी प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।
१५९ जनाले हस्ताक्षर गरेको भेलामा नेपाली काँग्रेस नगर सभापति हेमराज खरेल, नेकपा एमाले नगर अध्यक्ष प्रेमसागर सापकोटा, नेकपा माओवादी केन्द्रका दीपेन्द्र लम्साल, राप्रपा नेपालका नगर अध्यक्ष छवीलाल लम्साल, नयाँ शक्ति नेपाल झापाका संयोजक कुमार क्षेत्री, शनिअर्जुन प्रेस क्लबका अध्यक्ष दिपीन राई, नागरिक वडा मञ्चका संयोजक गजेन्द्र कटुवाललगायतको उपस्थिती रहेको थियो ।
त्यसैगरी अर्जुनधारा दैवी प्रकोप व्यवस्थापन समूह(डीएमसी)का अध्यक्ष केदारनाथ पराजुलीका अनुसार शनिअर्जुन–४ डीएमसी र ३स्थित ककवाली जोड्ने विरीङ नदीमा झोलुङ्गे पुल निर्माणको लागि पहल गरिएको बताए ।
सो पुलको माग गर्दै २५० जना भन्दा बढी स्थानीयवासीहरुले हस्ताक्षर गरेको डीएमसीका अध्यक्ष एवम् अभियन्ता पराजुलीले बताए ।